मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत मन्त्रालयबाटै पक्राउ

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि पाँच लाख रुपैयाँ घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। प्रहरीका अनुसार केही समयअघि उनलाई धनगढीस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमल्सिनाले भट्टमाथि विद्युतीय अपराधसम्बन्धी अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्। उनले भने, ‘उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ। विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएका छौं।’

भट्टले केही दिनअघि सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए। भट्टले सो रकम दिन अस्वीकार गरेपछि आफूलाई डिभिजनल वन कार्यालयबाट सरुवा गरिएको दाबी गरेका थिए।

यो विषय बाहिरिएपछि मन्त्रालयले भट्टलाई स्पष्टीकरण सोधेको थियो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले पत्रमार्फत भट्टलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएका थिए।

मन्त्रालयले भट्टको अभिव्यक्ति निजामती कर्मचारीको आचरणअनुसार नभएको र चरित्रहत्या गर्ने उद्देश्यले दिइएको बताउँदै आपत्ति जनाएको थियो। मन्त्रालयका अनुसार यसअघि पनि भट्टले विवादास्पद अभिव्यक्ति दिएको र विभिन्न व्यक्तिहरूमाथि आरोप लगाएको विषयमा ध्यानाकर्षण गराइएको थियो।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमा आफूमाथि लगाइएको आरोपको कुनै सत्यता नभएको स्पष्ट पार्दै भट्टमाथि कारबाहीको माग गरेका थिए। उनी भट्टको आरोपलाई निराधार, कपोलकल्पित र आफू र मन्त्रालयको चरित्र हतियार गर्ने प्रयास भएको दाबी गर्दै आएका छन्।

भट्टलाई पक्राउ गरी अनुसन्धान जारी रहेको र यस विषयमा थप कानूनी कारबाही अघि बढाउने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट