देउवालाई हटाएर आएको ‘नयाँ कांग्रेस’ मा ससुरा, श्रीमती, छोरा र भान्जी पनि सांसद
काठमाडौँ— विशेष महाधिवेशनमार्फत शेरबहादुर देउवालाई नेतृत्वबाट विस्थापित गर्दै पार्टी सभापतिमा पुगेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेतृत्व सम्हाल्दा ठूलो आशा र बहस सिर्जना भएको थियो।
जेन–जी पुस्ता र असन्तुष्ट नेता/कार्यकर्तालाई आकर्षित गर्ने उद्देश्यसहित उनले सार्वजनिक गरेको नारा थियो— ‘बदल्यौं कांग्रेस, बदल्छौं देश।’ तर, कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ सिफारिस गरेका सांसदहरूको सूची सार्वजनिक भएपछि भने यही नारामाथि प्रश्न उठ्न थालेको छ।
जेन–जी आन्दोलनपछि पार्टीभित्र र बाहिर सिर्जना भएको असन्तोषलाई सम्बोधन गर्ने र आफू देउवा नेतृत्वको कांग्रेसभन्दा फरक र लोकप्रिय नेतृत्व भएको सन्देश दिन थापाले परिवर्तनको नारा अघि सारेका थिए। तर, समानुपातिक सांसद सिफारिसको सूचीले भने कांग्रेसभित्रको पुरानै शक्ति संरचना र नातावादको प्रभाव अझै बलियो रहेको संकेत दिएको छ।
आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले समानुपातिक प्रणालीबाट निर्वाचित हुने २० सांसदको नाम निर्वाचन आयोगमा पठाएको छ। सूचीमा १५ महिला र ५ पुरुष छन्। तर, उक्त सूचीमा नेताका आफन्त, परिवारजन तथा पटक–पटक सांसद र मन्त्री भइसकेका पुराना अनुहारहरू नै प्रमुख रूपमा देखिएपछि पार्टीको ‘परिवर्तन’को दाबीलाई लिएर बहस सुरु भएको हो।
समानुपातिक सूचीमा सबैभन्दा बढी चर्चा भएको नाम हो— अर्जुननरसिंह केसी। खस–आर्य क्लस्टरबाट पुरुषतर्फ सिफारिस भएका केसी कांग्रेस सभापति गगन थापाका ससुरा हुन्। उनी विगतमा पटक–पटक सांसद र मन्त्री भइसकेका नेता हुन्। ७८ वर्षका केसी नेपाली राजनीतिमा सबैभन्दा धेरै चुनाव लड्ने नेतामध्ये एक मानिन्छन्।
विगतमा उनले पुस्तान्तरणको मुद्दा उठाउँदै तत्कालीन सभापति शेरबहादुर देउवामाथि तीखा आलोचना गर्ने गरेका थिए। तर अहिले समानुपातिकतर्फबाट पुनः सांसद बन्ने सूचीमा परेपछि उनीमाथि नैतिक प्रश्न उठेको छ।
विद्यार्थी राजनीतिबाट कांग्रेसमा उदाएका केसी २०३८ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन जितेर राज्यमन्त्री बनेका थिए। २०४३ सालको निर्वाचनमा पराजित भएपछि २०४५ मा जिल्ला पञ्चायतका सभापति भएका थिए। २०४६ को जनआन्दोलनपछि कांग्रेसमा सक्रिय भएका केसीले २०४८, २०५१, २०७० र २०७९ सालमा नुवाकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन जितेका थिए। अहिले समानुपातिक सूचीमार्फत पुनः संसदमा प्रवेश गर्ने तयारी भएपछि उनको नाम आलोचनाको केन्द्रमा परेको छ।
त्यस्तै मधेसी क्लस्टरबाट सिफारिस भएका डा. चन्द्रमोहन यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवका छोरा हुन्। उनी यसअघि पनि सांसद भइसकेका व्यक्ति हुन्। मधेसी क्लस्टरबाटै सिफारिस भएकी नीनु कर्ण कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिकी भाञ्जी हुन्।
खस–आर्य महिलातर्फबाट सिफारिस भएकी रीना उप्रेती कांग्रेस नेता बलबहादुर केसीकी श्रीमती हुन्। उनी विद्यार्थी राजनीतिमा सक्रिय रहँदै पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत भएकी थिइन्।
आदिवासी जनजाति क्लस्टरबाट सिफारिस भएका भीष्मराज आङदम्बे कांग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका नेता हुन्। पाँचथरका आङदम्बे २०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ विजयी भएका थिए। तर २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि अहिले समानुपातिक प्रणालीमार्फत संसद प्रवेश गर्ने सूचीमा परेका छन्।
समानुपातिक सूचीमा अन्य नेताहरू पनि छन्। आदिवासी जनजाति क्लस्टरबाट मदनकृष्ण श्रेष्ठ (अपाङ्गता), गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा सिफारिस भएका छन्। खस–आर्य क्लस्टरबाट कालीबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला र सीता थपलिया पनि सूचीमा छन्। दलित क्लस्टरबाट हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्मा सिफारिस भएका छन् भने मुस्लिम क्लस्टरबाट साहजान खातुन र थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदारको नाम पठाइएको छ।
सामाजिक सञ्जालमा रुक्मिणी कोइराला डा. शेखर कोइरालाकी श्रीमती र प्रमिला गच्छदार पूर्वउपसभापति विजयकुमार गच्छदारकी श्रीमती भएको भन्दै चर्चा चले पनि ती दाबी तथ्यपरक नभएको स्पष्ट भएको छ। गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोभिड महामारीका क्रममा निधन भइसकेको थियो। रुक्मिणी कोइराला भने कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी नेतृ हुन्।
निर्वाचन आयोगले क्लस्टरको संख्या र समावेशी मापदण्ड मिलेको वा नमिलेको परीक्षण गरेपछि मात्र उनीहरूलाई औपचारिक रूपमा सांसदको प्रमाणपत्र प्रदान गर्नेछ। तर, सूची सार्वजनिक भएसँगै कांग्रेसभित्र ‘परिवर्तन’को नारा व्यवहारमा कति लागू भयो भन्ने प्रश्न भने अझै पेचिलो बनेको छ।
