कैलालीमा गोली हानी श्रीमतीको हत्या, श्रीमान्ले आफैंमाथि पनि चलाए गोली

काठमाडौँ– कैलालीको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा एक युवकले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्।

प्रहरीका अनुसार अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले आफ्नी २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेका हुन्। घटना जंगलमा बाख्रा चराउन गएका बेला भएको जनाइएको छ। सामान्य विवादबाट सुरु भएको घट्ना अचानक हिंसात्मक मोडमा पुगेपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुक प्रयोग गरी श्रीमतीमाथि गोली प्रहार गरेका थिए।

गोली लागेपछि संजिताको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार घटनापछि रामबहादुरले आफूले प्रयोग गरेको सोही बन्दुकबाट आफैंलाई पनि गोली हानेका थिए।

गम्भीर घाइते अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ। घटनापछि गाउँमा त्रास र शोकको वातावरण फैलिएको छ।

मृतक संजिताको शव घटनास्थलमै राखिएको छ र माइती पक्षका आफन्तहरू आएपछि मात्र कानुनी प्रक्रिया पूरा गरी उठाइने प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानले घरेलु विवाद नै घटनाको मुख्य कारण भएको संकेत गरे पनि वास्तविक कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको डीएसपी तिमिल्सिनाले बताएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट