राष्ट्रपतिका लागि ‘ढोक्सो’ थाप्न थालेका हुन बाबुराम भट्टराई ?
राजविराज– पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई फेरि राष्ट्रिय राजनीतिको केन्द्रमा तानिएका छन्। माओवादी पृष्ठभूमिका भट्टराईले रास्वपाका सभापति रविलामिछानेको प्रशंसा गर्न थालेपछि ‘राष्ट्रपति बन्न चाकरी सुरु गरेको’ भन्दै उनको चर्चा सुरु भएको हो।
प्रतिनिधि सभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर–२ बाट चुनावी मैदानमा उत्रिने तयारी गरेका उनले अन्तिम घडीमा उम्मेदवारी फिर्ता लिएपछि सुरु भएको चर्चाले अहिले नयाँ मोड लिएको छ। उनको यो निर्णयलाई सामान्य राजनीतिक रणनीतिभन्दा धेरै गहिरो अर्थमा व्याख्या गर्न थालिएको छ, जसले उनलाई भविष्यको राष्ट्रपतिको सम्भावित दाबेदारका रूपमा प्रस्तुत गर्ने बहसलाई समेत तीव्र बनाएको छ।
माघ ६ गते प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएका भट्टराईले एकाएक माघ ९ गते आफ्नो उम्मेदवारी फिर्ता लिए। उक्त क्षेत्रमा कविन्द्र बुर्लाकोटी उम्मेदवार बनेपछि उनलाई सहयोग गर्न भट्टराईले मैदान खाली गरेको चर्चा व्यापक रूपमा फैलियो। यसैसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच अघोषित समझदारी बनेको र त्यसको बदलामा भट्टराईलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति भएकोसम्मका अड्कलहरू सार्वजनिक भए।
यद्यपि, निर्वाचनको अन्तिम चरणमा उनको पार्टीले भने नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको थियो, जसले राजनीतिक वृत्तमा थप जटिल प्रश्नहरू खडा ग¥यो। रास्वपासँग निकटता बढाएको भनिएका भट्टराईले किन अन्तिम समयमा कांग्रेसतर्फ झुकाव देखाए भन्ने प्रश्नको स्पष्ट जवाफ अझै सार्वजनिक भएको छैन।
उनी निकट स्रोतहरू समेत यस विषयमा मौन देखिन्छन्, जसले यस निर्णयलाई झन् रहस्यमय बनाएको छ। तर, पछिल्ला अभिव्यक्तिहरूले भने उनको राजनीतिक ध्रुवीकरणको संकेत दिन थालेका छन्। रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सभापति रवि लामिछानेले दिएको मन्तव्यप्रति भट्टराईले सार्वजनिक रूपमा प्रशंसा व्यक्त गरेका छन्।
उनले ‘फलेको हाँगो निहुरिन्छ’ भन्ने नेपाली उखान उद्धृत गर्दै रास्वपाले पाएको जनमतलाई केवल पार्टीगत सफलता नभई समग्र नेपाली राजनीतिमा पुनर्संरचना र पुस्तान्तरणको संकेतका रूपमा व्याख्या गरेका छन्। उनको भनाइमा पुराना दल र नेताहरूप्रति केवल प्रतिक्रियात्मक दृष्टिकोण राख्नुको सट्टा उनीहरूले निर्वाह गरेको ऐतिहासिक भूमिकाको सम्मान गर्दै नयाँ भविष्य निर्माण गर्नुपर्ने सन्देश निहित रहेको उल्लेख छ।
माओवादी पृष्ठभूमिबाट उदाएका भट्टराईले रास्वपा नेतृत्वप्रति देखाएको यो सकारात्मक झुकावले उनको आगामी राजनीतिक मार्गबारे थप जिज्ञासा पैदा गरेको छ। अझ सहकारी ठगी प्रकरणमा लामिछाने थुनामा रहेका बेला रास्वपाको हस्ताक्षर संकलन अभियानमा सहभागी हुन उनी स्वयं बनस्थलीस्थित पार्टी कार्यालय पुगेपछि उनको भूमिकाबारे थप टिकाटिप्पणी सुरु भएको देखिन्छ।
सामाजिक सञ्जालमा उनको पछिल्लो गतिविधिलाई लिएर विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन्। कतिपयले यसलाई दीर्घकालीन रणनीतिक चालका रूपमा व्याख्या गर्दै उनलाई राष्ट्रपतिको तयारीमा रहेको संकेतका रूपमा हेरेका छन् भने केहीले यसलाई समयभन्दा अगाडि गरिएको राजनीतिक ‘पोजिसनिङ’ का रूपमा आलोचना गरेका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले खुलेरै ‘राष्ट्रपति बन्ने दाउ’ भन्दै टिप्पणी गर्न थालेका छन्, जसले भट्टराईको हरेक कदम अब केवल व्यक्तिगत निर्णय नभई व्यापक राजनीतिक अर्थसहित व्याख्या हुन थालेको स्पष्ट संकेत दिन्छ।
समग्रमा, उम्मेदवारी फिर्तादेखि लिएर नयाँ शक्तिसँगको समीपता र सार्वजनिक अभिव्यक्तिसम्मका सबै घटनाक्रमले बाबुरामलाई फेरि एकपटक राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ। अब उनको आगामी कदमले मात्रै यी अड्कलहरूलाई पुष्टि वा खण्डन गर्नेछ, तर अहिलेका लागि भने उनको राजनीतिक चालले राष्ट्रपतिको सम्भावित यात्राबारे गम्भीर बहसलाई जन्म दिएको छ।

