आर्थिक अपराधमा मुछिएका शाक्यको होटेलमा रास्वपाको प्रशिक्षण, त्यसैबाट टाढिए बालेन ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचित सांसदहरूबीच समन्वय, चिनाजानी र संसदीय अभ्यासको विस्तार गर्ने उद्देश्यसहित आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रम विवादको घेरामा परेको छ। ललितपुरको ग्वार्कोस्थित होटेल टुलिपमा ३ र ४ चैतमा सम्पन्न उक्त आवासीय कार्यक्रम पार्टीभित्रै प्रश्न उठ्ने गरी चर्चामा आएको हो।

चर्चाको केन्द्रमा छ, वरिष्ठ नेता बालेन साहको अनुपस्थिति। कार्यक्रममा सभापति रवि लामिछानेदेखि भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएका बालेनसम्मको उपस्थिति हुने भनिएको थियो। तर, पहिलो दिन दुवै नेता अनुपस्थित रहे।

दोस्रो दिन लामिछाने शारीरिक अस्वस्थताका बाबजुद समापन सत्रमा उपस्थित भएर सम्बोधन गरे। बालेन भने दोस्रो दिन पनि कार्यक्रममा नदेखिँदा सहभागी सांसदहरूबीच असन्तुष्टि र जिज्ञासा एकसाथ बढेको छ। कार्यक्रमस्थलमा उनको लागि छुट्टै स्थान निर्धारण गरी ‘नेमप्लेट’ समेत राखिएको थियो, जसले उनको उपस्थितिको संकेत दिएको थियो, तर त्यो केवल प्रतीक्षामै सीमित रह्यो।

नेता विपिनकुमार आचार्यले उद्घाटनमै फरक–फरक पृष्ठभूमिबाट आएका सांसदहरूबीच गहिरो सम्बन्ध निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका थिए। तर जसलाई पार्टीले नेतृत्वको अग्रपंक्तिमा उभ्याएको छ, त्यही व्यक्तित्व आफ्नै सांसदहरूसँग प्रत्यक्ष संवादमा अनुपस्थित हुनु आफैंमा गम्भीर राजनीतिक संकेतका रूपमा व्याख्या हुन थालेको छ। कार्यक्रममा सहभागी एक सांसदका अनुसार दुई दिनसम्म ‘आउँछन्’ भन्ने आश्वासन दिइए पनि अन्ततः बालेन नआएपछि नेतृत्वप्रति नै प्रश्न उठ्न थालेको छ।

२०७९ सालमा काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका बालेनले कार्यकाल पूरा नगर्दै पद त्याग गरी पार्टी राजनीतिमा प्रवेश गरेका थिए। उनलाई प्रधानमन्त्रीको सम्भावित अनुहारका रूपमा रास्वपामा भित्र्याईएको थियो। झापा–५ बाट पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेपछि उनको राजनीतिक प्रभाव झन् विस्तार भएको छ। यस्तो अवस्थामा संसदीय अभ्याससँग सम्बन्धित कार्यक्रममा अनुपस्थित रहनुले उनको प्राथमिकता र रणनीतिमाथि थप प्रश्न खडा गरेको छ।

रास्वपा सहप्रवक्ता प्रतिभा रावलले बालेनको अनुपस्थितिबारे स्पष्ट कारण थाहा नभएको बताएकी छन्। तर, बालेननिकट स्रोतहरूका अनुसार उनी पछिल्ला दिनहरूमा दरबारमार्गस्थित रोयल सिंगेमा ‘क्लोज क्याम्प’मा बसेर भावी सरकारको कार्ययोजना तयार पार्न व्यस्त रहेका छन्। सम्भावित मन्त्री पदका लागि भइरहेको दबाब र निरन्तर सम्पर्कबाट टाढा रहन उनले आफूलाई सीमित घेरामा राखेको दाबी गरिएको छ।

यद्यपि, बालेन कार्यक्रममा नआउनुको अर्को महत्वपूर्ण कारण कार्यक्रम आयोजना गरिएको होटेलसँग जोडिएको विवाद रहेको बताइएको छ। उक्त होटेलका सञ्चालक राजेन्द्र शाक्य आर्थिक अनियमितता प्रकरणमा मुछिएका व्यक्ति हुन्। नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरोले प्रभु मनि ट्रान्सफरसम्बन्धी रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्न उनलाई पक्राउ गरेको थियो।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान अघि बढाइएको उक्त प्रकरणमा प्रभु बैंकमार्फत करोडौँ रुपैयाँ कर्जा प्रवाह गरी दुरुपयोग गरिएको आरोप छ। प्रहरीका अनुसार सो प्रकरणमा अशोक सेरचनसहित उच्च तहका बैंक अधिकारीहरूसमेत अनुसन्धानको दायरामा परेका थिए।

त्यसअघि सहायक सिइओ मनिराम पोखरेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो भने पूर्वअध्यक्ष देवी प्रकाश भट्टचनलाई हाजिरी जमानीमा छाडिएको थियो। प्रभु मनि ट्रान्सफरको रकम अनियमितता ढाकछोप गर्न विभिन्न कम्पनीका नाममा कर्जा प्रवाह गरी दुरुपयोग गरिएको आशंकामा शाक्य पक्राउ परेका थिए।

यही विवादित पृष्ठभूमिका सञ्चालक रहेको होटेलमा पार्टी कार्यक्रम आयोजना गरिएकोप्रति असन्तुष्टि जनाउँदै बालेन सहभागी नभएको उनीनिकट स्रोतको दाबी छ। यदि यो दाबी सत्य हो भने, बालेनको अनुपस्थिति केवल व्यक्तिगत व्यस्तता नभई नैतिक र राजनीतिक सन्देशका रूपमा समेत व्याख्या गर्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट