सशस्त्रको गुल्ममा ‘जेनजी स्टाइल’ हमलाः भिड छिरेर डीएसपीमाथि हातपात, सिंगो टोली फिर्ता

काठमाडौँ– सुदूरपश्चिमको खक्रौला भन्सार नजिक रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टरमा सर्वसाधारणको भीड पसेर ड्युटीमा खटिएका अधिकृतमाथि हातपात गरेको छ।

घटनाका क्रममा सशस्त्र प्रहरीका डीएसपी प्रदीप पालमाथि हातपात भएको पुष्टि भएको छ। स्थानीय व्यापारी र युवाहरूको समूह गुल्मभित्रै छिरेर आक्रामक रूपमा प्रस्तुत भएको र त्यसक्रममा डीएसपीमाथि दुव्र्यवहार तथा कुटपिटसमेत भएको बताइएको छ।

प्रारम्भिक विवरणअनुसार डीएसपीबाट ज्यादति भएको आरोप लगाउँदै आक्रोशित समूहले यस्तो कदम चालेको हो। स्रोतका अनुसार भारतबाट ल्याइएको सामान सशस्त्र प्रहरीले बरामद गरेपछि विवाद सुरु भएको थियो। सो विषयमा समाधान खोज्न टीकापुर उद्योग वाणिज्य संघको टोलीसमेतको उपस्थितिमा गुल्मभित्र छलफल भइरहेको थियो।

तर छलफल सकिएलगत्तै अवस्था अचानक तनावपूर्ण बनेको र केही युवाहरू सीधै गुल्मभित्र प्रवेश गरी हातपातमा उत्रिएको जनाइएको छ। सुरक्षाकर्मीको उपस्थितिमै भएको यो घटनाले अनुशासन र नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

घटनापछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले कडा कदम चाल्दै डीएसपी पालबाहेक गुल्ममा कार्यरत सम्पूर्ण टोलीलाई जिल्ला तान्ने निर्णय गरेको छ। करिब ३१ जना सशस्त्र प्रहरीलाई फिर्ता बोलाएर नयाँ टोली खटाउने तयारी भइरहेको जनाइएको छ।

डीएसपीमाथि हातपात हुँदासमेत स्थिति नियन्त्रणमा लिन असफल भएको ठहर गर्दै यस्तो निर्णय गरिएको सुरक्षा स्रोतले जनाएको छ। यस घटनाले सीमाक्षेत्रमा भइरहेका अवैध व्यापार, सुरक्षाकर्मी र स्थानीयबीचको अविश्वास तथा कानून कार्यान्वयनको चुनौतीलाई एकैसाथ उजागर गरेको छ।

‘जेनजी स्टाइल’ भन्दै सामाजिक सञ्जालमा फैलिएको यो घटना वास्तवमा राज्य संयन्त्रमाथि खुला चुनौतीका रूपमा व्याख्या हुन थालेको छ, जसले आगामी दिनमा सुरक्षा व्यवस्थापन कसरी सुदृढ बनाउने भन्ने प्रश्नलाई झन् गम्भीर बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट