श्रीमतीमाथि बलात्कारपछि भिडिओ बनाएर आफन्तलाई पठाउने श्रीमान् विरुद्ध मुद्दा
काठमाडौँ– रुपन्देहीमा आफ्नै श्रीमतीलाई बलात्कार गरी भीडीओ खिचेर आफन्तलाई पठाउने एक ब्यक्तिविरुद्ध मुद्दा दर्ता भएको छ।
अभियोग अनुसार करिब ८–९ वर्षअघि विवाह भएका दम्पतीका ५ र ३ वर्षका दुई नाबालक छोराहरू छन्। विगत दुई वर्षदेखि श्रीमान्ले अत्यधिक मदिरा सेवन गर्दै श्रीमतीमाथि शारीरिक, मानसिक र आर्थिक यातना दिँदै आएको उजुरीमा उल्लेख छ।
श्रीमतीले मोबाइल फोन हेर्न नदिने र फोनमा कुरा गर्दा आफूलाई नदेखाउने विषयलाई लिएर उत्पन्न भएको शङ्काले बारम्बार विवाद सिर्जना हुँदै आएको प्रतिवादीकै बयानबाट खुलेको छ। घटना बढ्दै जाँदा फागुन ७ गते राति करिब साढे ११ बजे मदिरा सेवन गरी घर फर्किएका श्रीमान् श्रीमतीमाथि आक्रमणमा उत्रिएका थिए।
अघिल्लो दिनको विवादकै झोँकमा उनले कोठा भित्रबाट चुकुल लगाएर श्रीमतीलाई कुटपिट गर्न थाले, खुट्टा कपडाको डोरीले बाँधिदिए, लगाएको लुगा च्यातिदिए र मरणासन्न हुने गरी निर्घात पिटे। त्यसपछि उनले श्रीमतीको इच्छा र सहमति विपरीत जबरजस्ती करणी गरे, जुन वैवाहिक बलात्कारको गम्भीर अपराध हो।
अत्यन्त संवेदनशील र आपत्तिजनक पक्ष भने त्यसपछि देखिएको छ, जहाँ उनले सो यौन हिंसाको भिडिओ आफ्नै मोबाइल फोनबाट खिचे। घटनाकै क्रममा कोठा बाहिर रहेकी सासूले बुहारीको चिच्याहट सुनेपछि ढोका खोल्न लगाएर भित्र प्रवेश गरेकी थिइन्। उनले छोरालाई गाली गर्दै बुहारीको हातखुट्टामा बाँधिएको डोरी फुकाइदिएर ज्यान जोगाएकी थिइन्।
तर घटनाको भयावहता यतिमै सीमित रहेन। भोलिपल्ट बिहान प्रतिवादीले उक्त भिडिओ इमो एपमार्फत पीडितकी दिदीलाई पठाएका थिए। भिडिओ हेरेपछि पीडितको अवस्था देखेर दिदीले घटनाबारे जानकारी पाएकी थिइन्, जसले यो घटनालाई थप गम्भीर बनाएको छ।
स्वास्थ्य परीक्षण प्रतिवेदनले पीडितमाथि भएको निर्मम हिंसाको पुष्टि गरेको छ। उनको शरीरका विभिन्न भागमा निलडाम, दाँतले टोकेको चोट र नङ्ग्राले कोपरेका गहिरा घाउहरू भेटिएका छन्। दायाँ कुहिनोमा ५ सेन्टिमिटर, बायाँ काँधमा ३ सेन्टिमिटर, दायाँ खुट्टामा ६ सेन्टिमिटर र बायाँ तिघ्रामा ६ सेन्टिमिटरको चोटका साथै अनुहार र घाँटीमा समेत गम्भीर घाउ देखिएको प्रतिवेदनमा उल्लेख छ।
यस घटनामा सरकारी वकिलको कार्यालयले प्रतिवादीविरुद्ध वैवाहिक बलात्कार र विद्युतीय अपराधसम्बन्धी दुई अलग–अलग मुद्दा दायर गरेको छ। हाल यो मुद्दा रूपन्देही जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ।
