रवि लामिछानेलाई कारागारबाट भगाउन यस्तो थियो षडयन्त्रः जेलरलाई भाद्र २३ मै प्रमुख स्वकीयको फोन

काठमाडौँ– भाद्र २४ गते राज्यविहीनताको अवसर छोप्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेलबाट भागेको घट्नामा गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको अध्ययनले घटनाको पछाडिको षडयन्त्र पार्दाफास गरेको छ।

आयोगको प्रतिवेदनअनुसार लामिछानेका प्रमुख स्वकीय सचिव अविनाश आचार्य र जेलर सत्यराज जोशीबीच भद्र २३ र २४ गते फोन सम्पर्क भएको पाइएको छ। यसैगरी, जेलर जोशीले गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई भाद्र २४ गते ६ पटक फोन गरेका थिए भने ललितपुरका सीडीओले जोशीलाई भाद्र २३ गते एक पटक सम्पर्क गरेका थिए।

घटनाको दिन नख्खु कारागारको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका डिएसपी संगम श्रेष्ठले आयोगसमक्ष दिएको बयानले भीडले कारागार व्यवस्थापनमा ल्याएको चुनौती स्पष्ट पारेको छ। डिएसपी श्रेष्ठका अनुसार तीनदेखि चार हजारको संख्यामा भीडले रवि लामिछानेलाई कारागारबाट दश मिनेटभित्र बाहिर निकाल्न दबाब दिएको थियो।

श्रेष्ठले बताएअनुसार, उनी साउन १ देखि कात्तिक २ गतेसम्म नख्खु कारागारमा कमाण्डरको रूपमा कार्यरत थिए। भाद्र २४ गते बिहान सामान्य देखिएको भए पनि भाद्र २३ गतेको घटनाले संभावित भीड कारागारमा आउन सक्ने अनुमानसहित मुख्य गेटमा कन्सोर्टिना र फलामका पोलबाट व्यारिकेड तयार गरिएको थियो।

बिहान करिब १० बजे कारागार प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग छलफल गरी जिल्ला सुरक्षा समितिलाई थप सुरक्षाकर्मी खटाउन अनुरोध गरिएको थियो। त्यसपछि कारागारका तीन ब्लकमा ताला लगाइएका र ब्लक नाइके, भाइनाइकेलाई प्रशासन कार्यालयमै सुरक्षित बस्न भनिएको थियो।

भीड साढे १० देखि ११ बजेको समयमा नख्खु कारागारको उत्तरमा करिब ७–८ सय मिटरको दूरीमा भेला हुन थालेको सूचना प्राप्त भएको थियो। भीडले नारा, जुलुस र टायर बालेर आक्रोश प्रदर्शन गरेको समाचार एनआईडीका असई रमेश चौधरीबाट प्राप्त भएको थियो। यसै क्रममा ललितपुरको हरिसिद्धी तथा बीआईसीसी भवन जलिसकेको, सुरक्षाकर्मी हताहत भएको र हातहतियार लुटिएको विषयले सुरक्षा चुनौती थप गराएको थियो।

करिब १ बजे भीड कारागारको मेनगेटमा भेला भएर तोडफोड र आगजनी तथा आक्रमणको चेतावनीसहित रवि लामिछानेलाई १० मिनेटभित्र बाहिर निकाल्न दबाब दिएको थियो। यस क्रममा डिएसपी श्रेष्ठले न्यूनतम बल प्रयोग गर्दै सुरक्षाकर्मीलाई बिफ्रिङमा राख्न निर्देशन दिएका थिए। नेपाल प्रहरीको कमाण्डर र कारागार प्रशासकको आदेशअनुसार लामिछानेलाई सीआरसी ब्लकबाट कारागारभित्रको मनोसामाजिक अस्पतालसम्म सुरक्षित पुर्याइएको थियो। लामिछानेले माइक खोजी भई भीडलाई सम्झाउने तयारीसमेत गरेका थिए।

३ बजेतिर भीडले कारागारभित्र प्रवेश गरी ढुंगा फ्याँक्ने, तोडफोड र आगजनी गर्ने क्रममा सुरक्षाकर्मीहरूले करिब एक घण्टा न्यूनतम बल प्रयोग गर्दै स्थिति नियन्त्रणमा राखे। नेपाल प्रहरीको टोली कारागार छोडेपछि फिल्डमा सशस्त्र प्रहरीका ४६ जना मात्र रहेको अवस्था थियो। भीडले कारागारका तीन ब्लकका ताला तोडेर कैदीबन्दीहरूलाई भगाएको, कतिपय कैदीबन्दी सुरक्षाकर्मीको क्षेत्रमा सुरक्षित भएका थिए।

सशस्त्र प्रहरी बलले २१ ग्यास सेल, ६ राउण्ड ब्ल्याङ्क र ५ राउण्ड हवाई फायर प्रयोग गरेको थियो। डिएसपी श्रेष्ठले भने, कारागारभित्र रहेको मनोसामाजिक अस्पताल, विपश्यना ध्यान केन्द्र, प्रशासनको बोलेरो पिकअप, पानी ट्याङ्कर र अन्य सवारी साधन जोगाउन सफल भएको थियो। भीडको संख्यात्मक र हिंस्रक दबाबका बावजुद मानवीय क्षतिलाई ध्यानमा राख्दै संयमित तर प्रभावकारी ढंगले कार्य गरिएको थियो।

२४ गते कारागारमा १ हजार २८१ कैदीबन्दी थिए, जसलाई लगभग ३ः५० देखि ४ः१५ सम्म बाहिर भगाइएको थियो। यस क्रममा कारागार प्रशासनका नाइके, चौकीदार र अन्य कर्मचारीहरूले आन्तरिक प्रशासनको जिम्मेवारी निभाउँदै सुरक्षाकर्मीलाई सहयोग गरेका थिए। डिएसपी श्रेष्ठले आयोगलाई बताए अनुसार कुनै पनि कैदीबन्दीलाई भगाउने वा सहयोग गर्ने कार्यमा उनीहरूको संलग्नता छैन।

तर, आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसार भीडको दबाब र फोन सम्पर्कको तथ्यले रवि लामिछानेको कारागारबाट बाहिरिनु सामान्य देखिँदैन। यसले नख्खु कारागारमा सुरक्षा व्यवस्थापन र बाह्य दबाबबीचको संवेदनशीलता उजागर गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट