परपुरुषसँग सम्बन्ध रहेको आशंकामा घाँटी थिचेर श्रीमतीको हत्या, हराएको भन्दै खोजतलासको नाटक गर्ने पति पक्राउ
विराटनगर — दाम्पत्य सम्बन्धमा बढ्दै गएको अविश्वास र शंकाले भयावह रूप लिँदा मोरङको विराटनगरमा एक युवकले आफ्नै पत्नीको घाँटी थिचेर हत्या गरी घटना लुकाउन ‘हराएको’ नाटक रचेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ।
विराटनगर महानगरपालिका–१५ हर्ताली हाटका रोशन साहले ३२ वर्षीया पत्नी कोमलकुमारी साहको हत्या गरी शवलाई टाढा पु¥याएर पानीभित्र लुकाएको तथ्य प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।
प्रहरीका अनुसार चैत ६ गतेदेखि सम्पर्कविहीन भएकी कोमलकुमारीको खोजी भइरहेको थियो। सोही क्रममा चार दिनपछि वास्तविकता उजागर भएको हो। मंगलबार साँझ विराटनगर–१७ स्थित छाला फ्याक्ट्री नजिकको कल्भर्टमुनी पानीभित्र तन्नाले बेरिएको अवस्थामा शव फेला परेपछि घटनाले नाटकीय मोड लिएको हो।
स्थानीयले देखेको उक्त शवबारे वडाध्यक्ष समीर कमर मियाँमार्फत प्रहरीलाई जानकारी गराएपछि मोरङ प्रहरीको टोली फरेन्सिक विशेषज्ञसहित घटनास्थलमा पुगेको थियो। शव अत्यन्तै सडेको र दुर्गन्धित अवस्थामा फेला परेकाले पहिचान गर्न कठिन भए पनि हराइरहेका व्यक्तिहरूको विवरणसँग मिलान गर्दा मृतक कोमलकुमारी साह रहेको पुष्टि भयो।
त्यसपछि अनुसन्धानको केन्द्र उनका पति रोशनतर्फ मोडियो, जसले दुई दिनअघि मात्रै पत्नी हराएको भन्दै इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिएका थिए। तर, अनुसन्धान गहिरिँदै जाँदा सोही निवेदन नै घटनालाई ढाकछोप गर्ने रणनीति रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट रोशनले पत्नीको घाँटी थिचेर हत्या गरेको र त्यसपछि प्रमाण मेटाउन सुनियोजित रूपमा शव व्यवस्थापन गरेको देखिएको छ। उनले शवको हातखुट्टा बाँधेर तन्नाले बेरि घरदेखि करिब चार–पाँच किलोमिटर टाढा रहेको कल्भर्टमुनी पानीभित्र फालेका थिए। यस्तो अवस्थाले घटना आकस्मिक नभई पूर्ण रूपमा योजनाबद्ध रहेको प्रहरीको निष्कर्ष छ।
प्रहरी नियन्त्रणमा लिएर सोधपुछ गर्दा रोशनले अपराध स्वीकार गरिसकेको बताइएको छ। अनुसन्धानमा संलग्न डीएसपी लीलाराज लामिछानेका अनुसार दाम्पत्य जीवनमा उत्पन्न अविश्वास र पत्नीको परपुरुषसँग सम्बन्ध रहेको आशंकाले बारम्बार विवाद हुँदै आएको र अन्ततः त्यही शंका ज्यानै लिने निर्णयमा परिणत भएको देखिएको छ।
घटनास्थलबाट शवलाई कानुनी प्रक्रिया पूरा गरी राति कोशी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। रिपोर्ट आएपछि घटनाका थप प्राविधिक विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ। हाल रोशन साह इलाका प्रहरी कार्यालय रानीको हिरासतमा छन् र उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
