सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ— पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी गम्भीर आरोपमा पक्राउ पुर्जी जारी भएको पुष्टि भएको छ। सम्पत्ति शुद्धीकरण विभागले जिल्ला अदालत काठमाडौँमार्फत पक्राउ अनुमति लिएको प्रहरी स्रोतले जनाएको छ।

सरकारी स्रोतका अनुसार देउवा दम्पतीमाथि अवैध रूपमा धन आर्जन र त्यसको स्रोत लुकाउने प्रयाससम्बन्धी आरोपमा गहिरो अनुसन्धान भइरहेको छ। यही अनुसन्धानको क्रममा अदालतबाट पक्राउ पुर्जी जारी गरिएको हो। तर, उनिहरु भने विदेशमा छन्। उपचारको बहानामा चुनावअगावै सिंगापुर प्रस्थान गरेका देउवा हाल हङकङ पुगेको बताइएको छ।

भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा राष्ट्रपति भवन, सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र संघीय संसद भवन, निजी आवास र व्यापारिक प्रतिष्ठानहरूमा समेत आक्रमण, आगजनी र लुटपाटका घटना भएका थिए। सोही क्रममा बूढानिलकण्ठस्थित देउवा निवासमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए। देउवा दम्पतीमाथि हातपातसमेत भएको थियो र उनीहरू घाइते भएका थिए।

त्यसपछि देउवा निवासबाट ठूलो परिमाणमा नगद रकम फेला परेको दाबी गरिएको थियो। सामाजिक सञ्जालमा फैलिएका भिडियो र तस्वीरहरूले उक्त दाबीलाई थप चर्चामा ल्यायो। केहीले ती दृश्य वास्तविक भएको दाबी गरे भने केहीले कृत्रिम रूपमा तयार पारिएको सामग्री भएको तर्क गरे। यसै सन्दर्भमा केपी शर्मा ओलीले सार्वजनिक रूपमा ती दृश्य एआई प्रविधिबाट तयार गरिएको हुन सक्ने बताएका थिए, जसले राजनीतिक वृत्तमा थप विवाद निम्त्यायो।

उक्त घटनापछि सरकारी निकायहरू सक्रिय भए। नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण विभागले संयुक्त रूपमा अनुसन्धान अघि बढाउँदै देउवा निवासमै पुगेर फरेन्सिक परीक्षणसमेत गरेका थिए। जलेको भनिएको नगद वास्तविक हो वा होइन भन्ने पुष्टि गर्न विशेष टोली परिचालन गरिएको थियो। यही अनुसन्धानले अहिले देउवा दम्पतीमाथि कानुनी कारबाहीको स्वरूप लिएको देखिन्छ।

राजनीतिक रूपमा समेत प्रभाव पार्ने यस घटनाले नेपाली कांग्रेसभित्र पनि तरंग सिर्जना गरेको थियो। देउवा चुनावअगावै विदेश गएकाले पार्टीको चुनावी परिणाममा असर परेको नेताहरूको आन्तरिक विश्लेषण थियो। यसबीच, देउवा स्वदेश फर्कने भनिएको समयसीमा नाघ्दा उनी विदेशमै बसिरहनु स्वयंमा प्रश्नको विषय बनेको छ।

हाल देउवा दम्पती देशबाहिर रहेकोले पक्राउ प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे सरकारी निकायहरूबीच छलफल भइरहेको छ। कानुनी प्रावधानअनुसार, यदि अभियुक्त विदेशमा रहेको अवस्थामा अदालतको आदेशका आधारमा इन्टरपोल नोटिस जारी गरी नेपाल ल्याउने प्रक्रिया अघि बढाउन सकिन्छ। यद्यपि, पूर्वप्रधानमन्त्री जस्तो उच्च राजनीतिक व्यक्तित्व स्वयं अनुसन्धानमा उपस्थित हुने सम्भावना पनि कायमै रहेको स्रोतहरूको भनाइ छ।

तर, लामो समयदेखि विदेशमै बसिरहेको अवस्थाले उनीहरू सम्भावित कानुनी जोखिमलाई मध्यनजर गर्दै बाहिरै बसिरहेका हुन् कि भन्ने संशयलाई थप बल दिएको छ। अब पक्राउ पुर्जी जारी भइसकेपछि देउवा दम्पतीले कस्तो कदम चाल्छन् र सरकारले उनीहरूलाई कानुनी दायरामा ल्याउन कस्तो रणनीति अपनाउँछ—यो आगामी दिनहरूमा मुलुकको सबैभन्दा चासोको विषय बन्ने निश्चित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट