अपहरणमा परेको भनिएका सप्तरीका १४ वर्षीय बालक फेला परे

राजविराज— अपहरणमा परेको भनिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामा टोलका १४ वर्षीय बालक अमनकुमार यादवलाई प्रहरीले सकुशल फेला पारेर परिवारको जिम्मा लगाएको छ।

जयकृष्ण यादवका छोरा अमन कोशी मेलाबाट हराएको भन्दै माघ २२ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलिया सहितको निवेदन दर्ता गराइएको थियो। निवेदन प्राप्त भएसँगै प्रहरीले मातहतका विभिन्न इकाइमार्फत व्यापक खोजतलास अभियान सञ्चालन गरेको थियो।

खोजतलासका क्रममा चैत २८ गते हनुमाननगर कंकालिनी नगरपालिका–९ स्थित हनुमाननगर बजार क्षेत्रमा बालकलाई फेला पारिएको हो। इलाका प्रहरी कार्यालय हनुमाननगरको टोलीले अमनलाई फेला पारी पिता जयकृष्ण यादव तथा आफन्तजनको जिम्मा लगाइएको छ।

यता, बालकका पिता जयकृष्णले भने शुक्रबार पत्रकार सम्मेलन गर्दै छोरो अपहरणमा परेको र त्यसमा आफनै छिमेकीहरु रामदेव यादव र कारी यादव संलग्न रहेको आरोप लगाएका थिए।

उनका अनुसार अमनकुमार यादव गत पुस १९ गते साँझदेखि सम्पर्कविहीन भएका थिए। तर, बालक घरबाट हराएको करिब एक महिनापछि मात्रै परिवारले प्रहरीमा खोजतलासको निवेदन दिएको थियो। सुरुमा सामान्य हराएको घटनाको रूपमा रहेको यो प्रकरण लामो समयसम्म सार्वजनिक बहसमा आएन।

तर, चार महिनापछि जयकृष्णले एकाएक अपहरणको गम्भीर आरोप लगाएपछि घटना नयाँ मोडमा पुगेको थियो। उनले अमनलाई अपहरण गरी बन्धक बनाइएको, फिरौतीस्वरूप १० हजार रुपैयाँ नगद र एक विघा जग्गा माग गरिएको दाबी गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट