मन्त्रीका चालकद्वारा अपहरित युवकको दावीः लिङ्ग काटिदिने धम्की दिएर नाङ्गै बनाई भोजपुरी गीतमा डान्स गराए

राजविराज — एक हिन्दु युवकलाई अपहरण गरी लिङ्ग काटिदिने धम्की, नाङ्गै बनाएर भोजपुरी गीतमा डान्स, थुक चाट्न लगाउने जबर्जस्ती, नाङ्गो भिडियो खिचेर बेईजत गर्ने अमानवीय यातना। यो कुनै फिल्मको कथा होईन, सप्तरीमा बाहिरिएको यो सनसनीपूर्ण विवरण वहालवाला मन्त्रीका चालकमाथि लागेको आरोप हो।

सत्ताको छायाँमा हुर्किएको यो घट्नाले भयावह प्रवृत्तिको चित्र प्रस्तुत गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको स्वकीय सचिवालयअन्तर्गत कार्यरत चालक मुस्तकिम आलम मियाँमाथि यिनै गम्भीर आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

महादेवा गाउँपालिका–१ बल्थी घर भई हाल राजविराज नगरपालिका–३ पोख्रेलटोल बस्दै आएका २७ वर्षीय मुस्तकिम मियाँलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको हो। अपहरण, शरीर बन्धक तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरिएका उनलाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार घटना गत फागुन १४ गते बिहान करिब ८ बजे राजविराज–३ हनुमानचोक क्षेत्रबाट सुरु भएको थियो, जहाँ पीडित युवकलाई पूर्वयोजनाअनुसार मोटरसाइकलको घेरामा पारेर जबर्जस्ती नियन्त्रणमा लिइएको थियो।

जाहेरीमा उल्लेख भएअनुसार बा.९९ प ५७७५ नम्बरको मोटरसाइकलसहित आएका समूहले बन्दुक देखाउँदै ज्यान मार्ने धम्की दिँदै पीडितलाई नियन्त्रणमा लिएको र त्यसपछि राजविराज–८ स्थित हिमालय राइस मिल पछाडिको सुनसान क्षेत्रमा लगेर तीन घण्टासम्म बन्धक बनाएको थियो। त्यहाँ पुगिसकेपछि सुरु भएको अमानवीय व्यवहारको विवरण झनै भयावह छ। पीडितलाई कुटपिट गर्दै सम्पूर्ण कपडा खोल्न बाध्य पारिएको, भुइँमा थुकेर उक्त थुक जिव्रोले चाट्न लगाइएको, नाङ्गै अवस्थामा भोजपुरी गीतमा नचाउँदै मोबाइलबाट भिडियो खिचिएको र घटना बाहिर ल्याए ‘भिडियो भाइरल गरिदिने तथा ज्यान मारिदिने’ धम्की दिइएको उल्लेख छ।

पीडितले आफूलाई लिङ्ग काटिदिने धम्की दिइएको समेत बताएका छन्, जसले घटनालाई शारीरिक मात्र होइन, गम्भीर मानसिक यातनाको रूपमा स्थापित गर्छ। यसक्रममा उनको साथमा रहेको सामसुङ कम्पनीको मोबाइल, करिब दुई तोला सुनको सिक्री र नगद एक लाख तीस हजार रुपैयाँसमेत लुटिएको दाबी गरिएको छ।

घटनामा मुस्तकिम मियाँसँगै जुनेद मियाँ, एकवाल मियाँ र आदित्यकुमार यादव संलग्न रहेको भन्दै उनीहरूविरुद्ध पनि जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालयले वैशाख २४ गते जिल्ला अदालत सप्तरीसँग पक्राउ पुर्जीको अनुमति माग्दै निवेदन दर्ता गरेको थियो। अदालतबाट अनुमति प्राप्त भएपछि मुस्तकिमलाई नियन्त्रणमा लिइएको हो भने अन्य आरोपितहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अन्तर्गत यस्तो प्रकृतिको कसुरमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कारबाहीको व्यवस्था रहेको छ। यो घटनाले थप गम्भीर आयाम त्यतिबेला लियो जब केही दिनअघि मुस्तकिम मियाँ र सप्तरीका प्रहरी प्रमुख एसपी गौतम केसी बीचको भनिएको अडियो संवाद सार्वजनिक भएको थियो।

उक्त अडियोमा देखिएको आक्रामक शैली र अशिष्ट भाषा प्रयोगले उनीमाथि पहिले नै विवादको छायाँ परेको थियो। अब अपहरण र अमानवीय व्यवहारजस्ता गम्भीर आरोपमा पक्राउ परेपछि ती सबै घटनाहरू एकअर्कासँग जोडिँदै गएको देखिएको छ।

मन्त्रीकै सचिवालयसँग प्रत्यक्ष सम्बन्धित व्यक्तिबाट यस्तो आरोप बाहिरिनुले राजनीतिक नैतिकता, नियुक्ति प्रक्रिया र उत्तरदायित्वमाथि गहिरो प्रश्न उठाएको छ। सार्वजनिक पद नजिक रहेका व्यक्तिहरूको पृष्ठभूमि, आचरण र निगरानीमा भएको कमजोरीले यस्ता घटनालाई प्रश्रय दिएको हो कि भन्ने आशंका बलियो बन्दै गएको छ।

हाल अनुसन्धान जारी रहेकाले अन्तिम निष्कर्ष अदालत प्रक्रियापछि मात्र स्पष्ट हुनेछ, तर प्रारम्भिक रूपमा बाहिर आएका तथ्यहरूले नै यो प्रकरणलाई सामान्य अपराधभन्दा धेरै माथि—सत्ता, प्रभाव र आपराधिक प्रवृत्तिको खतरनाक संगमका रूपमा स्थापित गरिसकेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट