बारामा कुर्सीका लागि कुटाकुटः आफ्नै कार्यकर्ताबाट लखेटिए रास्वपाका सांसद !
जनकपुर— वैकल्पिक राजनीति, सुशासन र अनुशासनको नारा बोकेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नै संगठनभित्रको तीव्र शक्ति संघर्ष, गुटबन्दी र कार्यकर्ता असन्तुष्टिको भुमरीमा फस्दै गएको छ। यसको संकेत बारामा देखिएको छ।
पार्टीको बारा जिल्ला विस्तारित बैठक शनिबार तनाव, नाराबाजी, धक्का–मुक्का र भागाभागमा परिणत भएपछि रास्वपाभित्रको आन्तरिक संकट सतहमै विस्फोट भएको हो। कलैयास्थित एक होटलमा आयोजित जिल्ला स्तरीय विस्तारित बैठक सुरु हुनासाथ संस्थापक समूह र वर्तमान नेतृत्व पक्षबीच विवाद चर्किएको थियो।
केहीबेरमै स्थिति यति तनावपूर्ण बन्यो कि बैठकस्थलमै हानाहानको अवस्था सिर्जना भयो। आक्रोशित कार्यकर्ताले बैठकमा सहभागी प्रतिनिधिसभा सदस्यहरूलाई घेराउ गर्दै नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेर उनीहरूलाई सुरक्षा घेरामा बाहिर निकाल्नुपरेको अवस्था आयो।
घटनामा बारा जिल्लाबाट निर्वाचित सांसदहरू रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह प्रत्यक्ष रूपमा विवादको केन्द्रमा परेका थिए। सहभागी कार्यकर्ताहरूका अनुसार ती सांसदहरूले जिल्ला संगठनमाथि नियन्त्रण कायम गर्न संस्थापक समूहलाई पाखा लगाउने प्रयास गरेपछि वातावरण विस्फोटक बनेको हो।
विशेषगरी केही दिनअघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि जिल्ला संगठनभित्रको असन्तुष्टि थप तीव्र बनेको थियो। स्वर्णकार पक्षधर कार्यकर्ताले उक्त निर्णयलाई ‘पूर्वनियोजित राजनीतिक सफाया’ भन्दै खुलेआम विरोध गरिरहेका थिए। शनिबारको बैठक त्यही असन्तुष्टिको विस्फोट बनेको स्थानीय कार्यकर्ताहरू बताउँछन्।
बैठकस्थलमा उपस्थित कार्यकर्ताहरूले सांसदहरूविरुद्ध चर्को नाराबाजी गरेका थिए। केहीले उनीहरूलाई ‘कार्यकर्तामाथि थोपारिएको नेतृत्व’ भन्दै विरोध जनाएका थिए भने कतिपयले पार्टीलाई ‘केही व्यक्तिको निजी सर्कल’ मा सीमित पारिएको आरोप लगाए। विवाद बढेपछि केही कार्यकर्ताले सांसदहरूमाथि हातपातको प्रयाससमेत गरेको बताइएको छ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रहरीको सुरक्षा घेराबीच सांसदहरूलाई बैठकस्थलबाट बाहिर निकालिएको दृश्य अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। वैकल्पिक राजनीतिक संस्कारको भाष्य बोकेको दलकै बैठकमा आफ्नै सांसदलाई कार्यकर्ताबाट जोगाउन प्रहरीको सहारा लिनुपरेको अवस्था सिर्जना भएको छ।
रास्वपा बारा जिल्ला विवाद केवल संगठनात्मक मतभेदमा सीमित नरहेको विश्लेषण भइरहेको छ। स्थानीय तहदेखि जिल्ला संरचनासम्म ‘कसको नियन्त्रण रहने ?’ भन्ने शक्ति संघर्ष अहिले खुला गुटबन्दीमा बदलिएको देखिन्छ। संस्थापक पक्षको आरोप छ— पार्टीमा पुराना कार्यकर्ता र आन्दोलनबाट आएका व्यक्तिहरूलाई क्रमशः पाखा लगाएर ‘नजिकका मान्छे’ केन्द्रित संरचना बनाउने प्रयास भइरहेको छ।
निष्कासित जिल्ला सभापति चन्दन स्वर्णकारले पनि आफू निकट समूहलाई व्यवस्थित रूपमा हटाउने अभियान चलाइएको आरोप लगाएका छन्। उनका अनुसार बाराका केही सांसदहरूले पार्टी संगठनलाई लोकतान्त्रिक ढंगले होइन, व्यक्तिगत प्रभाव र नियन्त्रणको आधारमा सञ्चालन गर्न खोजेका कारण विवाद चर्किएको हो।
यता सांसद पक्ष भने आफूहरूमाथि योजनाबद्ध रूपमा कार्यक्रम बिथोल्ने प्रयास भएको दाबी गरिरहेको छ। सांसद गणेश धिमालले कार्यक्रम बिथोल्ने उद्देश्यले केही समूहले नाराबाजी गरेको बताए पनि पार्टीभित्र देखिएको गहिरो असन्तुष्टिबारे भने खुलेर प्रतिक्रिया दिएका छैनन्।
घटनापछि अहिले रास्वपाभित्र अर्को गम्भीर प्रश्न उठ्न थालेको छ— ‘नयाँ राजनीति’ भन्दै उदाएको दलभित्र किन पुरानै शैलीको गुट संघर्ष, निष्कासन राजनीति र शक्ति प्रदर्शन दोहोरिन थालेको हो ?
राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाको तीव्र उदयसँगै संगठन निर्माणभन्दा ‘पावर म्यानेजमेन्ट’ प्राथमिकतामा पर्दा यस्तो संकट देखिन थालेको हो। चुनावी लहरमा बनेको संरचना वैचारिक रूपमा संस्थागत हुन नसक्दा अहिले पार्टीभित्र असन्तुष्टि, अविश्वास र नेतृत्व संघर्ष खुला रूपमा सतहमा आएको उनीहरूको विश्लेषण छ।
बाराको यो घटनाले रास्वपाभित्र बढ्दो आन्तरिक असन्तुलन, नेतृत्वप्रतिको अविश्वास र संगठनात्मक संकटको संकेत दिएको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ। प्रश्न अब केवल ‘को निष्कासित भयो’ भन्ने होइन, ‘नयाँ राजनीति’ भन्ने भाष्य आफैंभित्र कति लोकतान्त्रिक छ भन्ने बन्न थालेको छ।

