सप्तरीमा बलात्कारमा परेकी घरेलु कामदार बालिकाको गर्भपतन गराएको आरोपमा महिला पक्राउ
राजविराज— बलात्कारमा परेर गर्भवती भएकी घरेलु कामदार बालिकाको जवर्जस्ती गर्भपतन गराएको आरोपमा प्रहरीले सप्तरीकी एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सुरुङ्गा नगरपालिका–३ की ४३ वर्षीया रिताकुमारी यादवलाई पक्राउ गरेको हो। बालिका यादवकै घरमा कामदारको रुपमा कार्यरत थिईन। यादवले घटनालाई लुकाउन गर्भपतन गराइएको आरोप छ। घटनापछि फरार रहेकी यादवलाई बुधबार नियन्त्रणमा लिइएको डीएसपी डम्बरबहादुर पुरीले वताए।
प्रहरीका अनुसार घटनामा यादवको प्रत्यक्ष संलग्नता देखिएपछि सप्तरी जिल्ला अदालत राजविराजबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। डिएसपी पुरीका अनुसार पीडित बालिकाको अवस्था, घटनाको समयक्रम र गर्भपतन प्रक्रियासम्बन्धी पक्षहरूमाथि समेत अनुसन्धान केन्द्रित गरिएको छ।
यसैबीच प्रहरीले अर्को बलात्कार मुद्दाका आरोपीलाई पनि पक्राउ गरेको छ। सुरुङ्गा नगरपालिका–८ का २५ वर्षीय शिवकुमार रामलाई एक युवतीमाथि बलात्कार गरेको आरोपमा बिहीबार पक्राउ गरिएको हो।
प्रहरीका अनुसार ०८२ कात्तिक १० गते डाक्नेश्वरी मन्दिर नजिक छठ पर्व हेरेर घर फर्किरहेकी युवतीलाई बाटोमै पछाडिबाट मुख थुनेर बलात्कार गरी राम फरार भएका थिए। लामो समयदेखि फरार रहेका रामलाई खोजतलासपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बलात्कार कसुरअन्तर्गत सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी रामविरुद्ध अनुसन्धान भइरहेको डीएसपी पुरीले बताए।
यससँगै प्रहरीले बहुविवाह मुद्दामा सप्तकोशी नगरपालिका–४ मंगलहटियाका ३२ वर्षीय उदिप चौधरी र कञ्चनरुप नगरपालिका–६ की २६ वर्षीया सुस्मिता चौधरीलाई पक्राउ गरेको छ। उदिप चौधरीकी जेठी पत्नी डम्बरीले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

