जेनजी आन्दोलन भड्काएको आरोप लागेकी को हुन रहस्यमयी ‘हिमानी राज्यलक्ष्मी’ ?
काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनपछि अहिले सबैभन्दा बढी चासो र अन्योल सिर्जना गरेको नाममध्ये एक हो— ‘हिमानी राज्यलक्ष्मी सिंह’। आयोगले जेठ २४ गतेको हिंसात्मक गतिविधि, आगजनी र विध्वंससँग सम्बन्धित विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्न सिफारिस गर्ने क्रममा यो नाम उल्लेख गरेपछि राजनीतिक र सामाजिक वृत्तमा अनेक अड्कलबाजी सुरु भएको छ।
‘हिमानी’ नाम सार्वजनिक हुनासाथ धेरैको ध्यान तत्काल पूर्वयुवराज्ञी हिमानी शाहतर्फ गयो। कारण, पूर्वराजपरिवारसँग जोडिएकी हिमानीको माइती थर ‘सिंह’ हो। सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म आयोगको प्रतिवेदनले पूर्वयुवराज्ञीलाई नै अनुसन्धानको दायरामा ल्याएको हो कि भन्ने प्रश्न तीव्र रूपमा उठ्न थाल्यो।
तर राष्ट्रिय मानवअधिकार आयोगले भने उक्त आशंकालाई अस्वीकार गरेको छ। जेनजी आन्दोलनसम्बन्धी अध्ययन कार्यदलकी संयोजक तथा आयोग सदस्य लिली थापाले प्रतिवेदनमा उल्लेख गरिएको ‘हिमानी राज्यलक्ष्मी सिंह’ पूर्वयुवराज्ञी नभएको स्पष्ट पारेकी छिन्। उनका अनुसार प्रतिवेदनमा उल्लेख भएको व्यक्ति जेनजी आन्दोलनसँग जोडिएकी एक अभियन्ता हुन्।
तर आयोगको यही स्पष्टिकरणपछि अर्को प्रश्न अझ पेचिलो बनेको छ — आखिर को हुन् ती ‘हिमानी राज्यलक्ष्मी सिंह’ ? किनकि जेनजी आन्दोलनसँग प्रत्यक्ष जोडिएका अभियन्ता, सामाजिक सञ्जाल अभियन्ता, आन्दोलन समन्वयक वा सार्वजनिक रूपमा देखिएका नेतृत्व तहका व्यक्तिहरूमध्ये यो नाम अहिलेसम्म सार्वजनिक चर्चामा आएको देखिँदैन। आन्दोलनका सक्रिय अनुहारहरूले समेत यस्तो नाम आफूहरूले नसुनेको प्रतिक्रिया दिएका छन्।
जेनजी आन्दोलनका क्रममा सक्रिय रूपमा देखिएकी अभियन्ता सरिस्मा थापाले प्रतिवेदनमा ‘हिमानी’ नाम देखेपछि आफूले पनि सुरुमा पूर्वयुवराज्ञीलाई नै बुझेको बताइन्। उनले भनिन्, ‘मलाई पनि सुरुमा पूर्वयुवराज्ञीकै नाम उल्लेख गरिएको हो जस्तो लागेको थियो। यो नामकी कुनै जेनजी अभियन्तालाई मैले चिनेको छैन।’
अर्की अभियन्ता जस्मिन ओझाले पनि प्रतिवेदनमा उल्लेख भएको नामबारे आफू पूर्णतः अनभिज्ञ रहेको बताएकी छिन्। उनका अनुसार आन्दोलनको अगुवाइ तहमा ‘हिमानी राज्यलक्ष्मी सिंह’ नामको कुनै व्यक्ति सार्वजनिक रूपमा परिचित थिएनन्।
‘मलाई थाहा भएसम्म यो नामकी कोही पनि नेतृत्वदायी भूमिकामा थिइनन्,’ उनले भनिन्, ‘त्यसैले प्रतिवेदनमा उल्लेख भएकी व्यक्ति वास्तवमा को हुन् भन्ने विषयमा हामीलाई पनि चासो छ।’ चलचित्रकर्मी तथा आन्दोलनसँग नजिक मानिएका अभियन्ता रविन्द्रसिंह बानियाँले समेत आफूले यो नाम पूर्वयुवराज्ञीबाहेक अरू कसैसँग नजोडेको बताएका छन्।
उता, हिमानी ट्रस्टका प्रमुख कार्यकारी अधिकृत प्रदीप राणाले भने प्रतिवेदनमा उल्लेख भएको व्यक्ति पूर्वयुवराज्ञी नभएको विश्वास व्यक्त गरेका छन्। उनले नाममै फरक रहेको तर्क गर्दै भने, ‘सरकारको नाम हिमानी राज्यलक्ष्मी देवी शाह हो। प्रतिवेदनमा ‘हिमानी राज्य लक्ष्मी सिंह’ लेखिएको छ। त्यसैले अरू नै कोही व्यक्ति हुनुपर्छ।’
यद्यपि आयोगले प्रतिवेदनमा उल्लेख गरिएको व्यक्तिको थप परिचय, संलग्नता वा भूमिका खुलाएको छैन। यही कारण अहिले सार्वजनिक वृत्तमा थप जिज्ञासा र अन्योल बढिरहेको छ। विशेषगरी जेनजी आन्दोलनलाई लिएर सुरुदेखि नै अनेक राजनीतिक, वैचारिक र शक्ति–केन्द्रित बहस भइरहेका बेला आयोगले सार्वजनिक गरेको यस्तो संवेदनशील नामले थप तरंग उत्पन्न गरेको छ।
आयोगले अनुसन्धान सिफारिस गरेका व्यक्तिहरूमध्ये कतिपय राजनीतिक, सामाजिक र अभियन्ता वृत्तसँग सम्बन्धित व्यक्तिहरू रहेको बताइए पनि ‘हिमानी राज्यलक्ष्मी सिंह’ को पहिचान अझै अस्पष्ट बनेको छ।
आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै अहिले दुईवटा प्रश्न समानान्तर रूपमा उठिरहेका छन्— पहिलो, प्रतिवेदनमा उल्लेख भएकी हिमानी वास्तवमै को हुन् ? दोस्रो, यदि उनी पूर्वयुवराज्ञी होइनन् भने आयोगले उनको परिचय किन स्पष्ट पारेन?
जेनजी आन्दोलनसँग सम्बन्धित प्रतिवेदनले अहिले राज्य संयन्त्र, राजनीतिक शक्ति केन्द्र, सुरक्षा निकाय र अभियन्ता समूहहरूबारे अनेक बहस जन्माइरहेका बेला ‘हिमानी राज्यलक्ष्मी सिंह’ नाम भने रहस्यमय पात्रका रूपमा उभिएको छ। अबको मुख्य चासो यही छ — आयोगले अनुसन्धान गर्न सिफारिस गरेकी हिमानी आखिर को हुन् ?


