अमेरिकाबाट काठमाडौँ फर्किंदै गरेका श्यामहरिको टर्किसको जहाजमै मृत्यु

काठमाडौँ– अमेरिकाबाट काठमाडौं फर्किंदै गरेको टर्किस एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा एक नेपाली यात्रुको मृत्यु भएको छ। बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि उनलाई अचेत अवस्थामा फेला पारिएको थियो। पछि मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके७२६ मा सवार गोरखा बारपाक–०२ घर भई काठमाडौँ सामाखुशी बस्दै आएका ७३ वर्षीय श्यामहरि मरहठ्ठा विमानभित्रै अचेत अवस्थामा फेला परेका थिए।

विमान बिहान करिब ६ः३५ बजे काठमाडाँं अवतरण गरेलगत्तै उनलाई अचेत अवस्थामा देखिएपछि विमानभित्रै प्रारम्भिक स्वास्थ्य जाँच गरिएको थियो। तर अवस्था गम्भीर भएपछि उनलाई तत्काल अस्पताल लैजाने तयारी गरिए पनि उनको ज्यान गएको पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ।

मरहठ्ठा अमेरिकाबाट आफ्नी पत्नी कालिकासहित नेपाल फर्किंदै थिए। उनी लामो समयपछि स्वदेश फर्किएका थिए भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटना सार्वजनिक भएपछि विमानस्थल सुरक्षा प्रहरीले तत्काल गौशाला प्रहरी वृत्तलाई जानकारी गराएको थियो। त्यसपछि प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ।

गौशाला प्रहरीले मृतकको शवको मुचुल्का उठाउने कार्य गरिएको जनाएको छ। प्रारम्भिक रूपमा मृत्युको कारणबारे केही खुल्न नसकेको र पोस्टमार्टमपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट