झापामा २१ वर्षीया युवतीको हत्या, बोरामा पोको पारेर खोलामा फालिएको थियो शव

दमक– झापा– मोरङ सीमास्थित रतुवा खोलामा बोराभित्र पोको पारेर फालिएको अवस्थामा फेला परेकी २१ वर्षीया युवतीको पहिचान खुलेको छ। मृतक, झापाको दमक नगरपालिका–८ बसन्तटोल निवासी रमा तिवारी रहेको प्रहरीले पुष्टि गरेको छ।

शनिबार बिहान दमक–१० सेतुमारीस्थित रतुवा खोलामा स्थानीयवासीले बोराभित्र शंकास्पद वस्तु बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय दमक र अन्य सुरक्षा निकायको टोली घटनास्थल पुगेको थियो। स्थानीयको सहयोगमा खोलाबाट बाहिर निकालिएको बोराभित्र युवतीको शव फेला परेको थियो।

मृतकका बुबा नारायण तिवारी र आमा मुना तिवारीले शव देखेपछि आफ्नी छोरी भएको पुष्टि गरेका हुन्। मृतकको हातमा रहेको ट्याटुको आधारमा शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिएका छन्।

पारिवारिक स्रोतका अनुसार रमा तिवारी जेठ १३ गते राति करिब साढे ९ बजे घरबाट बाहिर निस्किएकी थिइन्। त्यसपछि उनी परिवारको सम्पर्कमा आएकी थिइनन्। परिवारले आफन्त, साथीभाइ तथा सम्भावित स्थानहरूमा खोजी गरिरहेकै अवस्थामा केही दिनपछि उनको शव रतुवा खोलामा फेला परेको हो।

घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी युवतीको शव बोराभित्र पोको पारिएको अवस्थामा भेटिनुले घटनालाई शंकास्पद रुपमा हेरिएको छ। घटनापछि प्रहरीले युवतीको मृत्युका सबै सम्भावित पक्षबारे अनुसन्धान केन्द्रित गरेको जनाएको छ। उनी आफैं खोलामा पुगेकी थिइन् वा कसैले त्यहाँ पु¥याएको थियो भन्ने विषय अझै खुल्न सकेको छैन।

यद्यपि शव फेला परेको अवस्था, बोराभित्र पोको पारिएको तथ्य र हराएको समयक्रमलाई हेर्दा घटनामा अन्य व्यक्तिको संलग्नता हुनसक्ने आशंकालाई प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।

अनुसन्धान टोलीले युवतीको पछिल्लो गतिविधि, सम्पर्कमा रहेका व्यक्तिहरू, मोबाइल फोनको विवरण तथा घटनाअघिका गतिविधिबारे जानकारी सङ्कलन गरिरहेको छ। साथै, मृत्युको घटना कसरी भयो, शव कसले बोराभित्र राख्यो र कसरी खोलासम्म पु¥याइयो भन्ने विषय पनि अनुसन्धानको केन्द्रमा छ।

डिएसपी खड्काले घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान जारी रहेको बताउँदै अनुसन्धानको निष्कर्षपछि थप तथ्य सार्वजनिक हुने बताएका छन्। उनका अनुसार हाल उपलब्ध प्रमाणका आधारमा कुनै निश्चित निष्कर्षमा पुग्न हतार गर्न नमिल्ने अवस्था छ।

शवलाई कानुनी प्रक्रिया पूरा गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि मृत्युको वास्तविक कारण, मृत्यु भएको समय तथा घटनाको प्रकृतिबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

हालसम्म रमा तिवारीको शव रतुवा खोलामा फेला परेको तथ्य पुष्टि भए पनि उनी कसरी त्यहाँ पुगिन्, उनको मृत्यु कसरी भयो र शव बोराभित्र पोको पारेर खोलामा कसले फाल्यो भन्ने प्रश्न अझै अनुत्तरित छन्। शान्त र सामान्य मानिने दमक क्षेत्रलाई स्तब्ध बनाएको यस घटनाको रहस्य खुल्ने प्रतीक्षामा अहिले परिवार, स्थानीयवासी र सुरक्षा निकाय छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट