अपनत्व भजाएर राजदूत बन्न खोज्दा प्रहरीको फन्दामा सचिव पुष्कर ! प्रधानमन्त्रीलाई पठाएको एउटा म्यासेजले कसरी पुर्‍यायो टेकु ?

काठमाडौँ– अवकाशको संघारमा पुगेका नेपाल सरकारका सचिव डा. कृष्णहरि पुष्करले आफूलाई प्रधानमन्त्रीसँगको पुरानो चिनजान र पहुँचको आधारमा राजदूत नियुक्तिको दौडमा अघि बढाउने अपेक्षा गरेका थिए। तर यही अपेक्षासहित प्रधानमन्त्री बालेन्द्र साहलाई पठाएको एउटा व्यक्तिगत म्यासेजले उनलाई राजदूतको दौडतर्फ होइन, सोझै प्रहरीको सोधपुछ कक्षसम्म पुर्‍यायो।

उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव पुष्करलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब सात घण्टा सोधपुछ गरेपछि राति मात्र रिहा गरेको घटनाको वास्तविक कारण विस्तारै बाहिरिन थालेको छ। प्रारम्भिक रूपमा ‘मोबाइल फोनको अनुचित प्रयोग’ र ‘पदीय मर्यादाविपरीत सन्देश’ भन्ने व्याख्या गरिए पनि उच्च स्रोतहरूका अनुसार घटनाको केन्द्रमा प्रधानमन्त्रीलाई पठाइएको राजदूत नियुक्तिसम्बन्धी व्यक्तिगत सन्देश रहेको देखिएको छ।

स्रोतका अनुसार पुष्करले प्रधानमन्त्री बालेन्द्र साहको निजी मोबाइल नम्बरमा सन्देश पठाउँदै आफू असार २४ गते अवकाश हुन लागेको, मुख्यसचिव बन्ने सम्भावना समाप्तप्रायः रहेको र खुला गरिएको राजदूत पदमा आवेदन दिन लागेको जानकारी दिएका थिए। साथै उनले आवश्यक मार्गनिर्देशन र सहयोगको अपेक्षा व्यक्त गरेका थिए।

स्रोतले उद्धृत गरेको सन्देशअनुसार उनले प्रधानमन्त्रीलाई लेखेका थिए, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, म असार २४ गते रिटायर्ड हुँदैछु। मेरो मुख्यसचिव हुने सम्भावना पनि छैन। यही बेला राजदूतमा आवेदन खुलेको रहेछ। त्यसमा अप्लाई गर्न लागेको छु। जानकारीका लागि र आवश्यक मार्गनिर्देशन पाऊँ।’

परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायतसहित करिब डेढ दर्जन मुलुकका लागि रिक्त राजदूत पदमा आवेदन खुला गरेपछि पुष्करले पनि त्यसतर्फ रुचि देखाएका थिए। उनी विशेषगरी भारत वा जापानमध्ये कुनै एक देशका लागि राजदूत बन्न इच्छुक रहेको स्रोतहरूको दाबी छ।

पुष्करको कूटनीतिक अनुभव पनि कम छैन। उपसचिव हुँदा दक्षिण कोरियास्थित नेपाली दूतावासमा श्रम सहचारी र सहसचिव हुँदा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्य गरिसकेका उनी आफूलाई योग्य उम्मेदवार ठानिरहेका थिए। तर समस्या आवेदनमा होइन, प्रधानमन्त्रीसँग प्रत्यक्ष सम्पर्क खोज्ने शैलीमा देखिएको बताइन्छ।

प्रधानमन्त्री कार्यालयनिकट स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र साहले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले व्यक्तिगत लाभ, पद वा नियुक्तिका लागि राजनीतिक पहुँच प्रयोग गर्ने प्रवृत्तिलाई गम्भीर रूपमा लिने गरेका छन्। यही कारण पुष्करको सन्देशलाई सामान्य शुभेच्छा वा जानकारीका रूपमा नभई पद प्राप्तिका लागि प्रभाव प्रयोग गर्ने प्रयासका रूपमा हेरिएको स्रोतको दाबी छ।

घटनापछि प्रधानमन्त्री कार्यालयबाट प्रहरीलाई जानकारी गराइएको र त्यसपछि अपराध अनुसन्धान कार्यालयले पुष्करलाई सोधपुछका लागि बोलाएको बताइन्छ। यद्यपि गृहसचिव रामकुमार श्रेष्ठले भने यसलाई पक्राउ नभई सोधपुछका लागि बोलाइएको प्रक्रिया मात्र भएको बताएका छन्। उनका अनुसार बाहिर प्रचार गरिएजस्तो नियन्त्रणमा लिइएको अवस्था थिएन, प्रधानमन्त्रीलाई पठाइएको सन्देशबारे बुझ्न अनुसन्धान कार्यालयले उनलाई उपस्थित गराएको थियो।

तर घटनाको अर्को पक्षले थप बहस जन्माएको छ। यदि कुनै सचिवले प्रधानमन्त्रीलाई व्यक्तिगत सन्देश पठाउनु नै अनुसन्धानको विषय बन्छ भने त्यसको कानुनी आधार के हो ? कुनै फौजदारी कसुर नभएको अवस्थामा प्रहरी संयन्त्र प्रयोग हुनु उपयुक्त थियो कि थिएन ? यी प्रश्नहरू अहिले प्रशासनिक वृत्तमा उठ्न थालेका छन्।

पुष्करलाई अन्ततः थप कारबाहीको आधार नदेखिएपछि राति करिब १० बजे पत्नी आभा श्रेष्ठको जिम्मामा छाडिएको थियो। आभा श्रेष्ठ स्वयं नेपाल सरकारकी सहसचिव हुन्। रिहाइका क्रममा भविष्यमा यस्ता प्रकृतिका सन्देश नपठाउने समझदारी भएको स्रोतहरू बताउँछन्।

घटनाले नेपालको उच्च प्रशासनिक संरचनाभित्र रहेको अर्को यथार्थ पनि उजागर गरेको छ। वर्षौंदेखि अवकाश नजिकिएका सचिव तथा उच्च कर्मचारीहरूले राजनीतिक पहुँचका आधारमा राजदूत, संवैधानिक निकायका पदाधिकारी वा अन्य आकर्षक नियुक्ति खोज्ने अभ्यास रहँदै आएको छ। फरक यति मात्र हो कि यसपटक त्यही प्रयासले अप्रत्याशित रूपमा प्रहरी अनुसन्धानको रूप लियो।

रोचक संयोग के छ भने प्रधानमन्त्री बालेन्द्र साह र सचिव पुष्कर दुवै महोत्तरी जिल्लासँग सम्बन्धित मानिन्छन्। सामान्य प्रशासन मन्त्रालयमा पुष्कर सचिव हुँदा बालेन्द्र साह काठमाडौं महानगरपालिकाका प्रमुख थिए र दुवैबीच परिचय तथा उठबस रहेको बताइन्छ। केही महिनाअघि प्रधानमन्त्रीका पिताको निधन हुँदा समवेदना व्यक्त गर्न पुष्कर घरमै पुगेका थिए। सम्भवतः यही निकटताले प्रधानमन्त्रीलाई प्रत्यक्ष सन्देश पठाउन उनी उत्साहित भएका थिए।

तर अन्ततः त्यो ‘अपनत्व’ नै उनका लागि महँगो सावित भयो। राजदूत बन्ने आकांक्षासहित पठाइएको एउटा म्यासेजले राज्य संयन्त्रको ध्यान तान्यो, प्रहरी अनुसन्धानसम्म पुर्‍यायो र अहिले देशभर बहसको विषय बनाएको छ।

अब प्रश्न उठेको छ—यो घटना सार्वजनिक पदको मर्यादा जोगाउने सन्देश हो, व्यक्तिगत प्रभाव प्रयोग गर्ने संस्कृतिविरुद्धको चेतावनी हो, वा प्रशासनिक अधिकार र प्रहरी शक्तिको प्रयोगबारे नयाँ विवादको सुरुवात ? यसको उत्तर आगामी दिनका बहस र तथ्यहरूले दिनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट