बर्दिवासमा एक महिलाको रहस्यमय मृत्युः माईती पक्षले तोडफोड र आगजनी गरेपछि प्रहरीसँग झडप

जनकपुर– महोत्तरीको बर्दिवास–१२ विजलपुरामा एक महिलाको शंकास्पद मृत्यु भएको घट्नाले गाउँ अशान्त बनेको छ। शुक्रबार राति स्थानीय रामबाबु सिंहकी बुहारी पिंकी महतो घरभित्र झुन्डिएको अवस्थामा फेला परेपछि गाउँमा झडपको अवस्था आएको हो।

मृत्यु सामान्य आत्महत्या हो वा योजनाबद्ध हत्या ? भन्ने विषयमा गाउँ दुईतर्फ विभाजित भएको थियो। जसले शुक्रबार राति नै हिंसात्मक मोड लिएको थियो। माइती पक्षले ‘हत्या भएको’ दाबी गर्दै आक्रोशमा आगजनी र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी पुगेको थियो। तर, प्रहरीसँगै आक्रोशित पक्षको झडप भयो।

पिंकीको मृत्युको खबर फैलिनासाथ गौशाला–११ कान्तिबजारबाट ठूलो संख्यामा माइती पक्ष घटनास्थल पुगेका थिए। तर शोकभन्दा बढी आक्रोश बोकेर पुगेको समूहले पिंकीको घरलाई निशाना बनाउँदै एक कार, एक मोटरसाइकल र एक स्कुटीमा आगजनी गर्नुका साथै घरमा व्यापक तोडफोड गरेको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिए पनि क्षति भइसकेको थियो।

स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि इलाका प्रहरी कार्यालय बर्दिवास र सशस्त्र प्रहरी बल नेपाल, पशुपतिनगर बेस क्याम्पबाट थप टोली परिचालन गरिएको थियो। तर तनावग्रस्त भीड र सुरक्षाकर्मीबीचको मुठभेडमा झडप हुँदा केही व्यक्ति घाइते भएको प्रारम्भिक जानकारी छ।

माइती पक्ष भने घटनालाई आत्महत्या होइन, योजनाबद्ध हत्या भएको दाबीमा अडिग छन्। उनीहरूले लामो समयदेखि पिंकीलाई घरमा यातना दिइँदै आएको र घटनास्थलको अवस्था शंकास्पद रहेको आरोप लगाएका छन्। यही आरोप–प्रत्यारोपबीच घटनास्थलको वातावरण झन् तनावग्रस्त बनेको छ।

प्रहरीले भने घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने जनाएको छ। अहिले घटनास्थलमा अनुसन्धान टोली परिचालन गरिएको छ र थप सुरक्षा व्यवस्था कडा पारिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट