बुच्चाकोट बस दुर्घटनाः क्षणभरमै गुम्यो १८ महिने उर्गेन लामाको आमाको काख
काठमाडौँ– सामाजिक सञ्जालमा शुक्रबार दिउँसो एउटा तस्वीर भाईरल भयो। धुलिखेल अस्पतालको आकस्मिक कक्षमा घाइते अवस्थामा रहेका एक सानो बालक आफ्ना अभिभावक खोजिरहेका थिए। तस्वीर हेर्ने हजारौं मानिसका लागि त्यो केवल सामान्य घटना थियो। तर केहीका लागि त्यो तस्वीर जीवनभर नबिर्सिने पीडाको संकेत बन्यो।
काभ्रेपलबञ्चोकको नमोबुद्धस्थित बुच्चाकोटमा भएको भीषण बस दुर्घटनाले आठ जनाको ज्यान लियो, दर्जनौं घाइते भए। तर, यतिभन्दा बाहिर एउटा अर्को कथा पनि थियो—आमाको काख खोजिरहेका दुई साना बालकको कथा, जसलाई दुर्घटनाले एकै क्षणमा जीवनको सबैभन्दा ठूलो पीडा दिएर गयो।
शुक्रबार दिउँसो करिब २ बजे बनेपाबाट रोशी गाउँपालिका–६ स्थित सुघुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुबाहक बस नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनाग्रस्त भयो। बस करिब ३ सय मिटर तल भीरमा खसेपछि घटनास्थल नै चित्कार र रुवाबासी मैदानमा परिणत भयो।
दुर्घटनापछि घाइतेहरूलाई धुलिखेल अस्पताल ल्याइँदा दुई बालक अभिभावकविहीन अवस्थामा भेटिए। एक जना ४ वर्षीय सुवास लामा थिए भने अर्का १८ महिनाका उर्गेन लामा। अस्पतालमा नर्सहरू, सुरक्षाकर्मी र सञ्चारकर्मीहरू उनीहरूका आफन्त खोज्न व्यस्त थिए।
चार वर्षका सुवासले त बोल्न सक्थे। उनी बारम्बार आमालाई खोजिरहेका थिए। तर १८ महिने उर्गेन बोल्न सक्दैनथे। उनलाई एक नर्सले काखमा बोकेर अस्पतालभरि घुमाउँदै अभिभावक खोजिरहेकी थिइन्। त्यसैबीच सामाजिक सञ्जालमा भाइरल भएको तस्वीरले एउटा परिवारलाई अस्पतालसम्म डो¥यायो।
भक्तपुरमा बस्दै आएकी केशरी तामाङले सामाजिक सञ्जालमा घाइते बालकको तस्वीर देखिन्। तस्वीर हेर्नेबित्तिकै उनको मन झस्कियो। उनी हतारिँदै बहिनीको कोठामा पुगिन्। तर त्यहाँ न बहिनी थिइन्, न उनको छोरा। त्यसपछि उनले थाहा पाइन—बहिनी बिहानै रोशी जाने भन्दै घरबाट निस्किएकी थिइन्।
शंकाले सताइरहेकी केशरी धुलिखेल अस्पताल पुगिन्। त्यहाँ पुग्दा तस्वीरमा देखिएको बालक वास्तवमै आफ्नै बहिनीको छोरा भएको पुष्टि भयो। घाइते बालकले आफ्नी ठूलो आमालाई त भेटे, तर आमाको काख तत्काल पाएनन्। किनभने उनकी आमा गम्भीर घाइते अवस्थामा आईसीयूमा उपचाररत थिइन्।
‘मम्मी यतै हुनुहुन्छ, एकछिनमा आउनुहुन्छ,’ भन्दै केशरीले बालकलाई सुम्सुम्याइरहेकी थिइन्। तर त्यो सान्त्वनाभित्र लुकेको भय र पीडा उनको अनुहारमै देखिन्थ्यो। दुर्घटनामा सुवास लामाकी आमा बिबिमाया तामाङ गम्भीर घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको छ र उनी अस्पतालको आईसीयूमा उपचाररत छिन्। सुवासको देब्रे खुट्टामा चोट लागेको छ।
अर्को बालक उर्गेन लामाको कथा अझ दर्दनाक छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उर्गेनकी २२ वर्षीया आमा सुमी तामाङको दुर्घटनामै मृत्यु भयो। मामाघर जाँदै गरेका उर्गेनले अब कहिल्यै आमाको अनुहार देख्ने छैनन्। टाउकोमा चोट लागेर घाइते भएका उर्गेन अहिले अस्पतालमै छन्। दुर्घटनापछि उनका बुबा र हजुरबुबा अस्पताल पुगेका छन् र उनको रेखदेख गरिरहेका छन्। तर उनले बारम्बार खोज्ने आमाको काख अब सधैंका गुमेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीका अनुसार दुर्घटनामा मृत्यु हुने आठै जनाको सनाखत भइसकेको छ। मृतकहरूमा सिन्धुली घ्यालेख गाउँपालिका–४ की २२ वर्षीया सुमी तामाङ, नेपाली सेनामा अमल्दारका रूपमा कार्यरत दैलेखका ३० वर्षीय बमबहादुर भण्डारी, रोशी गाउँपालिका–६ का ७३ वर्षीय मेघबहादुर तामाङ, ७५ वर्षीय इन्द्रबहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ, ६० वर्षीया माया लामा तथा रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङ छन्।
दुर्घटनामा १६ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

