झापामा महिलालाई विजुलीको पोलमा बाँधेर मोसो दल्ने चार जना पक्राउ
दमक– व्यक्तिगत रिसइबी कारण एक युवतीलाई बिजुलीको पोलमा बाँधेर मोसो दल्ने घटनामा संलग्न भएको आरोपमा झापामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। अदालत, प्रहरी र कानुनी प्रक्रियालाई पन्छाएर आफैं न्यायाधीश, अभियोजक र सजाय दिने भूमिकामा उत्रिने मानसिकता विरुद्ध प्रहरीले कदम चालेको हो।
झापाको बिर्तामोड–२ चारपाने क्षेत्रमा बिहीबार साँझ भएको यो घटनामा एक २१ वर्षीया युवतीलाई सार्वजनिक रूपमा अपमानित गरिएको मात्र होइन, उनको मानवीय गरिमा र व्यक्तिगत अधिकारमाथि समेत निर्मम प्रहार गरिएको थियो। घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेपछि घटनाको थप विवरण सार्वजनिक भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार साँझ करिब साढे ६ बजे स्थानीय २१ वर्षीया सविना राजवंशीलाई राजगढ जाने सडकखण्ड नजिकै बिजुलीको पोलमा बाँधेर मोसो दलिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार घटना पुरानो रिसइबीका कारण भएको देखिएको छ।
घटनामा संलग्न रहेको आरोपमा कनकाई–८ का १८ वर्षीय समिर मर्डी, २० वर्षीया सविना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु तथा कनकाई–४ की १९ वर्षीया पूजा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
घटनापछि घाइते भएकी सविना राजवंशीको बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइए पनि घटनाबाट परेको मानसिक असरबारे थप मूल्याङ्कन हुन बाँकी छ। प्रहरीले पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा समेत अनुसन्धान केन्द्रित गरिएको प्रहरी स्रोतले जनाएको छ।
