किसानको अनुदानको मल किराना पसलमा ! १३ बोरा युरिया बेच्दै गर्दा रंगेहात पक्राउ

लहान– धान रोपाइँको मुखैमा किसान मलको खोजीमा गाउँ–गाउँ चहारिरहेका बेला राज्यले अनुदानमा उपलब्ध गराएको युरिया मल भने सिरहाको एक किराना पसलबाट अनधिकृत रूपमा बिक्री भइरहेको अवस्थामा फेला परेको छ।

संयुक्त अनुगमन टोलीले धनगढीमाई नगरपालिका–१० स्थित एक किराना पसलबाट १३ बोरा युरिया मल नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाको संयुक्त अनुगमन टोलीले विशेष सूचनाको आधारमा भरत प्रधानले सञ्चालन गरेको प्रधान किराना पसलमा छापा मार्दा ३३ केजी दरका १३ बोरा युरिया मल बरामद भएको हो।

अनुगमन टोलीले बरामद गरिएको मल नियन्त्रणमा लिएर यसको स्रोत, आपूर्ति प्रक्रिया तथा बिक्री वितरणको सम्पूर्ण श्रृंखलाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक रूपमा किसानका लागि अनुदानमा उपलब्ध गराइएको मल अनधिकृत रूपमा बजारमा बिक्रीका लागि राखिएको भेटिएको भन्दै सम्बन्धित निकायले यसमा संलग्न व्यक्तिहरूमाथि कानुनी प्रक्रिया अघि बढाइने संकेत दिएको छ।

राष्ट्रिय अनुसन्धान विभागका डीएसपी रिजन यादवले किसानको हकको मल कालोबजारी गर्ने वा अनधिकृत रूपमा कारोबार गर्ने जोसुकैलाई पनि कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे। उनले बरामद गरिएको मल कहाँबाट ल्याइयो, कसरी पसलसम्म पुग्यो र वितरण प्रक्रियामा कसको संलग्नता छ भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको बताए।

सिरहामा यतिबेला धान रोपाइँको चटारो छ। यही समयमा किसानहरू मल अभावको समस्यासँग जुधिरहेका छन्। कतिपय स्थानमा किसानले आवश्यक परिमाणमा मल नपाएको गुनासो गरिरहेका बेला सरकारी अनुदानको मल किराना पसलमार्फत बिक्री भइरहेको तथ्य बाहिर आएपछि स्थानीय कृषकहरू आक्रोशित बनेका छन्।

कृषकहरूले राज्यले उपलब्ध गराएको सहुलियतको मल वास्तविक किसानसम्म पुग्न नसक्नु र बीचमै अनधिकृत बजारमा प्रवेश गर्नु गम्भीर अनियमितता भएको बताएका छन्। उनीहरूले मल वितरण प्रणालीको सम्पूर्ण छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट