जसपा–जनमत एकताको प्रतीक्षामा रहेका नेता–कार्यकर्तालाई सीके राउतले किन निराश बनाए?

राजविराज– मधेस केन्द्रित राजनीतिमा पछिल्ला केही महिनादेखि सबैभन्दा बढी चर्चा भएको विषय थियो— जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच सम्भावित पार्टी एकता। मधेसवादी राजनीतिक शक्तिहरू विभाजन, फुट र प्रतिस्पर्धाले कमजोर बन्दै गइरहेका बेला डा. सीके राउत र उपेन्द्र यादव एकै ठाउँमा आउने संकेतले नेता–कार्यकर्ता मात्र होइन, मधेसको राजनीतिक वृत्तमै नयाँ आशा जगाएको थियो।

तर, जब एकताको वार्ता निर्णायक मोडमा पुग्ने अपेक्षा गरिएको थियो, त्यही बेला जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीसँग राष्ट्रिय वैकल्पिक मोर्चा गठनको पहल गर्ने निर्णय सार्वजनिक ग¥यो। त्यसपछि जसपा–जनमत एकताको प्रतीक्षामा रहेका नेता–कार्यकर्ताहरू निराश मात्र भएनन्, एकताको भविष्यप्रति नै शंका गर्न थालेका छन्।

फागुन २१ पछि बदलिएको राष्ट्रिय राजनीतिक समीकरणसँगै मधेसवादी शक्तिहरूलाई पुनः एकीकृत गर्ने बहसले गति लिएको थियो। सोही क्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पटक–पटक छलफल भएका थिए। दुवै पक्षले एकताको सम्भावनालाई खुला राख्दै औपचारिक संवादको प्रक्रिया समेत अगाडि बढाएका थिए।

एकताको सम्भावनालाई संस्थागत रूप दिन जसपा नेपालले नेता रकम चेम्जोङको संयोजकत्वमा वार्ता समिति गठन ग¥यो। त्यसको केही समयपछि जनमत पार्टीले पनि उपाध्यक्ष नरेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा वार्ता समिति बनायो। दुवै दलले औपचारिक संरचना निर्माण गरेपछि मधेसमा नयाँ राजनीतिक ध्रुवीकरणको संकेत देखिएको थियो।

तर असार १ गते जनमत पार्टीले जारी गरेको निर्णयले त्यस प्रक्रियामा अचानक ब्रेक लगाइदियो। जनमतले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीसँग राष्ट्रिय वैकल्पिक मोर्चा तथा सम्भावित एकताको पहल गर्ने निर्णय सार्वजनिक गरेपछि जसपा नेपालभित्र मात्र होइन, दुवै दलका नेता–कार्यकर्ताबीच अन्योल सिर्जना भएको छ।

जसपा नेपालका नेताहरूका अनुसार एकातर्फ अध्यक्ष तहमा पटक–पटक वार्ता भइरहने र अर्कोतर्फ अर्को मोर्चाको घोषणा गरिनुले विश्वासको वातावरण कमजोर बनाएको छ। उनीहरूको बुझाइमा मधेसी जनतामा जसपा–जनमत एकताको सकारात्मक सन्देश प्रवाह भइरहेका बेला जनमतको पछिल्लो कदमले त्यो अपेक्षामाथि धक्का पु¥याएको छ।

जनमत पार्टीका उपाध्यक्ष तथा वार्ता समिति संयोजक नरेन्द्रप्रसाद चौधरी भने यसलाई एकताको अन्त्यका रूपमा हेर्न नहुने बताउँछन्। उनका अनुसार जसपा नेपालसँगको संवाद औपचारिक रूपमा पूर्ण रूपमा सुरु नै नभएकाले समाप्त भएको पनि मान्न सकिँदैन। उनले आवश्यकताअनुसार जसपा नेपालसहित अन्य दलहरूसँग पनि वार्ता र सहकार्य हुनसक्ने बताएका छन्।

यद्यपि राजनीतिक वृत्तमा उठिरहेको मुख्य प्रश्न भने फरक छ— यदि जसपासँग एकताको सम्भावना जीवित थियो भने जनमत पार्टीले किन नयाँ मोर्चा निर्माणलाई प्राथमिकता दियो? यसको उत्तर खोज्न डा. सीके राउतको विगतको राजनीतिक यात्रातर्फ फर्किनुपर्छ। सुरुवाती चरणमा पार्टी एकता र मोर्चाबन्दीको विपक्षमा देखिएका राउत पछिल्ला वर्षहरूमा लगातार नयाँ राजनीतिक सहकार्यको प्रयोग गर्दै आएका छन्।

उनले महन्थ ठाकुर नेतृत्वको तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीसँग कार्यगत एकता गरे, तर त्यो लामो समय टिकेन। त्यसपछि नागरिक उन्मुक्ति पार्टीसँग पनि कार्यगत एकता भयो। पछि दुवै पार्टीबीच औपचारिक एकताको तयारीसमेत भयो। तर एकता घोषणा हुने दिन नै नागरिक उन्मुक्ति पार्टीका तत्कालीन संरक्षक रेशमलाल चौधरी पक्राउ परेपछि त्यो प्रक्रिया भत्कियो।

त्यसपछि उनी संघीय लोकतान्त्रिक मोर्चामा सहभागी भए। तर मोर्चाका बैठकहरूमा नियमित सक्रियता देखिएन। कतिपय निर्णयप्रति असहमति जनाउँदै उनी अलग धारमा उभिए। यही पृष्ठभूमिका कारण पनि जनमत पार्टीको पछिल्लो निर्णयलाई धेरैले सीके राउतको अर्को राजनीतिक प्रयोगका रूपमा हेरिरहेका छन्। तर जसपा–जनमत एकताको आशामा बसेका कार्यकर्ताहरूका लागि भने यो प्रयोग उत्साहभन्दा बढी निराशाको कारण बनेको छ।

जसपा नेपालका नेता शैलेन्द्र साह पनि अहिले एकताको वार्ता स्थगित अवस्थामा रहेको स्वीकार गर्छन्। उनका अनुसार अध्यक्षस्तरमा छलफल भए पनि अहिले दुवै दल आ–आफ्नो राजनीतिक प्राथमिकतामा केन्द्रित देखिएका छन्। उनले जसपा नेपालले पनि अन्य दलहरूसँग सहकार्य र एकताका लागि संवाद जारी राखेको जानकारी दिएका छन्।

यो प्रकरणले मधेस राजनीतिमा लामो समयदेखि उठ्दै आएको एउटा प्रश्न फेरि सतहमा आएको छ— विभाजित मधेसवादी शक्तिहरू कहिले एक ठाउँमा आउलान? जनमत र जसपा नेपालबीचको सम्भावित एकतालाई धेरैले त्यस प्रश्नको उत्तरका रूपमा हेरेका थिए। तर जनमत पार्टीले नयाँ मोर्चा निर्माणको बाटो रोजेपछि त्यो उत्तर अझै अनिश्चित बनेको छ।

अहिलेसम्म न त जसपा–जनमत एकताको ढोका पूर्ण रूपमा बन्द भएको छ, न त प्रक्रिया अपेक्षित गतिमा अगाडि बढिरहेको छ। तर यति भने स्पष्ट छ— एकताको प्रतीक्षामा रहेका हजारौँ नेता–कार्यकर्ता अहिले उत्साहभन्दा बढी अन्योल र निराशामा छन्। र त्यो निराशाको केन्द्रमा छन्, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट