निर्वाचन परिणामको धज्जी उडाउँदै रास्वपाले दुई जना केन्द्रीय सदस्य फेर्यो, के नियतवश हराइएका थिए पूजा र ध्रुव ?

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सकिएको केही दिनमै पार्टीको आन्तरिक निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। महाधिवेशनबाट निर्वाचित घोषणा गरिएका दुई जना केन्द्रीय सदस्यलाई हटाएर अर्का दुई उम्मेदवारलाई विजेता घोषणा गरिएपछि मतगणनाको त्रुटिमा मात्रै होईन, बरु निर्वाचन प्रक्रियाको विश्वसनीयतामै बहस केन्द्रित हुन थालेको छ।

गण्डकी प्रदेशतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवार रहेकी पूजा बास्तोला र जनजाति क्लस्टरतर्फका ध्रुव थापा मगर अन्ततः विजेता घोषित भए। तर प्रश्न उठेको छ— यदि उनीहरू नै वास्तविक विजेता थिए भने सुरुमै किन हार घोषित गरियो ? र यदि सुरुमा सार्वजनिक गरिएको नतिजा सही थियो भने केही दिनपछि त्यसलाई उल्ट्याउने आधार के थियो ?

विवादको सुरुवात गण्डकी प्रदेशको मतपरिणामबाट भयो। पूजा बास्तोलाले आफूले बढी मत प्राप्त गरेको दाबी गर्दै निर्वाचन समितिमा उजुरी दिएकी थिइन्। उनको आरोप थियो, आफूभन्दा कम मत ल्याएका उम्मेदवार सोम शर्मालाई विजयी घोषणा गरिएको छ। उजुरीपछि भएको छानबिनमा निर्वाचन समितिले मतगणनामा प्राविधिक त्रुटि भएको स्वीकार ग¥यो र परिणाम सच्यायो। त्यसपछि बास्तोला विजेता बनिन् भने यसअघि निर्वाचित घोषणा गरिएका सांसद सोम शर्मा केन्द्रीय समितिबाट बाहिरिए।

यहीबीच जनजाति क्लस्टरतर्फ पनि अर्को रोचक मोड आयो। सुरुमा कृष्णमान श्रेष्ठलाई निर्वाचित घोषणा गरिएको थियो। तर पछि उम्मेदवारी दर्ताका कागजात तथा विवरण पुनः परीक्षण गर्दा ध्रुव थापा मगर निर्वाचित हुनुपर्ने निष्कर्ष निकालियो। परिणामतः श्रेष्ठको स्थानमा ध्रुवलाई केन्द्रीय सदस्य घोषणा गरियो।

यही घटनाले अहिले रास्वपाभित्र मात्र होइन, बाहिर पनि अनेक प्रश्न जन्माएको छ। यदि मतगणना र उम्मेदवारी सम्बन्धी आधारभूत तथ्यहरू सुरुमै सही ढंगले परीक्षण गरिएको भए परिणाम उल्ट्याउनुपर्ने अवस्था किन आयो ? निर्वाचन सम्पन्न भएर विजेताको घोषणा, बधाई, सार्वजनिक स्वीकृति र केन्द्रीय समितिको तयारीसम्म पुगिसकेपछि मात्रै त्रुटि भेटिनु सामान्य प्रशासनिक कमजोरी हो वा गम्भीर लापरबाही ?

पार्टी नेतृत्व र निर्वाचन समितिले ‘प्राविधिक त्रुटि’ भन्दै विषय टुंग्याउने प्रयास गरे पनि आलोचकहरू भने यति ठूलो परिणाम परिवर्तनलाई सामान्य भूलका रूपमा लिन तयार छैनन्। किनकि यहाँ सामान्य अंकगणितीय गल्ती मात्र होइन, निर्वाचित र पराजितको हैसियत नै उल्टिएको छ।

विशेषगरी गण्डकी प्रदेशतर्फको परिणामले अर्को प्रश्न पनि जन्माएको छ— बढी मत ल्याउने उम्मेदवारलाई कम मत ल्याउनेभन्दा तल कसरी राखियो ? मतगणना प्रणाली, डाटा इन्ट्री वा नतिजा प्रमाणीकरणमध्ये कुन चरणमा त्रुटि भयो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

ध्रुव थापा मगरको मामिलामा पनि जिज्ञासा उस्तै छ। उम्मेदवारी दर्ताका क्रममा पेश गरिएका कागजातहरू निर्वाचनअघि नै उपलब्ध थिए भने ती कागजातको आधारमा विजेता निर्धारण गर्न केही दिन किन लाग्यो ? यदि सुरुमै कागजात अध्ययन भएको थियो भने त्रुटि कहाँ भयो ? र यदि अध्ययन नै भएको थिएन भने निर्वाचन व्यवस्थापनको स्तर कस्तो थियो ?

रास्वपाले आफुलाई वैकल्पिक राजनीतिक शक्ति, सुशासन र पारदर्शिताको पक्षधर दलका रूपमा प्रस्तुत गर्दै आएको छ। तर आफ्नै पहिलो महाधिवेशनको निर्वाचन परिणाम संशोधन गर्नुपरेको घटनाले पार्टीको संस्थागत क्षमतामाथि प्रश्न उठाएको छ।

निर्वाचन समितिले अन्ततः वास्तविक विजेतालाई न्याय भएको दाबी गरे पनि एउटा तथ्य भने स्थापित भएको छ— महाधिवेशन सकिएपछि पनि परिणाम अन्तिम थिएनन्। र त्यही कारण अहिले बहस केवल ‘कसले जित्यो’ भन्नेमा होइन, ‘सुरुमै किन हराइयो’ भन्ने प्रश्नमा केन्द्रित भएको छ।

रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयन ग¥यो, तर त्यससँगै अर्को प्रश्न पनि छाड्यो— यो केवल प्राविधिक त्रुटि थियो, वा पार्टीले अझै संस्थागत निर्वाचन प्रणालीलाई परिपक्व बनाउन धेरै दूरी तय गर्न बाँकी छ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट