गृहमन्त्रीका समर्थकद्वारा नायिका उषा रजकलाई मध्यरातमा फोनः स्क्रिनसर्ट शेयर गर्दै प्रहरी कार्यालयमा डेट गर्ने चेतावनी
काठमाडौँ— नेपाली चलचित्र अभिनेत्री उषा रजकले सामाजिक सञ्जालमार्फत एक व्यक्तिमाथि मध्यरातमा पटक–पटक फोन गरेर आफूलाई मानसिक तनाव दिएको आरोप लगाएकी छिन्। उनले फेसबुकमा च्याट र कल विवरणसहितको स्क्रिनसट सार्वजनिक गर्दै उक्त व्यवहारलाई ‘ह्यारेस्मेन्ट’ को संज्ञा दिएकी हुन्।
रजकले सार्वजनिक गरेको विवरणअनुसार ‘सन्जोक कार्की’ नाम प्रयोग गर्ने एक फेसबुक प्रयोगकर्ताले उनको सामाजिक सञ्जाल स्टोरीमा प्रतिक्रिया जनाएपछि सोही रात म्यासेन्जरमार्फत लगातार तीन पटक अडियो कल गरेको देखिन्छ। सार्वजनिक गरिएको स्क्रिनसटमा राति ३ः१९, ४ः०४ र ४ः२३ बजे कल आएको विवरण उल्लेख छ।
कार्की गृहमन्त्री सुधन गुरुङका समर्थक रहेको पनि उल्लेख गरिएको छ। यस घटनापछि रजकले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त व्यवहारप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत महिलामाथि हुने दुव्र्यवहारलाई सामान्य रूपमा नलिन आग्रह गरेकी छिन्।
उनले मध्यरातमा पटक–पटक फोन गर्नुको उद्देश्यबारे प्रश्न उठाउँदै यस्ता गतिविधिलाई प्रारम्भिक चरणको हिंसात्मक व्यवहारका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरेकी छिन्। उनले आईन्दा यसरी रातविरात फोन गरेर हैरानी दिए ‘प्रहरी कार्यालयमा डेट गर्ने’ चेतावनी समेत दिएकी छिन्। उनले लेखेकी छिन्,‘यदि फेरि राति मलाई फोन गर्ने सोचमा हुनुहुन्छ भने, हाम्रो डेट प्रहरी चौकीमा हुनेछ।’
रजकले आफ्नो पोस्टमा हिंसा र दुव्र्यवहारका साना घटनालाई बेवास्ता गर्दा भविष्यमा गम्भीर अपराधका रूप लिन सक्ने उल्लेख गरेकी छिन्। हिंसाविरुद्ध बोल्ने महिलालाई निरुत्साहित नगर्न तथा पीडितको पक्षमा उभिन पनि उनले आग्रह गरेकी छिन्।
उनले विगतमा आफूले रंगमञ्च क्षेत्रसँग सम्बन्धित ‘मी टु’ अभियानमा आवाज उठाउँदा सामना गर्नुपरेका आलोचनाको समेत स्मरण गर्दै महिलामाथि हुने हिंसाका विषयमा खुला बहस आवश्यक रहेको बताएकी छिन्।
सामाजिक सञ्जाल पोस्टमा उनले हालै सार्वजनिक बहसको विषय बनेको एक निजी च्याट प्रकरणलाई संकेत गर्दै व्यंग्यात्मक टिप्पणीसमेत गरेकी छन्। यद्यपि, उनको मुख्य आपत्ति मध्यरातमा आएको भनिएको फोन कल र त्यसले सिर्जना गरेको असहज परिस्थितिप्रति केन्द्रित रहेको देखिन्छ।
रजकले यस्ता घटनाबाट प्रभावित व्यक्तिहरूलाई नेपाल प्रहरीको साइबर ब्युरोसँग सम्पर्क गर्न आग्रह गर्दै हेल्पलाइन नम्बरसमेत सार्वजनिक गरेकी छिन्। उनले सामाजिक सञ्जालमा अवाञ्छित सम्पर्क, अनलाइन दुव्र्यवहार वा डिजिटल माध्यमबाट हुने उत्पीडनका घटनामा उजुरी दिन पीडितलाई प्रोत्साहित गरेकी छिन्।
घटनाबारे सार्वजनिक रूपमा आरोप लगाइएका सन्जोक कार्कीको प्रतिक्रिया भने समाचार तयार पार्दासम्म प्राप्त भएको छैन। आरोपबारे उनको धारणा प्राप्त भएमा समावेश गरिनेछ। रजकले उक्त व्यक्तिलाई सम्बोधन गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए कानुनी प्रक्रियामा जाने चेतावनीसमेत दिएकी छिन्।
उनले यस्ता घटनालाई व्यक्तिगत समस्या मात्र नभई सामाजिक चेतना र सार्वजनिक जिम्मेवारीसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने बताएकी छिन्।


