गुल्मीमा २४ वर्षीया युवतीले एकै पटक जन्माईन चार छोरीः दुईको मृत्यु, २ छोरी र आमा अस्पतालमा

काठमाडौँ— शनिबार बिहान गुल्मीको मदाने गाउँपालिका–५ मा एक असाधारण तर पीडादायी घटना घट्यो। २४ वर्षीया विष्णु विकले एकैपटक चार छोरीलाई जन्म दिइन्। तर यो खुसी पूर्ण रूपमा टिक्न पाएन। घरमै जन्मिएकी एक छोरी र अस्पताल पु¥याउने क्रममा बाटोमै जन्मिएकी अर्की छोरीको मृत्यु भयो।

अस्पतालमा जन्मिएका दुई नवजात छोरी भने उपचाररत छन् र उनीहरूको अवस्था सामान्य रहेको चिकित्सकहरुले जानकारी दिएका छन्। यो एउटा दुर्लभ चिकित्सकीय घटना मात्र होइन, ग्रामीण नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको पहुँच, आर्थिक अभाव र स्वास्थ्य पूर्वतयारीको अवस्थाबारे गम्भीर प्रश्न उठाउने घटना पनि हो।

शनिबार बिहान प्रसव पीडाले च्यापेपछि विष्णुले घरमै पहिलो बच्चा जन्माइन्। अवस्था जटिल बन्दै गएपछि परिवारले उनलाई उपचारका लागि अस्पताल लैजाने निर्णय ग¥यो। तर अस्पताल पुग्नुअघि नै बाटोमै दोस्रो बच्चाको जन्म भयो। त्यसपछि प्युठान अस्पताल, विजुवार पु¥याइएकी विष्णुले अस्पतालमै थप दुई छोरीलाई जन्म दिइन्।

प्युठान अस्पताल विकास समितिका अध्यक्ष रोयल कृष्ण (कृष्ण बसेल) का अनुसार चारमध्ये दुई नवजात शिशुको मृत्यु भएको छ भने अस्पतालमा जन्मिएका दुई छोरीको स्वास्थ्य अवस्था हाल स्थिर छ। सुत्केरी विष्णुको स्वास्थ्य अवस्था पनि निगरानीमा राखिएको अस्पतालले जनाएको छ।

परिवारका अनुसार तीन दिनअघि बुटवलमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले गर्भमा चार बच्चा रहेको जानकारी दिएका थिए। तर आर्थिक कठिनाइका कारण निरन्तर अस्पतालमा बसेर निगरानी र उपचार गराउन सम्भव नभएको विष्णुकी दिदी सिर्जना विक बताउँछिन्।

मल्टिपल प्रेग्नेन्सीलाई सामान्य गर्भावस्थाभन्दा बढी जोखिमयुक्त मानिन्छ। यस्ता अवस्थामा नियमित स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकको निगरानी र संस्थागत प्रसूति आवश्यक मानिन्छ। तर विष्णुको परिवार आर्थिक रूपमा कमजोर भएकाले सिफारिस गरिएअनुसारको स्वास्थ्य सेवा निरन्तर लिन सकेन।

विष्णुका श्रीमान् भारतको हिमाचल प्रदेशस्थित सिम्लामा मजदुरी गर्छन्। घरको आर्थिक अवस्था कमजोर भएकाले प्रसूति सेवाको पूर्ण व्यवस्थापन गर्न नसकिएको परिवारको भनाइ छ। विष्णुकी आमा पार्वती विक भन्छिन्, ‘हामीलाई सबैभन्दा ठूलो चिन्ता छोरीको ज्यान थियो। अहिले छोरी सकुशल छिन्, त्यही नै ठूलो कुरा हो।’

यो विष्णुको पहिलो सन्तान जन्माउने अनुभव भने होइन। यसअघि उनका ८ वर्ष र ६ वर्षका दुई छोरी छन्। यसपटकको गर्भावस्थाले भने परिवारलाई अप्रत्याशित परिस्थितिमा पु¥यायो। एकैपटक चार सन्तान जन्मनु आफैंमा दुर्लभ घटना मानिन्छ। तर त्यससँगै आउने स्वास्थ्य जोखिम, आर्थिक भार र उपचार व्यवस्थापनको चुनौती पनि उत्तिकै जटिल हुन्छ।

घटनापछि स्थानीय तह र स्वास्थ्य संस्थाले परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। मदाने गाउँपालिका र जिल्ला अस्पताल प्युठानले उपचार तथा आवश्यक स्वास्थ्य सेवामा सहयोग गर्ने बताएका छन्।

स्वास्थ्यकर्मीहरूका अनुसार यो घटना ग्रामीण क्षेत्रमा अझै पनि समयमै स्वास्थ्य संस्थासम्म पहुँच नपुग्ने, आर्थिक अभावका कारण नियमित परीक्षण हुन नसक्ने तथा जोखिमयुक्त गर्भावस्थाको व्यवस्थापनमा देखिने चुनौतीहरूको उदाहरण हो।

एकातिर दुर्लभ रूपमा चार छोरीलाई जन्म दिएकी आमाको जीवन जोगिएको छ, अर्कोतिर दुई नवजात शिशुको मृत्युले परिवारलाई गहिरो पीडामा छाडेको छ। अहिले अस्पतालको शैय्यामा रहेकी विष्णु र उनका दुई नवजात छोरीको उपचार जारी छ। परिवारका लागि अहिले सबैभन्दा ठूलो आशा भने बाँकी रहेका दुई सन्तानको सुरक्षित भविष्य र आमाको पूर्ण स्वास्थ्य लाभ नै हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट