साइबर हैरानीले देश छाड्न बाध्य भएको अभिनेत्री उषा रजकको दाबी, अष्ट्रेलिया पुगेको जानकारी

राजविराज– अभिनेत्री उषा रजकले आफूमाथि निरन्तर अनलाइनमा हैरानी र मानसिक दबाब सिर्जना गरिएको आरोप लगाउँदै केही समयका लागि अष्ट्रेलिया जान बाध्य भएको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै रजकले संजोक कार्की नाम गरेका व्यक्तिले मध्यरातमा पटक–पटक फोन र सन्देश पठाएर दुःख दिएको दाबी गरेकी हुन्।

रजकका अनुसार केही दिनअघि आफूले सोही विषयमा सार्वजनिक रूपमा बोलेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले सम्पर्क गरी उजुरी दर्ताका लागि कार्यालयमा बोलाएको थियो। तर, कार्कीले फोन र सन्देश पठाउन बन्द गरेपछि तत्काल उजुरी नदिने निर्णय गरेको उनले उल्लेख गरेकी छिन्। यद्यपि, बुधबार राति पुनः मेसेन्जरमार्फत फोन र सन्देश आउन थालेपछि आफूले फेरि असुरक्षित महसुस गरेको बताएकी छिन्।

उनले राति १ः३१ बजे नेपालबाट मेसेन्जर कल आएको स्क्रिनसटसमेत सार्वजनिक गर्दै आफूले ती सन्देशहरू नखोलेको उल्लेख गरेकी छिन्। ‘त्यहाँ अश्लील सामग्री, धम्की वा अन्य कुनै आपत्तिजनक कुरा हुन सक्छ भन्ने आशंकाले मैले मेसेजसमेत खोलेकी छैन,’ उनले लेखेकी छिन्।

रजकले ब्लक गर्नु मात्र समाधान नभएको जिकिर गर्दै यस्ता व्यक्तिहरूले नयाँ अकाउन्ट बनाएर पुनः हैरानी दिने गरेको दाबी गरेकी छिन्। ‘फोन गर्नु आफैंमा एउटा सन्देश हो, त्यो मानसिक दबाब र धम्कीको स्वरूप पनि हुन सक्छ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन्।

रजकले आफू डरका कारण नभई परिवारको आग्रह र सुरक्षासम्बन्धी चिन्ताका कारण अस्थायी रूपमा अष्ट्रेलिया गएको बताएकी छिन्। सामाजिक सञ्जालमा आफूविरुद्ध आएका गालीगलौज, धम्की र ट्रोलिङका कारण परिवारले नेपालबाहिर बस्न सुझाव दिएको उनको भनाइ छ।

‘मलाई व्यक्तिगत रूपमा डर थिएन, तर हाम्रो समाजमा अपराधीभन्दा पीडितले बढी दुःख भोग्नुपर्ने अवस्था देखेर परिवारले केही समय विदेश बस्न आग्रह ग¥यो,’ उनले लेखेकी छन्। उनका अनुसार यस घटनाक्रमका कारण आफूले दुई महिनादेखि तयारी गरिरहेको एक अन्तर्राष्ट्रिय समिटमा वक्ताका रूपमा सहभागी हुन पाइनन्। अर्को सातादेखि सुरु हुने भनिएको चलचित्रको छायांकनसमेत स्थगित गर्नुपरेको भन्दै उनले आयोजक तथा निर्माण टोलीसँग सार्वजनिक रूपमा क्षमा मागेकी छिन्।

रजकले संजोक कार्कीको राजनीतिक पहुँच रहेको दाबीसमेत गरेकी छिन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका केही सामग्रीलाई आधार बनाउँदै उनले कार्कीको सम्बन्ध वर्तमान गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव (पीए) जेम्स कार्कीसँग रहेको आरोप लगाएकी छिन्। उनले गृहमन्त्री गुरुङलाई सम्बोधन गर्दै लेखेकी छिन्, ‘कृपया यो व्यक्तिलाई मलाई हैरानी गर्नबाट रोक्नुहोस्। उसले ममाथि मात्र होइन, तपाईं र सरकारमाथि पनि प्रश्न उठ्ने वातावरण सिर्जना गरिरहेको छ। उत्पीडितहरूको रक्षा गर्ने प्रतिबद्धता व्यवहारमा देख्न चाहन्छु।’

यद्यपि, उक्त सम्बन्धबारे कुनै आधिकारिक पुष्टि सार्वजनिक भएको छैन। रजकले आफूले संजोक कार्कीबारे सार्वजनिक रूपमा बोलेपछि अन्य महिलाहरूले पनि आफूलाई सोही व्यक्तिबाट हैरानी भएको दाबी गर्दै स्क्रिनसटहरू पठाएको उल्लेख गरेकी छिन्। ती सामग्री सम्बन्धित व्यक्तिहरूको सहमतिपछि नेपाल फर्केर साइबर ब्यूरोमा बुझाउने योजना रहेको उनको भनाइ छ। ‘मलाई अहिले न्याय चाहिएको छ,’ उनले आफ्नो वक्तव्यको अन्त्यमा लेखेकी छिन्।

रजकले साइबर ब्यूरोले उजुरी दर्ताका लागि बोलाएको दाबी गरे पनि उक्त घटनाबारे नेपाल प्रहरीको साइबर ब्यूरोको आधिकारिक धारणा सार्वजनिक भएको छैन। त्यसैगरी, आरोपित संजोक कार्की, जेम्स कार्की वा गृहमन्त्री सुदन गुरुङको सचिवालयबाट पनि यस विषयमा कुनै प्रतिक्रिया आएको छैन।

आरोप गम्भीर प्रकृतिको भएकाले सम्बन्धित निकायको अनुसन्धान र सम्बद्ध पक्षहरूको धारणा सार्वजनिक भएपछि मात्र घटनाको थप यथार्थ स्पष्ट हुने देखिएको छ। अहिलेका लागि रजकले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका दाबीहरू नै घटनाको मुख्य आधार बनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट