दिल्लीबाट घर फर्किंदै गरेका दुई नेपाली युवकको भारतमा सडक दुर्घटनामा मृत्यु

काठमाडौँ– भारतको उत्तराखण्ड राज्यमा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा कञ्चनपुरका दुई नेपाली युवकको मृत्यु भएको छ। दिल्लीबाट घर फर्किंदै गरेका दोधारा चाँदनी नगरपालिका–८ का राहुल चदारो र वडा नम्बर–९ का कमल खड्काको दुर्घटनामा परी ज्यान गएको हो।

दुर्घटना शुक्रबार उत्तराखण्डको उधमसिंह नगर जिल्लाअन्तर्गत नानकमत्ता क्षेत्रको बिडोरा–मझोला सडकखण्डमा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। तीव्र गतिमा रहेको कारले मोटरसाइकललाई ठक्कर दिँदा दुवै युवक गम्भीर घाइते भएका थिए।

उनीहरूलाई तत्काल उपचारका लागि सितारगन्जस्थित सामुदायिक स्वास्थ्य केन्द्र लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जनाइएको छ। दुवै युवक भारतको राजधानी दिल्लीमा रोजगारीका लागि बस्दै आएका थिए। घर फर्किने क्रममा एउटै मोटरसाइकलमा सवार रहेका बेला उनीहरू दुर्घटनामा परेका हुन्।

दुर्घटनापछि शवहरू हाल अस्पतालमै राखिएको छ। मृतकका परिवारजन र स्थानीय जनप्रतिनिधिहरू घटनास्थल पुगिसकेको तथा पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि शनिबार नै शव नेपाल ल्याउने तयारी गरिएको छ।

दोधारा चाँदनी नगरपालिका–९ का वडाध्यक्ष गोपीलाल कँडेलले दुर्घटनाको जानकारी प्राप्त हुनासाथ आफन्तसहित घटनास्थल पुगेको बताए। उनका अनुसार दुर्घटनामा संलग्न कार चालक घटनापछि फरार भएका छन्।

‘दुर्घटनाको खबर पाएपछि हिजो नै आफन्तसहित त्यहाँ पुगेका थियौँ। शव पोस्टमार्टमका लागि राखिएको छ,’ कँडेलले भने। उनले कार चालकविरुद्ध भारतीय प्रहरीमा एफआईआर दर्ता गर्ने तयारी भइरहेको पनि जानकारी दिए।

दोधारा चाँदनी नगरपालिका–८ का वडाध्यक्ष ओमप्रकाश रोकायाले पोस्टमार्टम प्रक्रिया पूरा भएपछि शव शनिबार नै नेपाल ल्याइने बताए। दुर्घटना भएको क्षेत्र नेपाल–भारत सीमावर्ती दोधारा चाँदनी क्षेत्रबाट नजिकै पर्ने भएकाले स्थानीय तहका जनप्रतिनिधि र आफन्तहरू घटनापछि तत्काल भारत पुगेका छन्।

कार चालक फरार रहेकाले भारतीय प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट