धरानमा शिक्षक माग्दै सुरु भएको आन्दोलनमा कस्ले दियो फिनेल, रोजनले के खाए ? यस्तो छ भित्रको कथा
राजविराज– धरानमा दुई विद्यालयमा शिक्षक चाहियो भनेर सुरु भएको विद्यार्थी आन्दोलन नगरपालिकाको ताला तोड्ने तह हुँदै एक विद्यार्थीले फिनेल सेवन गरेको घटनासम्म पुग्यो। त्यसपछि प्रश्न शिक्षक नियुक्तिको मात्रै रहेन—अनशनस्थलमा फिनेल कसले पु¥यायो, आन्दोलनभित्र को–को सक्रिय थिए र लामो समयदेखि चलिरहेको कार्यवाहक नगर प्रमुख, वडाध्यक्ष र विद्यालय व्यवस्थापनबीचको विवादले यो आन्दोलनलाई कति प्रभावित ग¥यो भन्ने प्रश्नसमेत उठेको छ।
धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले रिक्त शिक्षक दरबन्दी तत्काल पूर्ति गर्ने, बिदामा रहेका शिक्षकको स्थानमा अस्थायी वा वैकल्पिक व्यवस्था गर्ने र आन्दोलनका क्रममा बिरामी भएका विद्यार्थीको उपचारको जिम्मेवारी उपमहानगरपालिकाले लिने प्रतिबद्धता जनाएपछि विद्यार्थीहरूले नगरका विभिन्न कार्यालयमा लगाएको ताला खोलेका छन्।
बाल सञ्जाल अध्यक्ष मानव गदाइलीसहितका विद्यार्थीहरूले मंगलबार बिहान नगर प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, शिक्षा महाशाखा तथा धरान–६ र धरान–११ वडा कार्यालयमा लगाएको ताला खोलेका हुन्। यसअघि नै ताला खोल्ने सहमति बने पनि विभिन्न समूहबाट नखोल्न दबाब आएपछि प्रक्रिया रोकिएको गदाइलीले बताएका छन्।
तर ताला खुले पनि घटनाको अर्को पाटो टुंगिएको छैन। अनशनमा बसेका बाल सञ्जाल प्रतिनिधि रोजन शङ्करले फिनेल सेवन गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका छन्। आन्दोलनकै क्रममा भएको यो घटनापछि सबैभन्दा पहिले उठेको प्रश्न हो—फिनेल अनशनस्थलसम्म पुग्यो कसरी?
यसको आधिकारिक उत्तर अहिलेसम्म सार्वजनिक भएको छैन। सर्वपक्षीय बैठकमा शरिन तामाङले आफूलाई सञ्चिता धमलाले फोन गरेर ‘अनशन बसेका रोजनले आत्मदाह गर्ने भन्दै फिनेल सेवन गर्दैछन्’ भनेर जानकारी दिएको बताएकी थिइन्। त्यसपछि आफूले रोजनलाई फोन गरेर त्यस्तो नगर्न आग्रह गरेको र तत्काल अनशनस्थल पुगेको केही समयमै रोजनले फिनेल सेवन गरेको तामाङको भनाइ थियो।
उता, घटनापछि सार्वजनिक भएका केही भिडियो र सामाजिक सञ्जालमा आएका दाबीले घटनालाई थप जटिल बनाएका छन्। एउटा सार्वजनिक भिडियोमा आन्दोलनमा सहभागी एक युवकले आफूले सञ्जिता धमलाको कुरामा लागेर फिनेल ल्याई रोजनलाई दिएको दाबी गरेका छन्। धमलाले नै उक्त काम गर्न भनेको दाबी उनको छ।
त्यसैले अहिलेको अवस्थामा भिडियोमा आएका भनाइलाई अनुसन्धानको विषयका रूपमा लिनुपर्ने हुन्छ, निष्कर्ष निकाली हाल्न भने मिल्दैन। त्यसका पनि अनेक पाटा हुनसक्छन। त्यसैले स्वतन्त्र रुपमा अनुशन्धान गर्ने निकायले बयान नलिएसम्म उनको भनाईलाई पनि आधिकारिक मान्न सकिन्न। घटनामा कसले के भूमिका खेले भन्ने यकिन गर्न सिसिटिभी फुटेज, फोन सम्पर्क, सन्देश, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणको परीक्षण आवश्यक छ।
यसैबीच रोजनले पिएको वस्तु वास्तवमै फिनेल थियो कि थिएन भन्ने प्रश्नसमेत उठेको छ। कतिपयले सामाजिक सञ्जालमा बोतल कोकाकोलाको भएको र भित्रको मही भरिएको शंका गरेका छन्। बाल सञ्जाल अध्यक्ष मानव विश्वकर्माले पनि बोतल हेर्दा कोकाकोलाकै जस्तो देखिए पनि भित्र सेतो तरल पदार्थ रहेको र आफूले पनि त्यो वस्तु के हो भन्ने यकिन गर्न नसकेको बताएका छन्।
‘हेर्दाखेरी बोतल कोकाकोलाकै थियो, तर भित्र सेतो तरल पदार्थ थियो,’ उनको भनाइ छ, ‘म पनि अहिले ठ्याक्कै यही वस्तु हो भनेर भन्न सक्दिनँ। अनुसन्धान गर्ने निकायले भन्ला वा अस्पतालको रिपोर्टबाट खुल्ला।’ अर्थात् प्रयोग गरिएको पदार्थको यकिन पहिचान पनि परीक्षणबाटै हुनुपर्ने अवस्था छ।
कार्यवाहक नगर प्रमुख बेघाले भने अनशनस्थलमा फिनेल कसरी पुगेको भन्ने विषय सिसिटिभी फुटेज हेरेर सार्वजनिक गर्ने बताएका छन्। त्यसैले घटनाको वास्तविकता पत्ता लगाउने पहिलो ठोस आधार अहिले सिसिटिभी फुटेज र त्यसपछि आवश्यक अन्य अनुसन्धान बन्न पुगेको छ।
तर फिनेलको बोतलसम्म पुगेर मात्रै यो कथा बुझिँदैन। यसको जरा धरान–६ को सरस्वती माध्यमिक विद्यालय र धरान–११ को ज्ञानोदय माध्यमिक विद्यालयमा लामो समयदेखि रहेको शिक्षक अभावसम्म पुग्छ।
सरस्वती माविमा सामाजिक विषयको शिक्षक दरबन्दी लामो समयदेखि रिक्त थियो। ज्ञानोदय माविमा पनि विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित भएको विद्यार्थीको गुनासो थियो। सरस्वतीमा सामाजिक शिक्षकको पद आठ महिनादेखि रिक्त रहेको र ज्ञानोदयमा नेपाली तथा सामाजिक विषयका शिक्षकको अभाव रहेको विषय यसअघि नै सार्वजनिक भएको थियो। परीक्षा नजिकिँदै जाँदा विषयगत शिक्षक नहुँदा आफ्नो पढाइ र भविष्य प्रभावित भएको भन्दै उनीहरूले तत्काल शिक्षक व्यवस्थापनको माग राखे।
माग सम्बोधन नभएपछि विद्यार्थीहरू उपमहानगरपालिका घेराउमा उत्रिए। नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी भयो। बाल सञ्जालका प्रतिनिधिसहित रोजन शङ्कर, निर्जल भण्डारी, सागर तामाङ र मुक्साङ लिम्बु अनशनमा बसे। आन्दोलन थप चर्किएपछि कार्यवाहक नगर प्रमुख बेघाको पुत्लासमेत दहन गरियो।
बेघाले भने विद्यार्थीको माग जायज भए पनि ध्यानाकर्षणपत्र वा औपचारिक मागपत्र नदिई एक्कासि तालाबन्दी र अनशनजस्तो संवेदनशील कदम चालिएको बताएका थिए। उनले विद्यार्थीलाई तेस्रो पक्षले उक्साएको आरोपसमेत लगाएका थिए। नगरपालिकाको दाबीअनुसार समस्या समाधानको प्रक्रिया त्यसभन्दा अगाडिदेखि नै चलिरहेको थियो।
प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईका अनुसार दुवै विद्यालयलाई रिक्त शिक्षक दरबन्दीमा नियुक्ति प्रक्रिया अघि बढाउन भदौ ९ गते नै पत्राचार गरिएको थियो। सरस्वती माविलाई सामाजिक विषयको रिक्त दरबन्दीमा स्थायी शिक्षक नआउन्जेल आवेदन माग गरी योग्य उम्मेदवार छनोट गर्न भनिएको थियो।
ज्ञानोदय माविमा माध्यमिक तह द्वितीय श्रेणीसरहको नेपाली विषयको रिक्त दरबन्दीमा तत्काल शिक्षक नियुक्त गर्न तथा गणित विषयका शिक्षक शान्ति यादव प्रसूति बिदामा रहेकाले सो अवधिका लागि समेत शिक्षक व्यवस्था गर्न निर्देशन दिइएको थियो।
शिक्षक छनोटका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्षको संयोजकत्वमा प्रधानाध्यापकले तोकेको विषय विज्ञ, शिक्षा अधिकृत र प्रधानाध्यापक सदस्य–सचिव रहने गरी छनोट समिति गठन गर्नुपर्ने व्यवस्था पनि पत्रमा उल्लेख थियो। तर पत्राचारले मात्रै विद्यार्थीको आन्दोलन रोकिएन। उनीहरूको भनाइ थियो—कागजमा निर्देशन होइन, कक्षाकोठामा शिक्षक चाहियो।
यहीँबाट धरानको पुरानो स्थानीय शक्ति–संघर्ष पनि यो घटनासँग जोडिन थालेको देखिन्छ। धरान–६ का वडाध्यक्ष भूपेन्द्र भट्टराई र कार्यवाहक नगर प्रमुख बेघाबीच केही समयदेखि विभिन्न विषयमा सार्वजनिक मतभेद देखिँदै आएको थियो। शिक्षक नियुक्तिको विषयमा दुवै पक्षबीच आरोप–प्रत्यारोपसमेत सार्वजनिक भइसकेको थियो।
भदौमा वडाध्यक्ष भट्टराईले सरस्वती माविमा शिक्षक र लेखापालको पदपूर्ति नहुँदा पठनपाठन प्रभावित भएको भन्दै नगरपालिकामाथि प्रश्न उठाएका थिए। बेघाले भने शिक्षक नियुक्ति रोकिएको आरोप अस्वीकार गर्दै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक पक्षबीचको आन्तरिक विवादले समस्या जटिल भएको बताएका थिए।
यही विवादको अर्को तह नदीजन्य पदार्थ, विकास बजेट र वडा–नगर सम्बन्धसँग जोडिएको आरोपसमेत छ। नगरपालिका स्रोतको दाबीअनुसार वडा नम्बर ६ अन्तर्गत सेरा र सर्दु खोलाबाट नदीजन्य पदार्थको ठेक्का लगाउने विषयमा भट्टराईले बेघासमक्ष प्रस्ताव राखेका थिए। बेघाले अस्वीकार गरेपछि दुवैबीच असन्तुष्टि बढेको र भट्टराईले बेघाविरुद्ध पत्रकार सम्मेलनसमेत गरेको स्रोतको दाबी छ। सामाजिक सञ्जाल तथा स्थानीय सार्वजनिक बहसमा वडाध्यक्ष र कावा मेयरबीच अन्य विषयमा पनि टकराव रहेको चर्चा हुँदै आएको छ।
तर भट्टराईले भने विद्यार्थी आन्दोलनसँग विकास निर्माण वा नदीजन्य पदार्थको विवाद जोडिएको कुरा अस्वीकार गरेका छन्। उनका अनुसार उनको विवाद केवल शिक्षक नियुक्तिसँग सम्बन्धित हो। ‘८ महिनादेखि शिक्षक नपठाएको विषयमा उहाँसँग मेरो विवाद भएको हो। अरू सबै कुरा अफवाह हुन्,’ उनले भनेका छन्, ‘कानुनी रूपमा हामीलाई शिक्षक चाहियो। नगरपालिकाले नाम तोकेर पठाएको शिक्षक हामीलाई चाहिँदैन भनेर भनेको हो।’
विद्यालयमा सरुवा गरेर शिक्षक पठाउने विषयमा प्रधानाध्यापक होमनाथ दाहालले असहमति जनाएको विषयबारे पनि भट्टराईले आरोप मात्रै भएको भन्दै प्रतिवाद गरेका छन्। उनले शिक्षक अभाव समाधानका विषयमा भएको विवादलाई नै आफ्नो र नगर प्रमुखबीचको मुख्य मतभेद भएको दाबी गरे।
यसअघि सरस्वती माविको व्यवस्थापन समितिको विषयमा पनि विवाद थियो। तत्कालीन मेयर हर्क साम्पाङको कार्यकालमा पुरानो व्यवस्थापन समिति खारेज गरी मेयरको अध्यक्षतामा अस्थायी समिति गठन गरिएको थियो। साम्पाङ प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार भएपछि कावा मेयर बेघा उक्त समितिको अध्यक्ष बनेका थिए। पछि व्यवस्थापन समिति गठनको विषय अदालतसम्म पुगेको र पुरानो समिति पुनःस्थापनाको अवस्था आएको बताइएको छ।
यसरी शिक्षक नियुक्तिको एउटा सामान्य प्रशासनिक प्रश्न विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, वडा र नगर नेतृत्वबीचको विवादसँग जोडिँदै गयो। त्यसैबीच विद्यार्थी आन्दोलन सुरु भयो। आन्दोलन चर्कँदै जाँदा रोजन शङ्करले फिनेल सेवन गरे। घटनापछि सामाजिक सञ्जालमा यो सामान्य विद्यार्थी आन्दोलनभन्दा बाहिरको विषय भएको दाबीहरू आउन थाले। कतिपयले आन्दोलन योजनाबद्ध रूपमा अघि बढाइएको हुनसक्ने आशंका व्यक्त गरे। केही नगरपालिका स्रोतले समेत आन्दोलनमा विभिन्न स्वार्थ समूह सक्रिय भएको दाबी गरे।
तर त्यस्तो योजनाबद्धताको स्वतन्त्र र आधिकारिक पुष्टि भने अहिलेसम्म भएको छैन। बरु घटनापछि सार्वजनिक आरोपको अर्को केन्द्रमा सञ्जिता धमला परेकी छन्। धमलामाथि फिनेल उपलब्ध गराउने वा विद्यार्थीलाई त्यसतर्फ उक्साउने भूमिका रहेको दाबी केही सार्वजनिक भिडियो र सामाजिक सञ्जाल सामग्रीबाट गरिएको छ। पछिल्ला सार्वजनिक विवरणमा आन्दोलनरत विद्यार्थी सौगात विकले धमलाबाट फिनेल लिएर रोजनलाई दिएको दाबी गरेको उल्लेख छ। यसबारे थप अनुसन्धान आवश्यक छ।
धमलाले भने सामाजिक सञ्जालमार्फत यी आरोप अस्वीकार गरेकी छिन्। उनले कसैको स्वार्थका लागि निर्दोष भाइको भविष्य, स्वाभिमान र मान–सम्मानलाई मोहरा बनाइन नहुने बताउँदै आफू घटनाको सत्य र प्रमाण बाहिर ल्याउने पक्षमा रहेको उल्लेख गरेकी छिन्। आफू पत्रकार, समाजशास्त्र तथा राजनीतिशास्त्रकी विद्यार्थी र जिम्मेवार नागरिक भएकाले रोजनको सुरक्षा, स्वाभिमान र भविष्यप्रति सचेत रहेको उनको भनाइ छ।
उनले आफूलाई कुनै राजनीतिक स्वार्थका लागि कसैको भविष्यसँग खेलवाड स्वीकार्य नहुने बताउँदै तथ्य र प्रमाण क्रमशः बाहिर आउने र कुनै निर्दोष व्यक्ति क्षतिमा नपरोस् भन्नेमा आफू प्रतिबद्ध रहेको उल्लेख गरेकी छिन्। अर्थात्, धमलाको भनाइमा उनी घटनाकी योजनाकार होइनन, बरु घटनामा निर्दोष विद्यार्थीलाई प्रयोग गरिएको हुनसक्ने विषयमा आफू चिन्तित रहेको बताउँछिन्। यो दाबी र उनीमाथि लगाइएको आरोपबीचको सत्यता भने अनुसन्धानबाटै छुट्याउनुपर्ने हुन्छ।
यता वडाध्यक्ष भट्टराईले प्रारम्भिक रूपमा विद्यार्थी आन्दोलन र रोजनले फिनेल सेवन गरेको विषय आफूलाई जानकारी नभएको बताए। तर शिक्षक नियुक्ति, विद्यालय व्यवस्थापन र नगरसँगको विवादबारे प्रश्न गर्दा उनले आफ्नो धारणा स्पष्ट पारे। उनले विद्यार्थी आन्दोलनलाई विकास बजेट वा नदीजन्य पदार्थको विवादसँग जोड्न नहुने र आफ्नो विवाद शिक्षक व्यवस्थापनकै विषयमा सीमित रहेको बताएका छन्।
यसले अहिले धरानको घटनालाई दुई तहमा उभ्याएको छ। पहिलो तहमा विद्यार्थीको स्पष्ट र प्रमाणित माग छ—कक्षाकोठामा विषयगत शिक्षक चाहियो। शिक्षक अभावका कारण लामो समयदेखि पढाइ प्रभावित भएको विद्यार्थीको गुनासो छ। यही मागका कारण आन्दोलन सुरु भयो र अन्ततः उपमहानगरपालिकाले तत्काल शिक्षक व्यवस्थापन गर्ने प्रतिबद्धता जनायो।
दोस्रो तहमा भने आन्दोलनभित्रको सम्भावित राजनीतिक तथा व्यक्तिगत स्वार्थको प्रश्न छ—फिनेल अनशनस्थलसम्म कसले पु¥यायो? रोजनले वास्तवमा के सेवन गरे? कसले कसलाई के गर्न भन्यो? सार्वजनिक भिडियोमा आएका दाबी कति सत्य हुन? सञ्जिता धमलाको भूमिका के थियो ? विद्यार्थी आन्दोलनमा अन्य व्यक्ति वा समूहको भूमिका थियो कि थिएन? र लामो समयदेखि चलिरहेको वडा–नगर तथा विद्यालय व्यवस्थापनको विवादले आन्दोलनलाई प्रभावित गरेको थियो कि थिएन? यी प्रश्नको उत्तर अहिले सामाजिक सञ्जालका दाबीले होइन, प्रमाणले दिनुपर्ने अवस्था छ।
कार्यवाहक नगर प्रमुख बेघाले सिसिटिभी फुटेज सार्वजनिक गर्ने बताएका छन्। यदि फुटेजमा फिनेल बोकेर अनशनस्थल प्रवेश गर्ने वा कसैलाई हस्तान्तरण गर्ने गतिविधि देखिन्छ भने त्यसले घटनाको अनुसन्धानलाई महत्वपूर्ण दिशा दिन सक्छ। त्यससँगै अस्पतालको परीक्षण रिपोर्टले रोजनले सेवन गरेको वस्तुबारे उठेको प्रश्नको उत्तर दिन सक्छ।
सबैभन्दा महत्वपूर्ण कुरा, शिक्षक माग्दै सुरु भएको विद्यार्थी आन्दोलनलाई कुनै व्यक्ति वा समूहको राजनीतिक स्वार्थको साधन बनाइएको हो वा होइन भन्ने निष्कर्षमा पुग्नुअघि प्रमाण आवश्यक छ। किनकि अहिले धरानमा दुईवटा विषय एकै ठाउँमा गाँसिएका छन— विद्यार्थीको पढ्न पाउने अधिकार र त्यो अधिकारका नाममा भइरहेको आन्दोलनको भित्री राजनीति।
उपमहानगरपालिकाले शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएर तत्कालको दबाब कम गरेको छ। विद्यार्थीले ताला खोलेका छन्। तर सहमति कार्यान्वयनको परीक्षा अब सुरु भएको छ। त्यसभन्दा पनि ठूलो परीक्षा भने फिनेल प्रकरणको छ।
यदि फिनेल कहाँबाट आयो, कसले ल्यायो, कसलाई दिइयो र घटनाअघि के–के संवाद भएका थिए भन्ने तथ्य प्रमाणसहित बाहिर आउँछन् भने आन्दोलनको वास्तविक पृष्ठभूमि बुझ्न सजिलो हुनेछ। तर यदि सिसिटिभी, परीक्षण र अनुसन्धानबिनै सामाजिक सञ्जालका आरोपलाई निष्कर्ष मानियो भने एउटा विद्यार्थीको भविष्यसँग जोडिएको घटनालाई फेरि अर्को राजनीतिक विवादको इन्धन बनाउने जोखिम रहन्छ।
धरानका विद्यार्थीले उठाएको शिक्षकको प्रश्न वास्तविक हो। त्यसको समाधान शिक्षक नियुक्तिबाटै हुनुपर्छ। तर रोजन शङ्करले सेवन गरेको भनिएको पदार्थ र त्यसलाई अनशनस्थलसम्म पु¥याउने प्रक्रियाको प्रश्न पनि त्यत्तिकै वास्तविक छ। अब धरानलाई चाहिएको अर्को आन्दोलन होइन—कक्षाकोठामा शिक्षक र फिनेल प्रकरणमा प्रमाणसहितको सत्य हो।

