पेट्रोल छर्केर आत्मदाह प्रयास गर्ने सर्लाहीका ४२ वर्षीय पुरुषको अवस्था गम्भीर
सर्लाही— सर्लाहीको गोडैता नगरपालिकामा एक ४२ वर्षीय पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका छन्। आगलागीबाट शरीरको अधिकांश भाग जलेपछि उनको अवस्था गम्भीर बनेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–१० निवासी विवेक मण्डलले शुक्रबार शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्। घटनापछि गम्भीर घाइते भएका मण्डललाई तत्काल उद्धार गरी मलंगवा अस्पतालमा भर्ना गरिएको छ।
सर्लाही प्रहरीका डीएसपी बेदप्रसाद गौतमका अनुसार आगोले मण्डलको शरीरका अधिकांश भाग जलेको छ। उनको अवस्था जटिल रहेकाले थप विशेषज्ञ उपचारका लागि काठमाडौं रेफर गर्ने प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको छ। मण्डलले किन यस्तो कदम चाले भन्ने विषयमा अनुसन्धान सुरु गरिएको डीएसपी गौतमले जानकारी दिए।
यो घटना काठमाडौंमा मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको घटनाको भोलिपल्ट सार्वजनिक भएको हो। त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा बिहीबार आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।
सर्लाहीमा भएको पछिल्लो घटनाबारे प्रहरीले पारिवारिक, सामाजिक तथा अन्य सम्भावित कारणहरूसमेतलाई आधार बनाएर अनुसन्धान गरिरहेको जनाएको छ। हाल विवेक मण्डलको स्वास्थ्य अवस्थामाथि चिकित्सकहरूको निगरानी जारी छ।

