सप्तरीमा बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गर्ने दुई जना पक्राउ

राजविराज — सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बनौलामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको अभियोगमा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाविरुद्ध बोक्सी आरोपसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार डाक्नेश्वरी नगरपालिका–१० बनौलाका ३८ वर्षीय जिवछ प्रसाद साह र ३२ वर्षीय अजय मण्डललाई बिहीबार पक्राउ गरिएको हो। उनीहरू गत वैशाख २९ गते भएको घटनापछि फरार थिए।

प्रहरीका अनुसार वैशाख २९ गते बिहान करिब १० बजे बनौला क्षेत्रमा ती व्यक्तिहरूले एक महिलामाथि बोक्सीको आरोप लगाउँदै अश्लील शब्द प्रयोग गरेका थिए। त्यसक्रममा विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा पीडित घाइते भएकी थिइन्।

घटनापछि पीडित रेखा कुमारी मण्डलको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा मुद्दा दर्ता गरिएको थियो। त्यसयता फरार रहेका प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा असार २६ गते उनीहरूलाई बनौलाबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेले जानकारी दिए।

प्रहरीका अनुसार बोक्सीको आरोप लगाउने तथा त्यसका आधारमा दुव्र्यवहार वा हिंसात्मक गतिविधि गर्ने कार्य कानुनविपरीत भएकाले घटनासम्बन्धी थप अनुसन्धान जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट