नगर प्रहरीको मोबाइल खसेको आक्रोशले एक नेपालीको ज्यान लियो, अपमानको बदला गणेशले ज्यान दिएर चुकाए

काठमाडौँ– बिहीबार बिहान ५ बजे भक्तपुरको कमलविनायकस्थित डेराबाट निस्कँदा २५ वर्षीय गणेश नेपालीले कल्पना पनि गरेका थिएनन्– आजको दिन उनको जीवनको अन्तिम दिन बन्नेछ। भाउजूलाई उनले भनेका थिए— ‘दिउँसो आउँछु, खाना बनाइराख्नू।’

तर दिउँसो घर फर्किएनन्। बरु परिवारले एउटा फोन प्राप्त गर्‍यो— गणेशले काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। शुक्रबार बिहान ११ः२० बजे वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो। तर उनको मृत्युसँगै एउटा गम्भीर प्रश्न बाँकी रह्यो— के यो केवल पार्किङको विवाद थियो ? कि वर्षौंको आर्थिक तनाव, बेरोजगारी, संस्थागत कठोरता, अपमानको अनुभूति र क्षणिक मानसिक विस्फोटको दुःखद अन्त्य ?

गणेशको मृत्युले अहिले काठमाडौँ महानगरपालिका, नगर प्रहरीको कार्यशैली, राज्य संयन्त्रको संवेदनशीलता र समाजभित्र मौन रूपमा बढिरहेको निराशामाथि एकैपटक बहस सुरु गरिदिएको छ। गणेश मुगुको सोरु गाउँपालिका–१ का हुन्। कृषितर्फ जुनियर टेक्निकल असिस्टेन्ट (जेटिए) अध्ययन गरेका उनले सरकारी सेवामा प्रवेश गर्ने सपना देखेका थिए। लोकसेवा आयोगका परीक्षा पनि दिएका थिए। तर सफलता हात परेन।

उनका बुबाले सिलाइ गरेर परिवार चलाउँथे। दुई छोरालाई प्राविधिक शिक्षा पढाए। तर पाँच वर्षअघि बुबाको आँखाको ज्योति गुमेपछि परिवारको आर्थिक आधार कमजोर बन्यो। त्यसपछि गणेशमाथि जिम्मेवारी थपिँदै गयो। चार वर्षअघि विवाह भयो। दुई वर्षअघि छोरी जन्मिइन्। गाउँमा बुढा बाबुआमा थिए। काठमाडौंमा श्रीमती र सानी छोरी।

अन्ततः उनले राइड सेयरिङ प्लेटफर्ममार्फत मोटरसाइकल चलाउन थाले। मुगुको पुख्र्यौली जग्गा धितो राखेर किस्तामा मोटरसाइकल किनेका थिए। बिहान सबेरै निस्किने, राति अबेर फर्किने उनको दिनचर्या थियो। तर त्यसले पनि परिवार धान्न पर्याप्त हुन छाड्यो। त्यसैले उनी विदेश जाने निर्णयमा पुगे। त्यही निर्णयको पहिलो औपचारिक कदम थियो— राहदानी बनाउने।

बिहीबार बिहान उनी यात्रु बोकेर त्रिपुरेश्वर पुगे। त्यसपछि राहदानी विभागमा पासपोर्टसम्बन्धी जानकारी लिन छिरे। बाहिर निस्कँदा भने उनको जीवनको दिशा नै बदलिसकेको थियो। घटनाको केन्द्रमा छ राहदानी विभागको २ र ३ नम्बर गेटबीचको क्षेत्र। प्रत्यक्षदर्शी, प्रहरी विवरण र सार्वजनिक भएका विभिन्न सिसिटिभी तथा मोबाइल फुटेजहरूलाई जोड्दा एउटा घटनाक्रम स्पष्ट देखिन्छ।

गणेशले मोटरसाइकल रोकेर केही समय बसेका थिए। काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली त्यहाँ पुग्यो। एक महिला नगर प्रहरीले उनलाई त्यहाँ बस्न नमिल्ने भन्दै हटाउन खोजिन्। गणेशसहित अन्य राइडरहरूलाई विभागको २ नम्बर गेटबाट धपाउँदै ३ नम्बर गेटतर्फ लगिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।

त्यही क्रममा दुवै पक्षबीच भनाभन सुरु भयो। विवाद बढ्दै जाँदा महिला नगर प्रहरीको मोबाइल भुइँमा खस्यो। त्यो मोबाइल कसरी खस्यो भन्ने विषय अझै स्पष्ट छैन। तर त्यसपछि घटनाले नयाँ मोड लियो। महिला नगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्विल लक लगाइदिइन्।

पछि सार्वजनिक भएको भिडियोमा गणेशको आवाज सुनिन्छ— ‘बाइकमा बसेको बेला लक लगाउँछ ?’ जवाफमा महिला नगर प्रहरी भन्छिन— ‘नमिल्ने ठाउँमा रोकेपछि लक नलगाएर माला लगाउने ?’ गणेशको अर्को प्रश्न थियो— ‘म हिँड्न लागेको थिएँ।’

तर नगर प्रहरीको जोड मोबाइल फुटेको विषयमा देखिन्छ। उनी बारम्बार भन्छिन— ‘मेरो मोबाइल फुटाएको कसले ? मोबाइल किन फालेर आएको ?’ यही संवाद अहिले देशभर बहसको विषय बनेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विवादपछि तुरुन्तै आत्मदाह भएको थिएन। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार विवाद र आत्मदाहबीच करिब दुई घण्टाको अन्तर थियो।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार गणेश त्यस अवधिभर मोटरसाइकल वरिपरि घुमिरहे। केहीबेरपछि उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर एउटा बोतलमा भरे। तर कसैले त्यसलाई सम्भावित त्रासदीको संकेतका रूपमा लिएन। दिउँसो करिब १ः४० बजेतिर महानगरपालिकाको मोटरसाइकल उठाउने ट्रक घटनास्थलमा पुग्यो। त्यसपछि घटनाले भयावह रूप लियो।

सिसिटिभी फुटेजमा गणेश अचानक आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको देखिन्छ। एकाएक उनको शरीरमा आगो दन्कियो। त्रिपुरेश्वरको व्यस्त सडक स्तब्ध बन्यो। आगोले जलेर उनी सडकमा लडिबुडी गर्दै करिब विश्व निकेतन विद्यालयको गेटसम्म पुगे। प्रत्यक्षदर्शीहरूका अनुसार सुरुमा मानिसहरू आत्तिए। केहीले के गर्ने भन्ने नै बुझेनन्। कसैले म्याटले छोप्न खोजे। कसैले पानी खोजे।

एक पसल सञ्चालकका अनुसार अन्ततः एक ग्राहकले जर्किनको पानी ल्याएर शरीरमा खन्याएपछि आगो नियन्त्रणमा आयो। त्यसपछि रामेश्वर तामाङ नामका स्थानीयले उनलाई उठाए। एक प्रहरीसँग मिलेर सडकसम्म पु¥याउने प्रयास गरे। सार्वजनिक भिडियोमा पनि एक प्रहरी र एक सर्वसाधारणले उनलाई पछाडिबाट समातेर हिँडाउँदै ल्याएको दृश्य देखिन्छ।

घटनाको अर्को विवादित पक्ष यही उद्धार प्रक्रिया बनेको छ। सामाजिक सञ्जालमा आगो लागेका व्यक्तिलाई समयमै उद्धार नगरिएको आरोप लाग्यो। नगर प्रहरीमाथि बेवास्ता गरेको आरोप पनि उठ्यो। तर प्रहरीले भने परिस्थिति आकस्मिक भएकाले मानिसहरू आत्तिएको र सकेसम्म उद्धार प्रयास गरिएको दाबी गरेको छ।

घटनापछि प्रहरी हवल्दार विकास बुढाथोकीले उनलाई तत्काल बा २ ज १४५० नम्बरको ट्याक्सीमा राखेर वीर अस्पताल पु¥याए। प्रहरीको आधिकारिक घटना विवरणमा उल्लेख भए अनुसार दिउँसो १ः४५ बजे गणेशले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका थिए। अस्पताल पुग्दा उनको शरीरको विभिन्न भाग गम्भीर रूपमा जलेको थियो र उनी बोल्न नसक्ने अवस्थामा थिए। तर परिवारका अनुसार अस्पतालमा उनले केही शब्द भनेका थिए।

दाजु मदन नेपालीले सुनाए अनुसार गणेशले भनेका थिए— ‘महानगर प्रहरीले मोटरसाइकलमा लक लगाएपछि मैले पेट्रोल छर्केर आगो लगाएँ।’ उनले श्रीमती र दुई वर्षीया छोरीको ख्याल राखिदिन पनि आग्रह गरेका थिए। त्यसपछि उनी फेरि बोल्न सकेनन्।

वीर अस्पतालका चिकित्सकका अनुसार गणेशको शरीरको ५५ देखि ६५ प्रतिशत भाग जलेको थियो। विशेष गरी छाती, घाँटी र कम्मरमाथिको भाग गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो। श्वासप्रश्वास नलीमा समेत असर पुगेकाले उनलाई बर्न आईसीयूमा भेन्टिलेटरमा राखिएको थियो।

सरकारले तत्काल भारतको नयाँदिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी समेत गरेको थियो। भारतीय दूतावाससँग समन्वय गरिएको थियो। एयर एम्बुलेन्सको व्यवस्था गरिएको थियो। खर्च सरकारले बेहोर्ने निर्णयसमेत भइसकेको थियो। तर चिकित्सकहरूले अवस्था अत्यन्त अस्थिर रहेको निष्कर्ष निकाले। स्थानान्तरण गर्दा झन् जोखिम हुने सुझाव दिए।

डा. पियुष दाहाल, डा. अपार लामिछाने, डा. निर्मण ज्ञवालीसहित २१ सदस्यीय चिकित्सक टोलीले उपचार गरे पनि अन्ततः शुक्रबार बिहान ११ः२० बजे गणेशलाई बचाउन नसकेको जवाफ दिए। गणेशको मृत्यु भएपछि घटनाले राजनीतिक आयाम समेत लिएको छ।

गृहमन्त्रीले प्रतिनिधिसभामा नेपाल प्रहरीका डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको जानकारी दिएका छन्। तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। यता काठमाडौंको भद्रकाली क्षेत्रमा प्रदर्शन भइरहेका छन्। संसदमा विपक्षी दलहरूले सरकारसँग जवाफ मागिरहेका छन्।

तर यो घटनाले केवल प्रशासनिक वा कानुनी प्रश्न मात्र उठाएको छैन। यसले समाजको एउटा गहिरो घाउ पनि देखाएको छ। तीन वर्षअघि इलामका प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि आत्मदाह गरेका थिए। व्यवसायमा असफलता, ऋण, सरकारी बेवास्ता र निराशाको पीडा उनले मृत्यु अघि सार्वजनिक गरेका थिए।

त्यतिबेला पनि देशभर बहस भयो। मानसिक स्वास्थ्यबारे चर्चा भयो। उद्यमशीलताबारे विमर्श भयो। राज्यको भूमिकामाथि प्रश्न उठ्यो। तर त्यसपछि के बदलियो ? आज गणेश नेपालीको मृत्युले फेरि त्यही प्रश्न दोहो¥याएको छ। प्रेम आचार्य र गणेश नेपालीको जीवन फरक थियो। संघर्ष फरक थियो। तर दुवैको अन्त्यमा एउटा साझा पीडा देखिन्छ— प्रणालीसँगको असन्तोष, भविष्यप्रतिको अनिश्चितता र आफूलाई असहाय ठान्ने मानसिक अवस्था।

अहिले छानबिन समितिले ह्विल लक, नगर प्रहरीको व्यवहार, मोबाइल फुटेको विवाद, उद्धार प्रक्रियालगायत सबै पक्षको अनुसन्धान गर्नेछ। दोषी भए कारबाही पनि होला। तर गणेश नेपालीको मृत्युले उठाएको ठूलो प्रश्न त्योभन्दा पर छ। यदि एउटा २५ वर्षीय युवा, जो पासपोर्ट बनाउन पुगेको थियो, जसले गाउँको जग्गा धितो राखेर मोटरसाइकल किनेको थियो, जसले बिहान ५ बजेदेखि रातिसम्म सडकमा पसिना बगाएर परिवार पालिरहेको थियो, उसलाई एउटा पार्किङ विवादले आत्मदाहको बिन्दुसम्म पु¥याउन सक्छ भने समस्या केवल एउटा ह्विल लकमा सीमित छैन।

त्यो समस्या राज्य, समाज, आर्थिक संरचना, मानसिक स्वास्थ्य र नागरिक–प्रशासन सम्बन्धको गहिरो तहमा कतै लुकेको छ। गणेश नेपालीको मृत्युले अहिले त्यही असहज सत्यलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याइदिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट