सप्तरीका राजविराज र बोदेबरसाइन नगरपालिकामा कर्फ्यु, अर्को आदेश नभएसम्म आवतजावत निषेध

राजविराज— सप्तरीमा बिग्रँदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले दुई स्थानीय तहमा अनिश्चितकालिन कर्फ्यु लागू गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा जारी आदेशअनुसार राजविराज नगरपालिकाका अधिकांश भाग र बोदेबरसाइन नगरपालिकामा कर्फ्यु लागू गरिएको छ।

सीडीओ श्यामकृष्ण थापाले जारी गरेको आदेशअनुसार जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु जारी गरेको हो। प्रशासनका अनुसार आन्दोलन तथा सम्भावित हुलदंगाका कारण जिल्लाको शान्ति–सुरक्षामा प्रतिकूल असर पर्न सक्ने आकलनपछि यस्तो निर्णय गरिएको हो।

राजविराज नगरपालिकाभित्र लागू गरिएको कर्फ्यु साउन १५ गते शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्म कायम रहनेछ। आदेशअनुसार कर्फ्युको सीमा पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जमुनी–थलही क्षेत्र, उत्तरमा रुपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिकाको सीमा) सम्म तोकिएको छ।

यसअघि प्रशासनले साउन १४ गते राति १० बजेदेखि बोदेबरसाइन नगरपालिकामा पनि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिसकेको थियो। उक्त आदेशअनुसार कर्फ्युको सीमा पूर्वमा हुलाकी राजमार्गस्थित खडक पुल, पश्चिममा पृतमपुर चोक, उत्तरमा नेंगडा चोक र दक्षिणमा मानराजा चोकसम्म निर्धारण गरिएको छ।

दुवै आदेश जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा जारी गरिएको प्रशासनले जनाएको छ। आदेशमा जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दा आन्दोलन वा हुलदंगाले सार्वजनिक शान्ति र सुरक्षा भंग हुन सक्ने देखिएकाले कर्फ्यु लागू गर्नुपरेको उल्लेख गरिएको छ।

प्रशासनले कर्फ्यु आदेशको उल्लङ्घन गरी कुनै पनि प्रकारका गतिविधि गरे वा गराएको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट