हत्या मुद्दामा कैद सजाय पाएका ब्यक्ति ४३ वर्षदेखि मन्दिरमा ‘साधुबाबा’ बनेर लुकेको अवस्थामा वर्षीय पक्राउ

लहान– कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद सजाय पाएर ४३ वर्षदेखि फरार रहेका ८० वर्षीय ठकाई यादवलाई प्रहरीले मन्दिरमा साधुबाबा (पुजारी) को भेषमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित आफ्नै गाउँको शिवमन्दिरबाट यादवलाई प्रहरीले बिहीबार पक्राउ गरी आवश्यक कारबाहीका लागि सिरहा जिल्ला अदालतमा बुझाएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार यादव २०४१ सालमा भएको एक हत्या घटनापछि फरार थिए।

उनलाई सो घटनामा संलग्न रहेको ठहर गर्दै तत्कालीन उच्च अदालतले २०४६ पुस २५ गते गरेको फैसलाबाट एक वर्ष कैद सजाय सुनाएको थियो। प्रहरीका अनुसार २०४१ वैशाख १ गते सिरहाको साविक खरुक्याही गाविस–४ मा बैशाखे मेलाका क्रममा मन्दिरमा बोका चढाउने विषयलाई लिएर विवाद भएको थियो।

विवादकै क्रममा ठकाई यादवसहितका व्यक्तिहरूले भारतबाट पहलवान (कुस्ती खेलाडी) समेत बोलाएको र रजिन्द्र यादवलाई घेरा हाली कुटपिट गरेको प्रहरी अभिलेखमा उल्लेख छ। कुटपिटबाट रजिन्द्र यादवको मृत्यु भएपछि घटनामा संलग्न व्यक्तिहरूमाथि कर्तव्य ज्यान मुद्दा चलेको थियो।

सोही मुद्दामा ठकाई यादवलाई अदालतले कैद सजाय तोकेको भए पनि उनी वारदातपछि फरार रहँदै आएका थिए। लामो समयसम्म फरार रहेका यादव आफ्नै गाउँमा रहेको स्थानीय शिवमन्दिरमा साधुबाबा अर्थात् पुजारीको भेषमा लुकिछिपी बस्दै आएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले बिहीबार मन्दिरमा खोजतलास गर्ने क्रममा यादवलाई फेला पारी पक्राउ गरेको हो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रियाका लागि सिरहा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार उक्त घटनामा संलग्न रही वारदातपछि फरार भएका अन्य ११ जना प्रतिवादीको भने मृत्यु भइसकेको जानकारी प्राप्त भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पालले यादव पक्राउ परेको पुष्टि गरेका छन्। अदालतको पुरानो फैसलाअनुसार बाँकी कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट