भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, तीन जनाको मृत्यु, ४५ भन्दा बढी घाइते

रौतहट — भारतको झारखण्डमा नेपाली तीर्थयात्री सवार बस ट्रकसँग ठोक्किँदा रौतहटको गरुडा नगरपालिका–६ पोठीयाहीका तीन जनाको मृत्यु भएको छ भने ४५ भन्दा बढी यात्रु घाइते भएका छन्। शुक्रबार भएको दुर्घटनामा मृत्यु हुनेमा एक १४ वर्षीय बालकसहित एक दम्पती छन्। बसमा चालक तथा कर्मचारीसहित करिब ५० जना सवार रहेको बताइएको छ।

बाबा वैद्यनाथ धाम र बासुकीनाथको दर्शन सकेर फर्किने क्रममा झारखण्डको कोडरमा जिल्लास्थित पोखरडिहा मोडनजिकै बस र ट्रक आपसमा ठोक्किएका हुन्। दुर्घटनापछि बसमा सवार अधिकांश यात्रु घाइते भएको र केहीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मृत्यु हुनेमा गरुडा–६ पोठीयाहीका नवल चौधरी र उनकी श्रीमती तथा स्थानीय राजेश महतोका १४ वर्षीय छोरा शिवम महतो रहेको वडाध्यक्ष रामबाबु चौधरीले पुष्टि गरेका छन्। वडाध्यक्ष चौधरीका अनुसार पोठीयाहीबाट मात्रै ४७ जना तीर्थयात्राका लागि भारत गएका थिए। उनीहरू बुधबार बाबा वैद्यनाथ धामको यात्रामा निस्किएका थिए।

‘उनीहरू बुधबार बाबाधाम यात्रामा निस्केका थिए। हामी घटनामा परेकाहरू बारे थप बुझ्दै छौँ,’ वडाध्यक्ष चौधरीले भने, ‘गाउँकै ४७ जना तीर्थयात्रामा गएका थिए।’ भारतीय सञ्चारमाध्यम लोकतन्त्र–१९ का अनुसार बाबा वैद्यनाथ धाम र बासुकीनाथमा दर्शन तथा पूजा गरेपछि राजगीरतर्फ फर्कने क्रममा दुर्घटना भएको हो। पोखरडिहा मोडनजिक बस र ट्रक ठोक्किएपछि यात्रुहरू घाइते भएका थिए।

दुर्घटनाको सूचना पाएलगत्तै सदगावा थानबाट प्रहरी घटनास्थल पुगेको बताइएको छ। घाइतेहरूलाई उद्धार गरी सदगावा क्षेत्रका अस्पतालमा उपचारका लागि पठाइएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटनामा ठूलो संख्यामा नेपाली नागरिक परेपछि रौतहट प्रशासनले समेत घटनाबारे जानकारी लिन थालेको छ। सीडीओ दिनेश सागर भुसालले भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा परेको जानकारी आफूले पाएको बताए। ‘हामी पनि भारतीय सुरक्षाअधिकारीहरूमार्फत जानकारी लिँदै छौँ,’ भुसालले भने, ‘यस विषयमा माथि जानकारी गराइसकेका छौँ।’

दुर्घटनामा घाइते भएका सबैको अवस्था, उपचाररत यात्रुको संख्या र मृतकको पहिचानबारे भारतीय सुरक्षा निकायसँग समन्वय गरेर थप विवरण संकलन भइरहेको रौतहट प्रशासनले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट