कोशी ब्यारेजमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, पछाडि सवार घाइते
राजविराज — कोशी ब्यारेज पुलमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सप्तरीमा चालकको मृत्यु भएको छ भने पछाडि सवार युवक घाइते भएका छन्। हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार साँझ भएको दुर्घटनामा सोही ठाउँका ३५ वर्षीय ओम साफीको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार साँझ करिब साढे ५ बजे कोशी ब्यारेज पुलको ४१ नम्बर ढोकानजिक को.६ प ६०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक ओम साफी र पछाडि सवार हनुमाननगर कंकालिनी नगरपालिका–१ भलवा निवासी २० वर्षीय मंजय साफी घाइते भएका थिए।
दुवै घाइतेलाई उपचारका लागि भारदह अस्पताल लगिएको थियो। उपचारकै क्रममा चालक ओम साफीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मंजय साफीलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना मोटरसाइकल अनियन्त्रित भएपछि भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। घटनाको कारण र दुर्घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

