रसुवामा भोटेकोशीको भीषण बाढीः टिमुरे–स्याफ्रुबेँसी तहसनहस, राजमार्ग बन्द, ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

काठमाडौँ– चीनको तिब्बततर्फबाट बुधबार बिहान भोटेकोशीमा आएको आकस्मिक भीषण बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पु¥याएपछि उद्धार र खोजी तीव्र पारिएको छ। बाढीको जोखिम त्रिशूली नदी हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म फैलिन सक्ने चेतावनीपछि काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको पृथ्वी राजमार्गमा दुवैतर्फको आवागमन बन्द गरिएको छ।

प्रारम्भिक विवरणअनुसार टिमुरेमा खटिएका सशस्त्र प्रहरीका ९ कर्मचारीसमेत सम्पर्कविहीन छन्। बाढीले टिमुरे बजार, रसुवागढी भन्सार क्षेत्र तथा आसपासका संरचनामा ठूलो क्षति पु¥याएको छ । केही प्रहरी कार्यालय तथा चौकीमा समेत क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । सञ्चार सम्पर्क प्रभावित भएकाले क्षतिको पूर्ण विवरण तत्काल प्राप्त हुन सकेको छैन ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार टिमुरेमा खटिएका ९ जना कर्मचारी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनीहरू सुरक्षित स्थानमा गएको हुन सक्ने सम्भावना रहे पनि खोजी भइरहेको उनले बताएका छन् ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । सेनाले टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा खोज तथा उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन गरेको जनाएको छ ।

उद्धारका लागि गएको हेलिकोप्टर भने टिमुरेमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ । बाढीले हेलिप्याडसमेत बगाएकाले अवतरण गर्ने स्थान नपाएपछि हेलिकोप्टर फर्काउनुपरेको चालक सुवास खड्काले बताएका छन् । उनका अनुसार बाढीपछि टिमुरे गाउँको अवस्था समेत स्पष्ट देखिने अवस्था थिएन ।

बाढीबाट रसुवा–तिब्बत सीमावर्ती क्षेत्रमा रहेको रसुवा भन्सार क्षेत्रमा समेत ठूलो क्षति भएको छ । भन्सार क्षेत्रका सवारीसाधन तथा अन्य सामग्री बाढीले बगाएको रसुवाका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले बताएका छन् । नयाँ निर्माण गरिएको पुलसमेत बाढीले बगाएको स्थानीय अधिकारीहरूको भनाइ छ ।

उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङका अनुसार गाउँपालिकाका नयाँ र पुराना दुवै प्रशासनिक भवनमा क्षति पुगेको छ । भोटेकोशी नदीको तटीय क्षेत्रमा रहेका करिब दर्जन बस्ती प्रभावित भएको प्रारम्भिक जानकारी आएको उनले बताएकी छन् । स्याफ्रुबेँसी, बेत्रावती, मैलुङ, सल्लेटार, शान्तिबजार, पैरेबेँसी, खाल्तीबस्ती, सोले, त्रिशूली र बट्टार आसपासका क्षेत्रसमेत जोखिममा छन् ।

बाढीले जलविद्युत् आयोजनामा समेत क्षति पु¥याएको प्रारम्भिक विवरण छ । स्याफ्रुबेँसीलगायत क्षेत्रमा बाढीले संरचना बगाएको र चिलिमेलगायत अन्य आयोजनामा पनि क्षति पुगेको स्थानीयले बताएका छन् ।

बाढीको वास्तविक कारण भने अझै स्पष्ट भएको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार जिल्लाको सदरमुकाम आसपास पानी नपरेको अवस्थामा एक्कासि ठूलो बाढी आएको हो । माथिल्लो क्षेत्रमा हिमताल फुटेको वा अन्य कारणले आकस्मिक रूपमा ठूलो पानी आएको हुन सक्ने आशंका गरिए पनि यकिन भइसकेको छैन ।

यता, मौसमविद् सञ्जीव अधिकारीले प्रारम्भिक रूपमा रसुवामै परेको वर्षाका कारण मात्र बाढी आएको नदेखिएको बताएका छन् । स्याटेलाइट तस्बिरमा तिब्बततर्फ ठूलो वर्षा भएको देखिएको र त्यसको प्रभाव भोटेकोशीमा परेको हुन सक्ने उनको भनाइ छ ।

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीको बाढी धादिङको गल्छी आसपाससम्म पुगेको जनाएको छ । आगामी केही घण्टामा यसको प्रभाव मुग्लिनतर्फ बढ्न सक्ने भन्दै त्रिशूली नदी आसपासका बस्ती तथा बजार खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँलगायत क्षेत्रमा नदीको बहाव बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको चेतावनी दिइएको छ ।

जोखिम बढेपछि धादिङ प्रशासनले त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नदीमा माछा मार्ने, मजदुरी गर्ने वा अन्य कामका लागि पुगेका व्यक्तिलाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ । निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजना र नदी किनारका कार्यालयलाई समेत आवश्यक पूर्वतयारी गर्न प्रशासनले आग्रह गरेको छ ।

यसैबीच, बाढीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ । बाढीको बहाव र जोखिमका कारण नागढुङ्गादेखि भरतपुरसम्म पृथ्वी राजमार्गमा दुवैतर्फको आवागमन निषेध गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताएका छन् ।

सरकारले उद्धारका लागि निजी तथा सरकारी हेलिकोप्टरलाई तयारी अवस्थामा राखेको छ । नेपाल वायुसेवा सञ्चालक संघका अनुसार उद्धार प्रयोजनका लागि १२ हेलिकोप्टर कम्पनीका ३४ हेलिकोप्टर तयारी अवस्थामा राख्न भनिएको छ । नेपाली सेनाका मेडिकल टोलीसहित दुई हेलिकोप्टरसमेत प्रभावित क्षेत्रमा पठाइएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला प्रशासन तथा विपद् व्यवस्थापन संयन्त्रलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । गृह मन्त्रालयमा आपत्कालीन बैठक बसेको छ भने प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक पनि बोलाइएको छ ।

सरकारले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा जान र आधिकारिक निकायबाट जारी हुने सूचना तथा चेतावनी पालना गर्न आग्रह गरेको छ । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने उद्धार तथा सञ्चार सम्पर्क सहज भएपछि मात्र यकिन हुने अधिकारीहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट