‘घाँटीसम्म पुरिएको जिउँदो मान्छे’को भिडियोले एउटी आमाको मनमा वढाएको आशा र वेचैनी
चितवन– मोबाइलको स्क्रिनमा एउटा भिडियो चल्छ। जमिनभित्र शरीरको अधिकांश भाग पुरिएको छ। बाहिर देखिएको छ त केवल टाउको। मान्छे जिउँदै छ। मुन्टो हल्लाइरहेको छ। वरिपरि सुरक्षाकर्मी छन्, माटो पन्साउने प्रयास भइरहेको छ।
सामाजिक सञ्जालमा देखिएको केही सेकेन्डको यही दृश्यले एउटी आमाको मनमा आशासँगै बेचैनी पनि झन् गहिरो बनाइदिएको छ। पर्साको वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरकी ताम्रुन खातुनको व्यथा हो यो। उनका छोरा १६ वर्षीय राहुल मिया डेढ महिनाअघि कामको खोजीमा रसुवा पुगेका थिए।
भन्सार आसपासको क्षेत्रमा रहेको मासु पसल र किराना पसलमा काम गर्दै आएका उनी भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन भए। छोरा हराएपछि परिवारले आफ्नोतर्फबाट सम्भव भएसम्म खोजी ग¥यो। कुनै खबर आएन। त्यसैबीच कन्टेन्ट क्रियटर मिलन शाहीले शुक्रबार फेसबुकमा एउटा उद्धार भिडियो सार्वजनिक गरे।
भिडियोमा जमिनमुनि घाँटीसम्म पुरिएको अवस्थामा एक व्यक्ति देखिन्छन्। उनी जिउँदै देखिन्छन्। मुन्टो चलाइरहेका छन्। नजिकै रहेका प्रहरीले उनलाई निकाल्ने प्रयास गरिरहेका छन्। त्यही दृश्यले खातुनको मनमा एउटा आशा पलायो—‘कतै यो मेरो छोरा त होइन?’
त्यसको उत्तर खोज्दै उनी चितवन आइपुगेकी छन्। तर भिडियो हेरेर छोराको पहिचान गर्न सकिने अवस्था छैन। भिडियो कहाँ खिचिएको हो, उद्धार गरिएका व्यक्ति को हुन् र उनको अवस्था के भयो भन्नेबारे स्पष्ट जानकारी नपाउँदा खातुन झन् अन्योलमा छिन्।
‘भिडियो देखेँ, तर छोरा कहाँ छ भन्ने थाहा भएन,’ उनी रोइरहेकी छन्। उनीसँग अहिले न त निश्चिन्त हुने आधार छ, न त हार मान्ने अवस्था। छोरा भेटिन्छन् कि भन्ने आशाले उनलाई चितवनमा रोकेको छ। तर कहाँ जाने, कसलाई सोध्ने र कुन ठाउँमा खोज्ने भन्ने स्पष्ट बाटो नहुँदा उनको परिवारको प्रतीक्षा अनिश्चित बनेको छ।
राहुल मात्रै होइन, त्यही टोलका अन्य चार परिवारको अवस्था पनि उस्तै छ। एउटै टोलका पाँच परिवार अहिले चितवनको भरतपुरमा छन्। उनीहरूलाई एउटै कुराले यहाँ तानेको छ—रसुवाको भोटेकोसी बाढीमा हराएका आफ्ना छोराहरू कतै भेटिन्छन् कि भन्ने आशा।
शुक्रबारदेखि भरतपुर आइपुगेका यी परिवारका लागि चितवन कुनै गन्तव्य होइन, खोजीको एउटा सम्भावित थलो मात्रै हो। आफन्तको शव भेटिन सक्छ भन्ने आशामा उनीहरू अस्पताल, शवगृह र उद्धारसँग सम्बन्धित सूचनाको खोजीमा भौँतारिइरहेका छन्। तर अहिलेसम्म भरतपुरमा भेटिएका शवमध्ये कुनै पनि उनीहरूका बेपत्ता छोरासँग मेल खाएको छैन।
२० वर्षीय सप्राज मियाकी आमा सैमुल्यासा मिया भरतपुरमा छोराको खोजीमा छिन्। सप्राज रसुवामा मोटरसाइकल ग्यारेजमा काम गर्थे। बाढीपछि उनी कहाँ छन्, जीवित छन् कि छैनन् भन्ने कुनै निश्चित सूचना परिवारसँग छैन।
खगेन्द्र जैसीले सशस्त्र प्रहरीसहित फेसबुकमा सार्वजनिक गरेको एउटा भिडियोमा देखिएको शवलाई सैमुल्यासाले आफ्नै छोरा सप्राजको रूपमा पहिचान गरेकी छन्। तर पहिचान गरेपछि पनि उनको पीडा कम भएको छैन।
किनकि शव कहाँ देखिएको थियो भन्ने नै उनलाई थाहा छैन। छोराको अनुहार चिनेकी आमासँग अब अर्को प्रश्न छ—‘शव कहाँ छ?’ यही प्रश्नको उत्तर खोज्न नसक्दा उनी भरतपुरमै अन्योलमा बसिरहेकी छन्। ‘छोरा कहाँ गए, भेटिन्छन् कि भेटिँदैनन्, केही थाहा छैन,’ उनी भन्दैछिन्।
एउटै टोलका अरू तीन युवा पनि अझै बेपत्ता छन—१६ वर्षीय सर्ताज आलम, २१ वर्षीय साहबोदिन मन्सुरी र १७ वर्षीय समिम मिया। उनीहरूका परिवारका लागि पनि चितवनको यात्रा आशा र त्रासबीचको यात्रा बनेको छ। भरतपुरमा भेटिएका २ सय ३३ शवमध्ये आफ्ना छोराहरूको शव नरहेको साहबोदिन मन्सुरीले बताएका छन्। तर शव नभेटिनु आफैंमा राहत होइन। त्यसले उनीहरूका परिवारलाई अझ ठूलो अनिश्चिततामा धकेलेको छ।
शव भेटिएको भए कम्तीमा अन्तिम सत्य थाहा हुन्थ्यो। बेपत्ता अवस्थामा भने हरेक फोनको घण्टी आशा बन्छ, हरेक अपरिचित भिडियो सम्भावित सुराक बन्छ र सामाजिक सञ्जालमा देखिने हरेक तस्बिर परिवारका लागि नयाँ खोजीको सुरुवात।
रसुवाको बाढीले घर, व्यवसाय र सडक मात्रै बगाएन, धेरै परिवारका लागि उसले आफ्ना मान्छेको ठेगाना पनि बगाइदिएको छ। जगरनाथपुरको एउटै टोलबाट कामको खोजीमा रसुवा पुगेका यी पाँच युवाको परिवार अहिले सयौँ किलोमिटर टाढा भरतपुरमा छ। उनीहरूको हातमा आफ्ना छोराहरूको केही पुराना तस्बिर छन्, मनमा अनेक आशंका छन् र सामाजिक सञ्जालमा देखिएका अधुरा दृश्यहरूबाट सुराक खोज्ने बाध्यता छ।
प्राकृतिक विपत्तिपछि उद्वारको पहिलो आवश्यकता जीवन बचाउनु हो। त्यसपछि हराइरहेका मानिसको खोजी, पहिचान र परिवारसम्म सही सूचना पु¥याउनु उत्तिकै महत्वपूर्ण हुन्छ। तर सूचना स्पष्ट र व्यवस्थित रूपमा परिवारसम्म पुग्न नसक्दा विपत्तिको पीडा अझ लम्बिन्छ।
भरतपुर आइपुगेका यी परिवारको पीडा त्यही लम्बिएको प्रतीक्षाको प्रतिनिधि हो। एक आमाले फेसबुकको भिडियोमा देखिएको जिउँदो अनुहारमा आफ्नै छोराको अनुहार खोजिरहेकी छन्। अर्की आमाले शवको भिडियोमा आफ्ना छोरालाई चिनेकी छन्, तर त्यो शव कहाँ छ भनेर खोजिरहेकी छन्। अरू परिवारले भेटिएका २ सय ३३ शवमध्ये आफ्ना छोराको शव नभएको थाहा पाए पनि उनीहरूलाई छोराहरू कहाँ छन् भन्ने उत्तर अझै मिलेको छैन। त्यसैले उनीहरूको खोजी शवसम्म सीमित छैन। उनीहरू आफ्ना छोराहरूको ठेगाना खोजिरहेका छन्।

