भोटेकोशी बाढीपछि सम्पर्कविहिन सप्तरीका एकजनाको शव पहिचान, सम्पर्कविहीनको संख्या ५० नाघ्यो
राजविराज— भोटेकोशी, त्रिशूलीलगायत नदीमा आएको बाढीपछि रसुवा र नुवाकोटमा काम तथा रोजगारीका क्रममा पुगेका सप्तरीका नागरिकमध्ये संतोष चौधरीको शव पहिचान भएको छ भने ५० भन्दा बढी व्यक्ति अझै परिवारको सम्पर्कमा आएका छैनन्।
जिल्ला प्रशासन कार्यालय सप्तरीले संकलन गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा रहेका केही व्यक्ति भने सम्पर्कमा आएका छन् र कम्तीमा १८ जनालाई उद्धार गरिएको अभिलेख छ।
सहायक सीडीओ नरेशकुमार यादवका अनुसार नुवाकोटमा हाइड्रोपावरको कामदारका रूपमा कार्यरत खडक नगरपालिका–५ रञ्जितपुरका २८ वर्षीय संतोष चौधरी मृत्यु भएको पुष्टि भएको छ। बाढीपछि सम्पर्कविहीन भएका उनको शव गण्डकी अस्पताल, कास्की, पोखरामा पहिचान गरिएको सप्तरी प्रहरीले जनाएको छ। उनकी आमा बासमति चौधरीले छोराको अवस्थाबारे प्रहरीमा जानकारी गराएकी थिइन्।
सप्तरीबाट रोजगारीका लागि रसुवा र नुवाकोट पुगेका नागरिकहरू बाढीपछि ठूलो संख्यामा सम्पर्कविहीन भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीले उनीहरूको विवरण संकलन गरिरहेका छन। प्रारम्भिक विवरणमा अधिकांश व्यक्ति हाइड्रोपावर, निर्माण कम्पनी तथा सम्बन्धित आयोजनामा काम गर्ने मजदुर, इन्जिनियर, ओभरसियर, सुपरभाइजर, चालक तथा सुरक्षाकर्मी रहेका छन्।
सम्पर्कविहीनको सूचीमा महादेवा गाउँपालिका–२ का ४४ वर्षीय देवराज ईसर छन्। उनी रसुवास्थित हाइड्रोपावरमा कर्मचारीका रूपमा कार्यरत थिए। सोही ठाउँका ४० वर्षीय इन्द्रनारायण ईसर पनि रसुवास्थित अपर हाइड्रोपावर लिमिटेडमा कामदारका रूपमा रहेको जनाइएको छ।
खडक नगरपालिका–७ की २० वर्षीया सुनिता राम नुवाकोटको त्रिशूली बजारमा काम गर्दै आएकी थिइन्। उनका छोरासमेत सम्पर्कमा नआएको विवरण छ। सूचीमा अजय कुमार यादव पनि छन्। विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय यादव रसुवामा प्राविधिक शिक्षकका रूपमा आबद्ध रहेको उल्लेख छ।
त्यस्तै तिलाठी कोइलाडी गाउँपालिका–४ का ३२ वर्षीय सञ्जय साह पावरहाउस रसुवा अपर त्रिशूली–३ ए मा कार्यरत थिए। तिरहुत गाउँपालिका–४ डिमनका ४४ वर्षीय रविन्द्रकुमार यादव त्रिशूली बजारस्थित जेसी हाइड्रोपावरका इन्जिनियर रहेको विवरण छ।
रसुवास्थित हाइड्रोपावरमा कार्यरत रहेको बताइएका भारत, मधुवनी, लौकहा बलुवाका २८ वर्षीय सरोजकुमार गुप्ता, सुरुङ्गा नगरपालिका–२ का २३ वर्षीय सरोज चौधरी, कञ्चनरूप नगरपालिका–६ सितापुरका ४० वर्षीय अनिलकुमार विश्वकर्मा, अकवरटोल, हाल राजविराज–तितरीगाछीका २८ वर्षीय संतोष यादव, शम्भुनाथ नगरपालिका–४ का २३ वर्षीय पिताम्बरप्रसाद दास र तिलाठी कोइलाडी गाउँपालिका–लौनियाका ३० वर्षीय दिलीपकुमार मण्डल पनि सम्पर्कविहीनको सूचीमा छन्।
उपलब्ध विवरणमा शम्भुनाथ नगरपालिका–३ का रमेश चौधरी (४५), हृदयनारायण चौधरी (४५), सुरेन्द्रदेव चौधरी (२७) र दिपेन्द्र चौधरी (३५) तथा शम्भुनाथ नगरपालिका–४ का प्रेमसागर चौधरी (२४) पनि सम्पर्कविहीन रहेको उल्लेख गरेको छ। शम्भुनाथ नगरपालिका–८ का साजन चौधरी (३५), शम्भुनाथ–६ कठौनाका ओमप्रकाश चौधरी (३७) र शम्भुनाथ–३ का त्रिभुवनकुमार मण्डल (२२) को अवस्था पनि सम्पर्कबाहिर रहेको विवरणमा छ।
त्यसैगरी बोदेबर्साइन नगरपालिका–८ काचनका शिवकुमार यादव (३५), देवकुमार यादव (३१) र सचिन यादव (२५) तथा विष्णुपुर गाउँपालिका–१ का ओमनारायण यादव (३८) सम्पर्कविहीन छन्। राजगढ गाउँपालिका–६ फकिराका विजयकुमार यादव (३२) रसुवास्थित मेलुङ जलविद्युत् आयोजनामा सर्भे इन्जिनियरका रूपमा काम गर्दै आएको विवरण प्रहरीमा छ।
तिरहुत गाउँपालिका–३ हटैलका ३० वर्षीय अशोक यादव नुवाकोटमा सुरुङ निर्माणको काममा थिए। हनुमाननगर कंकालिनी नगरपालिका–१ बरमझियाका १८ वर्षीय मुकेश सदा पनि रसुवामा हाइड्रोपावरको कामदारका रूपमा कार्यरत रहेको उल्लेख छ। सोही स्थानका १८ वर्षीय विनोद सदाका सम्बन्धमा पनि प्रहरी विवरणमा सम्पर्कविहीन उल्लेख गरिएको छ।
तिलाठी कोइलाडी गाउँपालिका–२ का २९ वर्षीय जितेन्द्र मण्डल रसुवास्थित अपर त्रिशूली हाइड्रोपावरमा ओभरसियरका रूपमा काम गर्दै आएको जनाइएको छ। राजविराज नगरपालिका–१६ मुसहरी टोलाका ५० वर्षीय बेचन सदा र ३७ वर्षीय शिवकुमार सदा तथा राजविराज–१० माटिगाढीका २२ वर्षीय रोशनकुमार यादव पनि सम्पर्कमा नआएका व्यक्तिको सूचीमा छन्। रोशन रसुवास्थित श्रीनाथ गण, टिमुरेमा नेपाली सेनामा कार्यरत रहेको विवरण छ।
अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ३५ वर्षीय ललितानारायण चौधरी, सप्तकोशी नगरपालिका–११ मलेठका ३७ वर्षीय देवानन्द चौधरी, डाक्नेश्वरी नगरपालिका–७ मझौराका २० वर्षीय नितिशकुमार पासवान र १८ वर्षीय अकलेशकुमार पासवान तथा तिलाठी कोइलाडी–२ का ३० वर्षीय मनिषकुमार मण्डल पनि सम्पर्कविहीन छन्। देवानन्द अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा लोडर चालक तथा मनिष इन्जिनियर रहेको विवरण छ।
राजगढ गाउँपालिका–३ का २६ वर्षीय राजीवकुमार सिंह पनि रसुवामा हाइड्रोपावरमा कार्यरत रहेको जनाइएको छ। खडक नगरपालिका–१० दंग्राहीका राज पासमान, शिवकुमार पासमान, सुरज मण्डल र हेमनारायण साह पनि रसुवामा हाइड्रोपावरमा काम गर्ने क्रममा सम्पर्कविहीन भएको विवरण छ।
बोदेबर्साइन नगरपालिका–१ देवहारीका शिवकुमार यादव रसुवामा सुरक्षाकर्मीका रूपमा कार्यरत थिए। कञ्चनरूप नगरपालिका–१२ का २९ वर्षीय नवीन श्रेष्ठ सवारी चालक र डाक्नेश्वरी नगरपालिका–५ पातोका अभिनाश पण्डित इन्जिनियरका रूपमा रसुवामा कार्यरत रहेको उल्लेख छ।
त्यस्तै खडक नगरपालिका–५ रञ्जितपुरका ३० वर्षीय प्रवेशकुमार चौधरी नुवाकोटमा हाइड्रोपावरको कामदार, राजविराज–१६ बोरियाका ३२ वर्षीय सुरेन सदा रिख्यासन नुवाकोटमा हाइड्रोपावरका कामदार, तिलाठी कोइलाडी–३ सकरपुराका ३२ वर्षीय राजमणि साह गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा होटलमा काम गर्ने र भारत, मधुवनीका ४३ वर्षीय रञ्जितकुमार गुप्ता रसुवामा मेकानिकल ओभरसियरका रूपमा कार्यरत रहेको विवरण प्रहरीसँग छ।
यसैबीच सम्पर्कविहीन भनिएका केही व्यक्ति परिवार तथा सम्बन्धित निकायको सम्पर्कमा आइसकेका छन्। कञ्चनरूप–८ कञ्चनपुरका २४ वर्षीय प्रहरी कर्मचारी अजय मरिक जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत थिए। उनी सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
राजविराज–२ राजदेवी टोलका ४२ वर्षीय दीपक देव रसुवास्थित चिलिमे सबस्टेसनमा काम गर्ने कर्मचारी हुन्। उनी पनि सम्पर्कमा आएका छन्। बलान बिहुल–६ सेहराका ३४ वर्षीय सुरेशकुमार यादव, उनकी २८ वर्षीया श्रीमती सरिता यादव र ८ वर्षीया छोरी इभिन्जलीना यादव पनि रसुवा सदरमुकाममा रहेको अवस्थामा सम्पर्कमा आएको विवरणमा छ।
त्यस्तै रूपनी गाउँपालिका–१ का २५ वर्षीय गिर्धारीलालकुमार साह, नुवाकोट नयाँपुल देवघाटस्थित साथीको घरमा रहेका कामदार, सम्पर्कमा आएका छन्। अग्निसाइर कृष्णसवरण–१ का २५ वर्षीय कृष्णकुमार चौधरी, बोदेबर्साइन नगरपालिका–७ का शुशिलकुमार चौधरी, राजविराज–५ की सोना बाटा लगायत केही व्यक्तिको पनि अवस्था सम्पर्कमा आएको विवरणमा उल्लेख छ। उनीहरू क्रमशः २०८३ भदौ १२ गतेसम्म सम्पर्कमा आएको प्रहरी अभिलेखमा छ।
बाढीपछि खोजी तथा उद्धार अभियानबाट सप्तरीका १९ जना उद्धार गरिएको विवरणसमेत प्रहरीले सार्वजनिक गरेको छ। २०८३ भदौ ११ गते रसुवाबाट २३ वर्षीय राजेश मण्डल, २० वर्षीय दीपकनारायण ठाकुर, २२ वर्षीय अकलेशकुमार यादव, राजविराज–९ का ३२ वर्षीय अबिन्द मेतहा र २१ वर्षीय राहुल मुखिया उद्धार गरिएको अभिलेख छ। अबिन्द मेतहाको दाहिने खुट्टामा चोट लागेको उल्लेख छ।
सोही दिन ३६ वर्षीय सन्दिपकुमार दासलाई धुन्चेबाट उद्धार गरिएको थियो। भदौ १२ गते ३० वर्षीय प्रकाश चौधरी, २१ वर्षीय सन्दिपकुमार चौधरी, ४३ वर्षीय दया चौधरी, १० वर्षीय सिमन चौधरी, ३० वर्षीय रामकृष्ण मण्डल, २९ वर्षीय प्रमोदकुमार मण्डल, ३७ वर्षीय चन्द्रशेखर यादव, २४ वर्षीय कृपानन्द यादव, ५ वर्षीया सम्पदा चौधरी, ३४ वर्षीया पूनम चौधरी, २८ वर्षीया रूबी यादव र २४ वर्षीय अनिककुमार चौधरीलाई विभिन्न स्थानबाट उद्धार गरिएको विवरण छ।
उद्धार गरिएका अधिकांश व्यक्ति रसुवाको मैलुङ, शान्तिबजार र आसपासका क्षेत्रमा भेटिएका थिए। उनीहरूको उद्धार मिति २०८३ भदौ ११ र १२ गतेको प्रहरी अभिलेखमा उल्लेख छ।
हालसम्म उपलब्ध विवरणमा एकजनाको शव पहिचान भइसकेको, केही व्यक्ति सम्पर्कमा आएको र केहीलाई उद्धार गरिएको छ। तर रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा कार्यरत सप्तरीका बाँकी नागरिकको अवस्था अझै यकिन हुन नसक्दा आफन्तहरू खोजी र सम्पर्कको प्रतीक्षामा छन्।


