अक्सिजन सिलिण्डर बोकेर गृहमन्त्री दौडिएपछि उठेको प्रश्नः उद्वारको नेतृत्व कि स्टण्ट?
काठमाडौँ– भोटेकोशी वाढीपछि सुरुङभित्र १० दिनदेखि हराइरहेका दुई जना जीवितै भेटिएपछि रसुवाको उद्वारस्थलमा शुक्रबार अचानक एउटा दृश्यले सबैको ध्यान तान्यो— गृहमन्त्री सुदन गुरुङ उद्वार गरिएका व्यक्तिलाई लगाइएको अक्सिजन सिलिण्डर आफैं बोकेर हिँडिरहेका थिए। पछाडि सुरक्षाकर्मी र अन्य व्यक्ति थिए। केहीका लागि यो विपत्तिको मैदानमा मन्त्रीको असाधारण सक्रियताको दृश्य बन्यो, केहीका लागि भने क्यामेराअघि देखाइएको ‘स्टन्ट’।
भोटेकोशी बाढीको दशौं दिन माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनालाई जीवितै उद्वार गरिएको खबर पाएपछि गुरुङ हवाईमार्ग हुँदै उद्वारस्थल पुगेका थिए। सप्तरीको तिलाठी कोइलाडी–४, का सन्जय साह र काठमाडौंका कबिर मर्हजनलाई करिब २ सय १६ घण्टापछि सकुशल बाहिर निकालिएको क्षण आफैंमा बाढीपछिको उद्वार अभियानको महत्वपूर्ण उपलब्धि थियो।
तर त्यसपछि सामाजिक सञ्जालमा फैलिएका तस्बिर र भिडियोले उद्वारभन्दा अर्को बहस जन्मायो—विपद्को मैदानमा मन्त्रीको प्रत्यक्ष सहभागिता आवश्यक नेतृत्व हो कि प्रचारमुखी प्रदर्शन?
तस्बिरमा गुरुङ उद्वार गरिएका व्यक्तिलाई दिइएको अक्सिजन सिलिण्डर बोकेर हिँडिरहेका देखिन्छन्। उनीसँग सुरक्षाकर्मी र उद्वारमा खटिएका अन्य व्यक्तिहरू पनि छन्। गृहमन्त्री सिलिण्डर बोकेर हिँडिरहेका बेला उनिहरु हात हल्लाउँदै पछ्याईरहेका देखिन्छन्। यही दृश्यलाई कतिपयले ‘वा… गृहमन्त्री’ भन्दै प्रशंसा गरेका छन्। उनीहरूको तर्क छ—विपत्तिको समयमा जिम्मेवार राजनीतिक नेतृत्व घटनास्थलमै पुगेर उद्वारकर्मीको मनोबल बढाउनु सकारात्मक कुरा हो।
तर आलोचकहरूको प्रश्न पनि उस्तै स्पष्ट छ—गृहमन्त्रीको प्राथमिक जिम्मेवारी उद्वारको व्यवस्थापन, समन्वय र आवश्यक स्रोतसाधन जुटाउनु हो कि स्वयं उद्वारकर्मीको भूमिकामा देखिनु? यदि गृहमन्त्री नै उद्वारक हुन भने यत्रो सेना किन परिचालन गरिएको छ ?
यही प्रश्नका बीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री भने गुरुङको बचाउमा खुलेर उत्रिएका छन्। उनले गृहमन्त्रीले अक्सिजन सिलिण्डर बोकेको तस्बिर सामाजिक सञ्जालमा राख्दै विपत्तिको समयमा गुरुङले सुरक्षाकर्मीको हौसला बढाएको दृश्यलाई ‘अद्भुत’ भनेका छन्।
खत्रीले विपत्तिमा राजनीति गर्नेहरूलाई लक्षित गर्दै यस्तो दृश्य देखेपछि उनीहरूको ‘मानसिक सन्तुलन गुम्ने’ टिप्पणी गरेका छन्। उनका अनुसार संकटमा परेकाको चित्कार सुनेर गृहमन्त्री आफैं उद्वारमा खटिनु सकारात्मक नेतृत्वको उदाहरण हो।
गुरुङको प्रत्यक्ष सहभागितालाई ‘स्टन्ट’ भन्ने आलोचनाको जवाफ दिँदै खत्रीले देशलाई अहिले यस्तै ‘कर्मशील स्टन्ट’ आवश्यक रहेको बताएका छन्। उनले आलोचकहरूलाई माइतीघरमा न्यायका लागि संघर्ष गरिरहेकाहरूको पक्षमा उभिनसमेत चुनौती दिएका छन्।
तर विवाद केवल शुक्रबारको एउटा तस्बिरमा सीमित छैन। गुरुङ यसअघि पनि रसुवा बाढीपछि उद्वारका क्रममा सुरक्षाकर्मीको ठूलो टोलीबीचबाट एक बालकलाई बोकेर हेलिकप्टरतर्फ दौडिरहेको दृश्यमा देखिएका थिए। त्यो भिडियोसमेत सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। त्यसबेला पनि उनको अनावश्यक सक्रियतालाई लिएर आलोचना भएको थियो।
गुरुङको उद्वार अभियानमा प्रत्यक्ष संलग्न हुने शैलीमाथि अर्को प्रसंग पनि जोडिन्छ। सुरुङभित्र फसेकाहरूलाई बाहिर निकाल्न कठिन भइरहेको अवस्थामा विदेशी विज्ञ टोलीको सहयोग लिनुपर्ने आवाज उठिरहेका बेला उनी आफैं सुरुङमा प्रवेश गरी उद्वार तथा खोजीको प्रयासमा सहभागी भएका थिए। सेनाले आपत्ति जनाएपछि पछि उनि काठमाडौँ फर्किएको समाचार पनि वाहिरिएको थियो।
आलोचकहरूले यस्तो काम विशेषज्ञ र प्राविधिक उद्वार टोलीको जिम्मामा छाडिनुपर्ने तर्क गर्दै आएका छन्। विदेशी विज्ञ टोलीलाई नेपाल आउन नदिइएको विषयसमेत त्यसबेला विवादको विषय बनेको थियो।
यद्यपि शुक्रबारको घटनाको अर्को पाटो पनि छ। माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनालाई जीवितै बाहिर निकाल्नु सामान्य उपलब्धि थिएन। बाढी आएको १० दिनसम्म सुरुङभित्र फसेका उनीहरूलाई करिब २ सय १६ घण्टापछि उद्वार गरिएको थियो। लामो समयसम्म पानी, भग्नावशेष र प्रतिकूल परिस्थितिबीच खोजी जारी राखेका उद्वारकर्मीका लागि यो सफलता महत्वपूर्ण थियो।
त्यसैले बहसको एउटा पाटो ओझेलमा छ। गुरुङले सिलिण्डर बोकेर कुदेको भिडियोले वास्तविक उद्वारकर्मीलाई छायाँमा पारेको छ। विपद्का बेला मन्त्री घटनास्थलमै पुग्नु, उद्वारकर्मीको मनोबल बढाउनु र पीडितसँग प्रत्यक्ष सम्पर्क गर्नु राज्यको जिम्मेवारीप्रतिको उपस्थितिको संकेत हुन सक्छ। तर त्यही उपस्थितिले उद्वारको वास्तविक व्यवस्थापन, विशेषज्ञको भूमिका, उपकरणको उपलब्धता र समन्वयका कमजोरीलाई ओझेल पार्न थाल्यो भने प्रश्न उठ्नु स्वाभाविक हुन्छ।
किनकि विपद्को समयमा एउटा फोटोले सरकारको उपस्थिति देखाउन सक्छ, तर एउटा फोटोले उद्वार प्रणालीको प्रभावकारिता प्रमाणित गर्दैन। रसुवाको बाढीले सुरुङ, विद्युतगृह र आयोजनामा फसेका तथा सम्पर्कविहीन मानिसको खोजी अझै जटिल बनाइरहेको छ। कतिपय स्थानमा उपकरण पुग्न सकेका छैनन्, कतिपय सुरुङमा पानी र भग्नावशेष चुनौती बनेका छन्।
यस्तो अवस्थामा सरकारको वास्तविक परीक्षा सामाजिक सञ्जालमा भाइरल हुने तस्बिरमा होइन, कति मानिसलाई समयमै खोज्न, उद्वार गर्न र सुरक्षित घर फर्काउन सकियो भन्ने परिणाममा हुनेछ। गृहमन्त्री गुरुङको अक्सिजन सिलिण्डर बोकेको तस्बिरलाई कसैले नेतृत्वको प्रतीकका रूपमा हेर्न सक्छ, कसैले स्टन्टका रूपमा। तर विपद् व्यवस्थापनको अन्तिम मापदण्ड तस्बिर होइन—उद्वारको परिणाम, समन्वयको क्षमता र राज्यको उपस्थितिले पीडितलाई दिएको भरोसा हो।
शुक्रबार दुई जनाको जीवित उद्वारले आशा जगाएको छ। अब बाँकी चुनौती भनेको त्यही आशालाई सामाजिक सञ्जालको केही सेकेन्डको दृश्यमा सीमित नराखी हराइरहेका सबैको खोजी र उद्वारसम्म पु¥याउनु हो।


