स्कुटरको ठक्करबाट मोरङमा ७५ वर्षीया वृद्धाको मृत्यु, चालकसहित दुई जना घाइते
विराटनगर– मोरङको बेलबारीमा स्कुटरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने दुर्घटनामा स्कुटर चालकसहित दुई जना घाइते भएका छन्।
बेलबारी नगरपालिका–९ को भित्री सडकखण्डमा शुक्रबार साँझ करिब ७ बजे भएको दुर्घटनामा अन्दाजी ७५ वर्षीया बेग्री राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लक्ष्मीमार्गबाट डाँगाबजारतर्फ जाँदै गरेको प्र १–०२–०५३ प ६६५१ नम्बरको स्कुटरले बाटो पार गर्दै गरेकी राजवंशीलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो। अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा स्कुटर चालक बेलबारी नगरपालिका–८ का १७ वर्षीय अदित खवास र पछाडि सवार १८ वर्षीय रुमन खवास घाइते भएका छन्। उनीहरू दुवैको अवस्था सामान्य रहेको र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले शनिबार बिहान करिब ५ बजे मात्र जानकारी पाएको थियो। प्रारम्भिक अनुसन्धानबाट स्कुटर तीव्र गतिमा रहेको र सोही कारण दुर्घटना भएको देखिएको प्रहरीको भनाइ छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


