भोटेकोशी बाढीको ११औँ दिनः सुरुङबाट चिनियाँ नागरिक र पुरिएको घरबाट महिलाको जीवित उद्वार
काठमाडौँ– भोटेकोशी बाढीको ११औँ दिन शनिबार रसुवा र नुवाकोटमा खोज तथा उद्वार टोलीले दुई जनालाई जीवितै फेला पारेको छ। रसुवाको माथिल्लो त्रिशूली–१ को अडिट–४ सुरुङबाट एक चिनियाँ नागरिकको उद्वार गरिएको छ भने नुवाकोटको बेत्रावतीमा बाढी तथा पहिरोले पुरिएको घरबाट ६० वर्षीया चण्डिका श्रेष्ठलाई जीवितै निकालिएको छ।
दुवै उद्वारले बाढीपछि सम्पर्कविहीन मानिसहरू सुरुङ तथा जलविद्युत् आयोजनामा मात्र नभई पुरिएका घरका संरचनाभित्र पनि फसेको हुनसक्ने देखाएको छ। नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञसहितको संयुक्त टोलीले माथिल्लो त्रिशूली–१ को करिब २२५ मिटर लामो अडिट–४ सुरुङबाट चिनियाँ नागरिक ीगजबष्तबय लाई जीवित उद्वार गरेको हो। नेपाली सेनाका सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार उनलाई उद्वारपछि नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकतर्फ ल्याइएको छ।
भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ को सुरुङमा सम्पर्कविहीन भएका मानिसको खोजीका क्रममा उद्धार टोलीले ीगजबष्तबय लाई फेला पारेको हो। उद्वार अभियानमा नेपाली सेनासँगै दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीसमेत परिचालित थियो।
यसैगरी, बिदुर नगरपालिका–१० स्थित बेत्रावतीमा बाढी तथा पहिरोले पुरिएको आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठलाई जीवितै निकालिएको हो। नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार आधा पुरिएको घरभित्रबाट मानिसको आवाज आएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि उत्खनन गर्दा श्रेष्ठलाई जीवित अवस्थामा फेला पारिएको हो।
नेपाली सेना तथा सशस्त्र प्रहरीका उद्वारकर्मीको सहयोगमा उनलाई घरको माथिल्लो तलाबाट निकालिएको थियो। सशस्त्र प्रहरीका अनुसार १९ नम्बर गुल्मबाट सहायक प्रहरी निरीक्षक सुमनकुमार बिकको कमाण्डमा गएको नौ सदस्यीय टोलीले उद्वार गरेको हो।
यसअघि शुक्रबार मात्रै माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवित उद्वार भएको थियो। करिब २ सय १६ घण्टापछि सप्तरीको तिलाठी कोइलाडी–४ का सन्जय साह र काठमाडौंका कबिर मर्हजनलाई उद्वार गरिएको थियो।
लगातार दुई दिन सुरुङभित्रबाट मानिस जीवितै भेटिएपछि उद्वारको दायरा आयोजनाका सुरुङ, विद्युतगृह र अन्य संरचनाबाट बाहिर पुरिएका घर तथा बस्तीहरूतर्फ समेत विस्तार गर्नुपर्ने अवस्था देखिएको छ।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवागढीदेखि धादिङको गलौंदीसम्मका बस्ती तथा भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ। कतिपय घर पूर्णरूपमा पुरिएका छन् भने कतिपय बाढीको बहावले पल्टिएका वा भग्नावशेषमा परिणत भएका छन्।
यस्ता संरचनाभित्र मानिसहरू च्यापिएर बाँचेका हुनसक्ने सम्भावना शनिबारको उद्वारपछि थप गम्भीर रूपमा देखिएको छ। त्यसैले सुरुङ तथा जलविद्युत आयोजनामा केन्द्रित खोजीलाई मात्र निरन्तरता दिनेभन्दा बाढी प्रभावित घर, बस्ती र भग्नावशेषको पुनः खोजी गर्नुपर्ने आवश्यकता देखिएको छ।
भोटेकोशी बाढीको ११औँ दिनसम्म पनि रसुवा र आसपासका विभिन्न जलविद्युत आयोजनाबाट ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। कठिन भौगोलिक अवस्था, लगातारको वर्षा, नदीको बढ्दो सतह, सुरुङ तथा विद्युत्गृहमा जमेको पानी र उपकरण आयोजना स्थलसम्म पु¥याउन देखिएको समस्याका कारण खोज तथा उद्वार अभियान चुनौतीपूर्ण बनेको छ।
यस्तो अवस्थामा एकै दिन सुरुङबाट एक चिनियाँ नागरिक र पुरिएको घरबाट एक नेपाली महिलाको जीवित उद्वार हुनुले लामो समयदेखि सम्पर्कविहीन मानिसको खोजीमा आशा थपेको छ। साथै, उद्वार टोलीले सुरुङभित्र मात्रै होइन, बाढीले पुरिएका र भत्किएका घरका संरचनामा समेत जीवनको सम्भावना खोज्नुपर्ने अर्को महत्वपूर्ण सन्देश दिएको छ।


