श्रीमान् खोजिदिन रोएकी महिलाको भिडियोमा घृणाको बाढी, रास्वपाकै सांसदहरू आजित

काठमाडौँ– भोटेकोशी बाढीमा श्रीमान् बेपत्ता भएपछि काखमा दूधे बालक च्यापेर ‘मेरो मान्छे खोजिदिनुस्’ भन्दै सरकारसँग गुहार मागिरहेकी महिलाको भिडियोले सामाजिक सञ्जालमा फैलाएको अर्को दृश्य उद्वारस्थलको होइन, घृणाको हो।

पीडामा रहेकी ती महिलाको चरित्रमाथि प्रश्न उठाउने, खिसिट्युरी गर्ने र भद्दा टिप्पणी गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरू सामाजिक सञ्जालका ती प्रतिक्रियाप्रति सार्वजनिक रूपमा असन्तुष्ट देखिएका छन्।

पीडित महिलाले श्रीमानको अवस्था पत्ता लगाइदिन सरकारसँग आग्रह गर्दै आक्रोश पोखेको भिडिओमा सरकारको आलोचना गरेको भन्दै उनलाई निशाना बनाइएको छ। उनका शब्द र अवस्थालाई बुझ्ने प्रयासभन्दा चरित्रहत्या र अशोभनीय टिप्पणीलाई प्राथमिकता दिइएपछि रास्वपाकी सहमहामन्त्री एवं सांसद निशा डाँगी, सांसद रञ्जु दर्शना र गणेश कार्कीले सामाजिक सञ्जालबाटै आपत्ति जनाएका हुन्।

डाँगीले बाढीले श्रीमान् गुमाएकी महिलाको पीडा बाहिर बसेर नाप्न नसकिने बताएकी छिन्। काखमा बच्चा, आँखामा आँसु र प्रियजनको अवस्थाबारे कुनै सूचना नभएको अवस्थामा उनले पोखेको आक्रोशलाई राजनीतिक विरोधका रूपमा मात्र बुझ्नु गलत हुने उनको भनाइ छ।

‘बाढीले श्रीमान् खोसेको छ। काखमा आफ्नो बच्चा छ। आँखामा आँसु छ, अनि मनमा एउटै प्रश्न, मेरो श्रीमान् कहाँ हुनुहुन्छ ?’ डाँगीले लेखेकी छिन्। उनले राज्य संयन्त्रप्रतिको आक्रोश र आफ्नो परिवारलाई बचाउन नसक्दाको विवशता जस्ता भावनालाई बाहिर बसेर मूल्याङ्कन गर्न नसकिने बताएकी छिन्। ती महिला भिडियोमा कुनै ‘तमासा’ देखाइरहेकी नभई आफ्नो पीडा र असहायपन पोखिरहेको उनको भनाइ छ।

तर उनलाई सबैभन्दा बढी दुःख लागेको विषय भिडियोमा महिलाले बोलेको कुरा नभई त्यसको कमेन्ट सेक्सनमा देखिएको घृणा हो। ‘कसैको जीवन उजाडिएको बेला हामी यति कठोर कसरी हुन सक्छौँ ? कसैको संसार भत्किँदा हामीलाई व्यङ्ग्य गर्न, गाली गर्न र दोष लगाउन किन यति सजिलो हुन्छ ?’ डाँगीले प्रश्न गरेकी छिन्।

उनले भोटेकोशी बाढीबाट घर, परिवार र सपना गुमाएका मानिसहरू अहिले कसरी बाँचिरहेका छन् भन्ने कल्पना गर्न आग्रह गरेकी छिन्। आफ्ना प्रियजनको एउटा फोन, एउटा खबर वा एउटा झलकको प्रतीक्षामा बसेका परिवारको पीडा पूर्ण रूपमा महसुस गर्न नसके पनि कम्तीमा त्यसको सम्मान गर्न सकिने उनको भनाइ छ।

डाँगीले सरकारको कामको मूल्याङ्कन गर्ने समय पछि पनि आउने बताएकी छिन्। सरकार राम्रो गरिरहेको भए त्यसको मूल्याङ्कन हुने र कमजोरी भए प्रश्न उठाउने समय पनि आउने भन्दै उनले अहिले विपत्तिको बीचमा पीडितमाथि नै घृणात्मक टिप्पणी गर्ने अधिकार कसैलाई नभएको बताएकी छिन्।

‘आफ्नै मान्छे हराएको बेला कोही रोयो, करायो, रिसायो भने उसलाई सम्हाल्ने कि उसको चरित्रमाथि प्रश्न उठाउने ?’ उनले प्रश्न गरेकी छिन्। रास्वपाकी अर्की सांसद रञ्जु दर्शनाले पनि उही भिडियोमाथि आएका प्रतिक्रियाप्रति गम्भीर खेद व्यक्त गरेकी छिन्। उनले पीडित महिलाले सरकारलाई गाली गरेको आफूलाई पनि राम्रो नलागेको स्पष्ट पारेकी छिन्। तर त्यो आक्रोशभन्दा धेरै गहिराइमा आफ्नो मान्छे फर्केर आउने आशा रहेको उनले बताएकी छिन्।

‘ती दिदीको जीवनमा प्रलय गएको छ, भोलिको अनिश्चितताले मन काँपेको छ,’ दर्शनाले भनेकी छिन्, ‘उनले सरकारलाई गाली पनि गरिरहनुभएको छ, मलाई पनि राम्रो लागेन तर त्यो गालीभन्दा माथि धेरै पर मनको कुनामा आशा छ आफ्नो मान्छे आउनुहुन्छ फर्केर भन्ने।’

अकल्पनीय र अन्यायपूर्ण घटना हुँदा मानिस भगवानसँगसमेत रिसाउने र झोक्किने उदाहरण दिँदै दर्शनाले पीडामाथि खिसिट्युरी गर्ने र अशोभनीय टिप्पणी गर्ने प्रवृत्ति स्वीकार्य नभएको बताएकी छिन्। ‘यसरी कसैको पीडामाथि खिसिट्युरी गर्दै, अशोभनीय टिप्पणी गरेको हुँदै भएन। त्यसप्रति गम्भीर खेद व्यक्त गर्दछु,’ उनले भनेकी छिन्।

सांसद गणेश कार्कीले पनि विपत्तिमा परेका व्यक्तिको आक्रोशलाई अस्वाभाविक मान्न नहुने बताएका छन्। प्रत्येक व्यक्तिले आफ्नो पीडा अरूले अपेक्षा गरेकै भाषा, व्यवहार वा शैलीमा व्यक्त गर्न नसक्ने भन्दै उनले पीडितको आक्रोशमाथि गालीगलौज गर्नु मानवीय व्यवहार नभएको बताएका छन्।

‘पीडित आक्रोशित हुनु प्राकृतिक हो। हरेक मान्छेले आफ्नो पीडा अर्को कसैले चाहेकै भाषा, व्यवहार र तरिकामा नपोख्न सक्छ,’ कार्कीले भनेका छन्, ‘यस्तोमा पीडितको आक्रोशको प्रतिक्रियामा गालीगलौजमा उत्रिने मान्छेले न मानवीयताको पक्षपोषण गर्छ, न मुलुकको, न पार्टीको।’

उद्धारको पीडाबीच सामाजिक सञ्जालको अर्को संकट
भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको ११ दिन भइसकेको छ। कतिपय परिवार अझै आफ्ना आफन्तको खोजीमा छन्। यहीबीच बाढी प्रभावित परिवारका भिडियो र अभिव्यक्ति सामाजिक सञ्जालमा आउन थालेका छन्।

पीडित परिवारका लागि सामाजिक सञ्जाल आफ्ना कुरा राज्यसम्म पु¥याउने माध्यम बनेको छ। तर त्यही माध्यममा उनीहरूको पीडालाई राजनीतिक पक्षधरता, गालीगलौज र व्यक्तिगत आक्रमणसँग जोड्ने प्रवृत्तिले अर्को समस्या सिर्जना गरेको छ।

श्रीमानको अवस्थाबारे केही थाहा नपाएकी महिला काखमा बच्चा च्यापेर राज्यसँग आफ्नो मान्छे खोजिदिन आग्रह गरिरहेकी थिइन्। उनको आक्रोश सरकारको आलोचना हुन सक्छ, तर त्यसलाई आधार बनाएर उनको चरित्रमाथि प्रहार गर्नु फरक विषय हो।

यही सीमारेखा रास्वपाका सांसदहरूले औंल्याएका छन्। यो प्रसंगले राजनीतिक दलका समर्थक र सामाजिक सञ्जाल प्रयोगकर्ताको व्यवहारमाथि पनि प्रश्न उठाएको छ। आफ्नै पक्षको बचाउ गर्ने क्रममा पीडित व्यक्तिमाथि आक्रमण गर्ने प्रवृत्तिले अन्ततः राजनीतिक बहसलाई असहमतिको ठाउँबाट घृणाको ठाउँमा पु¥याउने जोखिम हुन्छ।

सरकारको उद्वार कार्यबारे प्रश्न उठाउन पाइन्छ। सरकारका कमजोरीमाथि आलोचना गर्न पाइन्छ। सरकारको कामको समर्थन गर्न पनि पाइन्छ। तर विपत्तिमा आफ्ना प्रियजन गुमाएर राज्यसँग गुहार मागिरहेको व्यक्तिको चरित्र हत्या गरेर कुनै राजनीतिक पक्ष बलियो हुँदैन। रास्वपाकै सांसदहरूले सार्वजनिक रूपमा यस्तो टिप्पणीप्रति आपत्ति जनाउनुको अर्थ पनि यही हो—सरकारको बचाउ र पीडितको अपमान एउटै कुरा होइन।

भोटेकोशी बाढीले मानवीय क्षति मात्र निम्त्याएको छैन, संकटका बेला समाज कति संवेदनशील रहन्छ भन्ने प्रश्न पनि अगाडि ल्याएको छ। उद्वार टोलीले भग्नावशेष र सुरुङमा जीवन खोजिरहेको बेला सामाजिक सञ्जालमा भने मानवीय संवेदनामाथि प्रश्न उठ्ने गरी अर्को किसिमको ‘बाढी’ देखिएको छ।

एउटी महिला आफ्नो श्रीमान् खोजिदिन रोइरहेकी छिन्। काखमा बच्चा छ। परिवार प्रतीक्षामा छ। यस्तो बेला उनको राजनीतिक विचार खोज्ने कि उनको पीडा बुझ्ने—बहस त्यहीँबाट सुरु हुन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट