भोटेकोशी बाढीले कारागार भत्काउँदा ५० कैदीबन्दी भागे, यसरी भयो नियन्त्रण
काठमाडौँ— रसुवाको भोटेकोशीमा आएको बाढीले नुवाकोटको विदुर–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारको संरचना नै जोखिममा परेका बेला ५० कैदीबन्दी बाहिर निस्किएको घटना सार्वजनिक भएको छ। बाढीले कारागारको पर्खाल र गेट भत्काएपछि करिब १०० मिटर टाढासम्म पुगेका उनीहरूलाई सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीले पुनः नियन्त्रणमा लिएका हुन्।
प्रधानमन्त्री बालेन्द्र साहले सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई सम्बोधन गर्दै सार्वजनिक गरेको विवरणअनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले कारागार क्षेत्रका संरचनामा क्षति पुर्याउँदै गएपछि त्यहाँ रहेका ९२३ कैदीबन्दीलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो। कारागारमा दुई भवनमा राखिएका कैदीबन्दीलाई माथिल्लो भवनमा सार्ने काम ५२ जना सुरक्षाकर्मीको टोलीले गरेको थियो।
बाढीको बहाव बढ्दै जाँदा कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोस्ट र पर्खालसमेत क्षतिग्रस्त भए। केहीबेर अघिसम्म कैदीबन्दी राखिएको भवनको पहिलो तलासम्मै लेदोसहितको बाढी पसेको थियो। संरचना भत्किने र बाढी थप फैलिन सक्ने जोखिमबीच सुरक्षाकर्मीले कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्ने काम गरेका थिए।
त्यही क्रममा बाढीको मौका छोपेर पर्खाल र गेट तोड्दै ५० कैदीबन्दी बाहिर निस्किए। प्रधानमन्त्री साहले उनीहरू करिब १०० मिटरसम्म भागिसकेको उल्लेख गरेका छन्। सुरक्षाकर्मीले तत्काल खोजी गरी उनीहरूलाई पुनः नियन्त्रणमा लिएका थिए।
भाग्न नपाएका केही कैदीबन्दीले सुरक्षाकर्मीमाथि आक्रमणसमेत गरेको विवरण प्रधानमन्त्रीको फेसवुक पोस्टमा छ। त्यस क्रममा केही सुरक्षाकर्मी घाइते भएका थिए। बाढीको जोखिमबीच उनीहरूले कारागार वरपरका स्थानीय बासिन्दाको सुरक्षामा समेत ध्यान दिएका थिए।
घटनाको अर्को पाटो भने अहिले पनि कारागारको अवस्था सामान्य भइनसकेको हो। सुरक्षाकर्मी बस्ने ब्यारेक र कार्यालय लेदोले पुरिएका छन्। कारागारसम्म पुग्ने पहुँचमार्ग बाढीले बगाएपछि आवतजावत सहज छैन। खानेपानीको व्यवस्थासमेत प्रभावित भएको छ।
यस्तो अवस्थामा सुरक्षाकर्मीले टाढाबाट आफैँ पानी बोकेर कैदीबन्दीलाई खुवाउनेदेखि खेतका आलीलाई अस्थायी बाटोका रूपमा प्रयोग गरेर आवतजावत गर्ने र बाढीले थुपारेको लेदो तथा भग्नावशेषबीच ड्युटीमा खटिने काम गरिरहेका छन्।
प्रधानमन्त्री साहले नुवाकोट कारागारको घटनालाई विपद्का बेला सुरक्षाकर्मीले सामना गरेको अनेकौँ चुनौतीमध्ये एउटा उदाहरणका रूपमा प्रस्तुत गरेका हुन्। उनका अनुसार भोटेकोशी–त्रिशूली बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासबाट प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ३ सय ९१ जनाको उद्वार गरिएको छ।
उद्वारका क्रममा स्थलमार्ग र हेलिकप्टरको प्रयोगसँगै कतिपय स्थानमा सुरक्षाकर्मीले घाइतेलाई आफ्नै काँधमा बोकेर अस्पताल पु¥याएका छन्। बाढीपछि भेटिएका शवको संवेदनशील व्यवस्थापन, प्रभावित क्षेत्रमा महामारी तथा संक्रामक रोग फैलिन नदिन अपनाइएको सतर्कता र अस्थायी शिविरमा रहेका पीडितको मनोबल बढाउने काममा पनि सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्रीको विवरणमा उल्लेख छ।
बाढीले सडक, पुल, भवन र बस्तीमा क्षति पु¥याएर भौगोलिक पहुँच नै अवरुद्ध पारेका कारण खोज तथा उद्वारका लागि सुरक्षाकर्मीले थप जोखिम मोल्नुपरेको छ। दलदल र भग्नावशेषमा खोजी गर्नुपर्ने अवस्था रहे पनि उनीहरू निरन्तर परिचालनमा छन्।
यसैबीच बाढीमा सुरक्षाकर्मी आफैँ पनि प्रभावित भएका छन्। प्रधानमन्त्री साहले नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेको उल्लेख गरेका छन्। आफ्नै सहकर्मी सम्पर्कविहीन रहेको पीडाबीच पनि सुरक्षाकर्मी खोज तथा उद्वारमा खटिरहेको उनको भनाइ छ।
विपद्पछि तीनवटै सुरक्षा निकायले आफ्नो छुट्टाछुट्टै संरचना परिचालन गरे पनि प्रभावित क्षेत्रमा उनीहरूको संयुक्त प्रतिकार्य अघि बढेको छ। नेपाली सेनाले बाढी आएको लगत्तै सैनिक मुख्यालयको योजनाअनुसार नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ स्थापना गरेर उद्वार सञ्चालन गरेको छ।
रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सकसहितको ‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालनमा ल्याइएको छ। कठिन भूगोलमा सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गर्दै खोज तथा उद्वारको नेतृत्व गरिरहेको छ। विद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोजी तथा उद्वारमा समेत सेना परिचालन भएको छ। त्यसका लागि सशस्त्र प्रहरी बलका विशेष खोज तथा उद्वार टोली र नेपाल प्रहरीको ‘डग टिम’ पनि परिचालन गरिएको छ।
बाढीपछि अवरुद्ध सडक तथा आवागमन खुलाउन सेनाले बेलीब्रिज निर्माण र बाटो खोल्ने कामलाई पनि तीव्रता दिएको छ। नुवाकोटको देवीघाटमा नेपाली सेनाका इन्जिनियरले ‘एक्रो ब्रिज’ जडान गरिरहेका छन्। प्रधानमन्त्रीका अनुसार अहिले प्रभावित क्षेत्रमा ९ हजार २ सय ८७ जना नेपाली सेना परिचालनमा छन्।
नेपाल प्रहरीले पनि सुरुआतदेखि नै प्रभावित क्षेत्रमा खोज, उद्वार र राहत वितरणको काम गरिरहेको छ। तालिमप्राप्त कुकुरको टोली खोजी तथा उद्वारमा प्रयोग गरिएको छ। घाइतेलाई तत्काल अस्पताल पु¥याउने र भेटिएका शवको व्यवस्थापनमा पनि प्रहरीले नेतृत्व गरिरहेको छ।
जोखिमपूर्ण क्षेत्रमा नागरिकलाई निरन्तर सूचना प्रवाह गर्ने, सम्भावित जोखिमबारे सचेत गराउने र बाढी प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी पनि प्रहरीकै काँधमा छ। हाल प्रभावित क्षेत्रमा ७ हजार ९ सय ७५ जना नेपाल प्रहरी खटिएको विवरण प्रधानमन्त्री साहले दिएका छन्।
सशस्त्र प्रहरी बलले भने विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त गोताखोर, डोरी टोलीलगायत जनशक्ति परिचालन गरेको छ। उर्लँदो भोटेकोशी–त्रिशूलीको जोखिमबीच प्रत्यक्ष खोज तथा उद्वारका लागि विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट र १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको छ।
खोजीमा ड्रोन स्क्वाड र केनाइन टोली पनि परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा उपचार सेवा सञ्चालन गर्नुका साथै नेपाल–चीन सीमामा नेपाली झण्डा स्थापना गर्ने कामसमेत सशस्त्र प्रहरीको टोलीले गरेको प्रधानमन्त्रीको विवरणमा उल्लेख छ। हाल प्रभावित क्षेत्रमा ४ हजार २ सय ३ जना सशस्त्र प्रहरी परिचालनमा छन्।
बाढीपछि प्रभावित क्षेत्रमा उद्वार र खोजीको काम केवल मानिसलाई सुरक्षित स्थानमा पु¥याउने विषयमा सीमित छैन। बेपत्ता भएका व्यक्तिको खोजी, शव पहिचान, शव व्यवस्थापन, घाइतेको उपचार, महामारीको जोखिम नियन्त्रण, अस्थायी शिविरको सुरक्षा र अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने काम पनि सुरक्षा निकायको जिम्मेवारीमा परेको छ।
प्रधानमन्त्री साहले विपद्का बेला खटिएका सुरक्षाकर्मीको मनोबल उच्च राख्न कमाण्ड तहबाट निरन्तर समन्वय र निर्देशन भइरहेको बताएका छन्। प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी आफैँ जोखिममा पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै मुख्यालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टबाट आवश्यक निर्देशन र समन्वय भइरहेको उनको भनाइ छ।


