एघारौँ दिनसम्म घर फर्किएनन् श्रीमान, देउरानी–जेठानीको अन्तिम आशा डीएनए परिक्षण
चितवन— भरतपुरस्थित उद्योग संघको भवनमा राखिएका तस्बिरका पंक्तिमा आँखा दौडाउँदा गोमा विक र फूलमाया विकको अनुहारमा एउटै प्रश्न थियो— यीमध्ये कुनै तस्बिर आफ्ना श्रीमानको त होइन? शनिबार साँझ ५ बज्नै लाग्दा उनीहरू भवनअगाडि पुगेका थिए। यात्राको थकानभन्दा उनीहरूको अनुहारमा १० दिनदेखि हराइरहेका श्रीमानको खोजीमा दौडधुप गर्दाको बेचैनी र अनिश्चितता बढी देखिन्थ्यो।
सिन्धुपाल्चोकको भोटेकोसीदेखि चितवनसम्मको यात्रा उनीहरूका लागि सामान्य यात्रा थिएन। बाटोभरि उनीहरूले एउटै आशा बोके— बाढीमा बेपत्ता भएका श्रीमानको कुनै खबर भेटिएला कि, कम्तीमा उनीहरूको शव पहिचान गर्न सकिएला कि।
गोमा र फूलमाया नाताले देउरानी– जेठानी हुन्। तर भोटेकोसीमा आएको भीषण बाढीले उनीहरूलाई एउटै पीडामा उभ्याइदिएको छ। गोमाका श्रीमान् पूर्ण विक र फूलमायाका श्रीमान् शुकलाल विक सहोदर दाइभाइ हुन्। दुवै जना बाढीपछि बेपत्ता छन्।
बाढी आएको ११ दिन बितिसक्दा पनि उनीहरू घर फर्किएका छैनन्। उनीहरू जीवित छन् भन्ने आशा पनि क्रमशः कमजोर हुँदै गएको छ। तर शव भेटिने र पहिचान हुने आशाले गोमा र फूलमायाको खोजी रोकिएको छैन।
भदौ ९ गते साँझसम्म गोमाको श्रीमान् पूर्णसँग कुराकानी भएको थियो। त्यसपछि भने फोन सम्पर्क भएन। ‘९ गते बेलुकासम्म कुरा भएको थियो,’ गोमा विगत सम्झिँदै गला अवरुद्ध पार्छिन्, ‘१० गते त त्यो घटना भइहाल्यो।’
त्यो फोन कुराकानी नै श्रीमानको अन्तिम आवाज बन्नेछ भन्ने कल्पना उनले गरेकी थिइनन्। पूर्ण र शुकलाल दुवै गाडी चालक थिए। उनीहरू परिवारको मुख्य आर्थिक आधार थिए। घरखर्चदेखि बालबच्चाको जिम्मेवारीसम्म उनीहरूकै कमाइमा निर्भर थियो। ‘हाम्रो त कमाइदिने, ल्याइदिने उहाँहरू नै हो,’ फूलमायाले रुँदै भनिन्, ‘हामी त कहीँ गएर कमाएर ल्याउन सक्ने अवस्थामा छैनौँ।’
श्रीमान बेपत्ता भएपछि उनीहरूको समस्या खोजीमै मात्र सीमित रहेन। आफूले चलाउने गाडीको नम्बर र गाडीधनीको नामसमेत थाहा नहुँदा उनीहरूका लागि खोजी झन् कठिन भएको छ। फूलमायाका अनुसार गाडीका साहुबाट समेत अहिलेसम्म परिवारलाई सम्पर्क भएको छैन। ‘हामीलाई गाडी नम्बर पनि थाहा छैन। साहुजीले पनि अहिलेसम्म एककल फोन गरेर ‘मेरो गाडी चलाएको थियो’ भनिदिए हुन्थ्यो, तर कसैले सम्पर्क गरेका छैनन्,’ फूलमायाको गुनासो छ।
श्रीमानको खोजीमा उनीहरूले सम्भावित सबै ठाउँ चहारे। काठमाडौंका अस्पतालदेखि प्रहरी चौकीसम्म पुगे। तर कुनै ठाउँमा पनि पूर्ण र शुकलालबारे ठोस खबर छैन। भोटेकोसीको माथिल्लो क्षेत्रतर्फ, चीनको सीमासम्म पुगेर खोजी गर्ने उनीहरूको इच्छा पनि पूरा हुन सकेन।
‘हामी काठमाडौंका हस्पिटलहरू, प्रहरी चौकी, सबै ठाउँ पुगिसक्यौँ,’ फूलमाया भन्छिन्, ‘माथि चीनको सिमानातिर जान पाइँदैन, हामीलाई जान दिँदैनन्। त्यसैले अन्तिम आशा बोकेर यहाँ आएका हौँ।’
दस दिनसम्म निरन्तर खोजी गर्दा पनि श्रीमानको फोन आएन। त्यसपछि जीवित भेटिने आशा उनीहरू आफैँभित्र कमजोर हुन थाल्यो। ‘अब त आशा छैन,’ फूलमाया भन्छिन्, ‘ज्यूँदो हुनुभएको भए यतिखेरसम्म फोन आउँथ्यो होला। फोन पनि आएको छैन।’
तर आशा पूरै सकिएको छैन। जीवित भेटिने सम्भावना कम देखिए पनि श्रीमानको शव वा पहिचान गर्न सकिने कुनै अंश भेटिन्छ कि भन्ने आशाले उनीहरू चितवन आइपुगेका हुन्। भरतपुर महानगरपालिका–१० स्थित उद्योग संघको कार्यालयमा बाढीपहिरोमा ज्यान गुमाएका तथा अझै सनाखत हुन नसकेका शवका तस्बिरहरू राखिएका थिए। उनीहरू त्यही तस्बिरमा आफ्ना श्रीमानको अनुहार खोज्न पुगे।
‘फोटो चिनियो भने लास हेर्न मिल्छ कि भनेर अन्तिमचोटी हेर्न आएका हौँ,’ उनीहरूले भने। तर तस्बिर हेरेर पनि उनीहरूले खोजेको अनुहार भेटिएन। घरमा भने स–साना बालबालिका बाबुको प्रतीक्षामा छन्। गोमाका तीन छोरा छन्। फूलमायाका दुई साना बालबालिका छन्। बाढीले उनीहरूका श्रीमान मात्र वेपत्ता पारेको छैन, परिवार चलाउने मुख्य आधारसमेत खोसिएको छ।
गोमाको पीडा उनको एउटा वाक्यमै अटाउँछ। ‘बालबच्चा छन्, सोधिदिने, खोजिदिने मान्छे कोही छैन। हामी त हारिसक्यौँ,’ उनी आँसु झार्दै भन्छिन्। खोजीका क्रममा उनीहरूले नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा बेपत्ता व्यक्ति तथा सनाखत हुन नसकेका शवका तस्बिर र विवरण राखिएको जानकारीसमेत पूर्ण रूपमा पाएका थिएनन्। त्यसैले चितवन आएर प्रत्यक्ष रूपमा तस्बिर हेर्ने निर्णय उनीहरूले गरे।
तर त्यहाँ पनि श्रीमानको पहिचान हुन सकेन। श्रीमान जीवित भेटिने आशा कमजोर भएपछि गोमा र फूलमायाका लागि डीएनए परीक्षण अन्तिम भरोसा बनेको छ। उनीहरूले आवश्यक नमुना दिएर डीएनए परीक्षणको प्रक्रिया अघि बढाएका छन्। अब उनीहरूको प्रतीक्षा रिपोर्टको छ। ‘हामीले डीएनए चेक गर्न दिएका छौँ,’ फूलमाया भन्छिन्, ‘अन्तिम आशा भनेकै त्यही एउटा हो।’
सरकारसँग उनीहरूको माग पनि ठूलो छैन। उनीहरूलाई राहत, क्षतिपूर्ति वा अरू कुनै घोषणा भन्दा पहिले श्रीमानको अवस्था थाहा पाउनुछ। ‘सरकारले त्यो डीएनए चेक छिटोभन्दा छिटो गरिदियोस्,’ गोमा र फूलमायाको आग्रह छ, ‘ढिलो नगरिदिनुहोस्, हामी गरिबलाई यति सहयोग गरिदिनुहोस्।’
उनीहरूका लागि डीएनए परीक्षण केवल वैज्ञानिक पहिचानको प्रक्रिया होइन, अनिश्चिततामा रोकिएको परिवारलाई अन्तिम जवाफ दिने माध्यम हो। अहिलेको अर्को ठूलो समस्या उनीहरूले चलाइरहेको गाडी र त्यसका साहुजी को हुन् भन्ने पत्ता नलाग्नु हो। यदि गाडीधनी वा दुर्घटनाबारे जानकारी राख्ने कसैलाई उनीहरूको अवस्थाबारे जानकारी छ भने सम्पर्क गरिदिन परिवारले अपिल गरेको छ।
गाडीधनीले सम्पर्क गरेमा श्रीमान कुन ठाउँबाट हराए, कुन गाडीमा थिए र बाढीको समयमा उनीहरूको अवस्था के थियो भन्नेबारे खोजीलाई थप आधार मिल्न सक्ने परिवारको अपेक्षा छ। ‘साहुजीमा अलिकति धर्म छ, मनमा अलिकति दया छ भने हामीलाई सम्पर्क गरिदिनुहोला,’ फूलमायाको बिन्ती छ, ‘हाम्रो नम्बर मिडियामा राखिदिनुहोला।’
भोटेकोसीको भेलले पूर्ण र शुकलाललाई कहाँ पु¥यायो भन्ने अझै अज्ञात छ। दुई परिवार भने ११ दिनदेखि एउटै अनिश्चिततामा छन्। उनीहरूका लागि अब खोजीको अन्तिम गन्तव्य कुनै अस्पताल, प्रहरी चौकी वा नदीकिनार मात्र होइन—डीएनए रिपोर्टले दिने एउटा निश्चित जवाफ हो।



