‘थुक्छु यार यस्तो पोलिटिक्सलाई’ भन्ने सुधन गुरुङ एक वर्षमै कसरी भए राजनीतिका मास्टरः भन्छन्– ‘हामी सिकाउन आएका हौँ’

काठमाडौँ– एक वर्षअघि सुधन गुरुङ राजनीतिसँगै दिक्क थिए। राजनीति देश बनाउने माध्यम हुनुपर्ने, तर आफूले देखेको राजनीति स्वार्थ, शक्ति र खेलमा अल्झिएको भन्दै उनी आक्रोशित हुन्थे। त्यतिबेला उनको मुखबाट निस्किएको एउटा वाक्य थियो—‘थुक्छु यार यस्तो पोलिटिक्सलाई।’

एक वर्षपछि त्यही व्यक्ति राजनीतिको आलोचकको भूमिकाबाट सरकारको शक्तिशाली जिम्मेवारीमा पुगेका छन् र सार्वजनिक मञ्चबाट पुराना पुस्तालाई राजनीति सिकाउने दाबी गरिरहेका छन—‘हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन।’

यी दुई अभिव्यक्तिबीचको दूरी केवल शब्दको दूरी होइन। २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदाएका गुरुङ अहिले गृहमन्त्री छन्। यस अवधिमा उनले राष्ट्रपति, संविधान, निर्वाचन, सरकार, राजनीतिक दल, पत्रकारिता र आफ्नै सम्पत्तिबारे दिएका अभिव्यक्तिहरूले सार्वजनिक बहसलाई पटकपटक तताएका छन्।

कहिले राष्ट्रपतिलाई शीतल निवासबाट ‘थुत्ने’ चेतावनी, कहिले संविधान खारेज गर्ने कि नगर्ने भन्ने निर्णय १५ मिनेटमा गर्नुपरेको प्रसंग, कहिले निर्वाचन हुनै नदिने घोषणा, त कहिले आफूलाई मत दिएका नागरिकलाई ‘भोट फिर्ता लैजान’ आग्रह। गुरुङको एक वर्ष राजनीतिक अभिव्यक्तिको तीव्र उतारचढावको समय बनेको छ।

‘थुक्छु यार यस्तो पोलिटिक्सलाई’
२०८२ भदौ २६ मा गुरुङको सार्वजनिक अभिव्यक्तिमा राजनीतिप्रतिको वितृष्णा स्पष्ट सुनिन्थ्यो। ‘दिमागमा धेरै स्ट्रेस भइसक्यो, एकदमै,’ भावुक हुँदै उनले भनेका थिए, ‘कसले पोलिटिक्स खेल्छ, कसले के खेल्छ? आफूलाई देश मात्रै बनाउन इच्छा छ। आफूलाई अरू केही इच्छा नै छैन।’

उनको प्रश्न राजनीतिमाथि नै थियो—‘के हो यो पोलिटिक्स भनेको यार?’ उनका लागि राजनीति देश बनाउने माध्यम हुनुपर्ने थियो। तर उनले देखेको राजनीतिक अभ्यास त्यसको ठीक उल्टो भएको उनको गुनासो थियो। ‘पोलिटिक्स भनेको देश बनाउने होइन र? के आफ्नो स्वार्थ गर्न पोलिटिक्स खेल्ने हो र?’ उनले भनेका थिए, ‘यस्तो पनि पोलिटिक्स हुन्छ, थुक्छु यार यस्तो पोलिटिक्सलाई त!’

त्यस समय गुरुङ सत्ता र राजनीतिको बाहिरी घेरामा रहेका एक आन्दोलनकारी युवाका रूपमा प्रस्तुत हुन्थे। तर केही दिनमै उनको भाषणको अर्को पाटो देखियो—राज्यको सर्वोच्च संवैधानिक पदमा रहेका राष्ट्रपतिप्रतिको आक्रामक चेतावनी।

भदौ २६ कै दिन पुरुषोत्तम यादव, जेम्स कार्की, ओजस्वी भट्टराईलगायत युवाहरू रहेको समूहमा सेनाका एक उच्च अधिकृतसँग फोनमा कुराकानी गर्दै गुरुङले राष्ट्रपति कार्यालय घेराउ गर्ने चेतावनी दिएका थिए। उनले १०–११ बजेसम्म निर्णय नभए राष्ट्रपति कार्यालय घेर्ने बताएका थिए।

‘नेपाली जनता सबैले घेराउ गर्छौं,’ उनले भनेका थिए, ‘हजुरहरूले सुटिङ गर्नुहुन्छ होला आफ्नो ठाउँमा छ। यत्तिकै मर्ने, उत्तिकै मर्ने हो दाइ।’ उनले नेपाली सेनाले उद्वार तथा व्यवस्थापनका लागि प्रयास गरिरहेको र प्रधानसेनापतिले पनि प्रयास गरिरहेको उल्लेख गर्दै राष्ट्रपतिमाथि भने राजनीतिक भूमिका खेलेको आरोप लगाएका थिए।

‘तर अझै पनि रामचन्द्र पौडेलले नेपाली कांग्रेसको भएकाले राजनीति खेलेको छ दाइ,’ उनले भनेका थिए, ‘मेरो देशको सवाल छ दाइ, म गोली खान तयार छु। हामी सबै तयार छौं।’ त्यसपछि आएको उनको अर्को वाक्य झन् चर्चित बन्यो—‘अब पनि भएन भने रामचन्द्र पौडेललाई थुत्ने पहिलो हात मेरो नै हुन्छ। मैले भनिसकेँ।’

भदौ २९ मा गुरुङको निशाना फेरि राष्ट्रपतिमाथि नै थियो। आफूलाई ‘भारतीय सुधन गुरुङ’ भनेर आलोचना नगर्न आग्रह गर्दै उनले आफू नेपालको छोरो भएको बताएका थिए। उनले विभिन्न समयमा आफूलाई बारबरा फाउन्डेसन, फ्रि–टिबेट वा चिनियाँ पक्षसँग जोडेर टिप्पणी गरिएको भन्दै त्यसको प्रतिवादसमेत गरेका थिए।

राष्ट्रपतिसँग भेटघाटमा देखिएको प्रोटोकलप्रति उनको असन्तुष्टि पनि त्यसै क्रममा सार्वजनिक भयो। ‘राष्ट्रपतिका कहाँ पुग्यो कुरै हुँदैन। यो त रिभोलुसन हो। यो हाम्रो सरकार हो,’ उनले भनेका थिए, ‘अब त जतिखेर पनि भेट्न पाउनुप¥यो नि!’ राष्ट्रपतिले वार्ताका लागि एक्लै बोलाएकोमा समेत उनले असहमति जनाएका थिए। ‘मैले बाजे खै भनेँ। मैले राष्ट्रपति पनि भनिनँ। बाजे खै भनेँ,’ उनले भनेका थिए।

त्यसपछि उनले संवैधानिक पदको मर्यादा र अधिकारमाथि नै प्रश्न उठ्ने खालको अभिव्यक्ति दिए—‘के हो राष्ट्रपति? राष्ट्रपति तब रहन्छ, जब हामी भन्छौं रहन्छ भनेर।’

भदौ ३० मा प्रधानमन्त्री निवास बालुवाटारअगाडि सडकमा गुरुङले आफ्नो आन्दोलनकारी शैलीलाई अझ आक्रामक रूपमा प्रस्तुत गरे। उनको भनाइमा त्यसबेला सबैभन्दा शक्तिशाली पक्ष नेपाली जनता थिए। ‘अहिले सबैभन्दा पावरफुल भनेको नेपाली जनता हो। कसैले हामीलाई रोक्न सक्दैन,’ उनले भनेका थिए।

त्यसै क्रममा उनले आफूहरूले राखेको ठाउँबाट मानिसलाई ‘थुतेर निकाल्न’ सक्ने बताएका थिए। ‘यो ओमप्रकाश के हो? लयर हैन!’ भन्दै उनले ओमप्रकाशसम्बन्धी आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। उनका अनुसार भित्र बसेर आफूलाई गृहमन्त्री बनाउने भूमिका खेलिएको थियो, जबकि उनी आन्दोलनका क्रममा ‘लास–सासमा’ हिँडिरहेका थिए।

यस चरणमा गुरुङको अभिव्यक्तिमा आन्दोलनकारीको असन्तुष्टि र राज्य संरचनामाथिको अविश्वास एकैसाथ देखिन्थ्यो।

संविधानको प्रश्नः ‘१५ मिनेटमा डिसाइड गर्नुपर्छ’
२०८२ असोज ५ मा सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले जेनजी आन्दोलनका क्रममा आफूले भोगेको दबाबबारे विस्तृत रूपमा बताएका थिए। त्यसबेला देशको जिम्मेवारी आफू एक्लैमाथि रहेको उनको दाबी थियो। ‘राष्ट्रपति निवास जाँदा म एक्लै थिएँ,’ उनले भनेका थिए।

संविधान खारेज गर्ने मागबारे निर्णय गर्न आफूलाई निकै छोटो समय उपलब्ध भएको उनको भनाइ थियो। ‘संविधान खारेज गर्ने कि नगर्ने? संविधान खारेज ग¥यो भने के हुन्छ? नग¥यो भने के हुन्छ?’ उनले भनेका थिए, ‘जे जस्तो भए पनि लिम्पियाधुरा हाम्रो हो भन्ने थाहा छ।’

संविधान खारेज गर्दा देशको भू–राजनीतिक अवस्थामाथि असर पर्न सक्ने आशंका आफूलाई रहेको उनले बताएका थिए। त्यसबेला भारतबाट आक्रमण हुनसक्ने भनाइले आफूमा थप दबाब सिर्जना गरेको उनको अभिव्यक्ति थियो। ‘संविधान खारेज गरिदियो भने लिम्पियाधुराहरू सबै जान्छ,’ उनले भनेका थिए, ‘इन्डियाबाट अट्याक गरेर लिन सक्छ भनिराछ।’

उनका अनुसार संविधान खारेज गर्ने वा नगर्ने निर्णयका बीचमा उनले अन्ततः ‘देशै बचाउँछु’ भन्ने निष्कर्ष निकालेका थिए।

चुनावको प्रश्नमा फेरि कठोर अडान
राजनीतिको बाहिरी घेराबाट सत्ता र सरकारको केन्द्रमा पुगेपछि पनि निर्वाचनप्रतिको उनको धारणा नरम भएन। २०८२ माघ १ मा कान्तिपुरको ‘फायरसाइड’ कार्यक्रममा पत्रकार रूपेश श्रेष्ठसँगको कुराकानीमा फागुन २१ गते हुने भनिएको निर्वाचनबारे सोधिएको प्रश्नमा उनको जवाफ स्पष्ट थियो—‘हुँदैन। हामी हुनै दिन्नौं।’

उनको तर्क थियो, यदि सरकारको मुख्य म्यान्डेट निर्वाचन गराउनु मात्रै हो भने त्यो कुरा पहिल्यै स्पष्ट हुनुपर्ने थियो। उनले जेनजीको माग पूरा गर्न संविधान संशोधन आवश्यक पर्ने र त्यसका लागि प्रतिनिधिसभामा दुई–तिहाइ बहुमत चाहिने बताएका थिए।

उनका अनुसार पुराना राजनीतिक दल र तिनको संगठनात्मक संरचनासँग प्रतिस्पर्धा गर्न जेनजी पुस्तालाई तीन महिनाको समय पर्याप्त थिएन। ‘३६ वर्षमा बनाएको संयन्त्रलाई ढाल्न तीन महिना दिएर हुन्छ?’ उनले प्रश्न गरेका थिए। पुराना राजनीतिक दलका नेताहरूप्रति उनको टिप्पणी अझ कठोर थियो। उनीहरूले राजनीतिमा ‘पीएचडी’ गरेको, नेपाललाई कसरी घुमाउने र कसरी पैसा खाने भन्नेमा ‘मास्टर्स डिग्री’ गरेको आरोप लगाउँदै उनले त्यस्ता शक्तिसँग जेनजीले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको बताएका थिए।

सम्पत्तिको बहस र ‘गरिब मर्नु तिम्रो गल्ती हो’
राजनीतिक अभिव्यक्तिसँगै गुरुङको सम्पत्तिसम्बन्धी विषय पनि सार्वजनिक बहसमा आयो। २०८२ चैत ३० मा सम्पत्ति विवरण सार्वजनिक भएपछि आलोचना भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका थिए।

‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो,’ उनले लेखेका थिए। सरकारमा आउनुअघि भ्रष्टाचार नगरी कमाएको सम्पत्ति पाप नभएको र सरकारमा आएर भ्रष्टाचार गरी कमाउनु पाप भएको उनको भनाइ थियो। उनले त्यसलाई ‘चेतना भया!’ भन्दै टुंग्याएका थिए।

पछि सम्पत्तिको स्रोतबारे प्रश्न उठ्दा उनले आफ्नो सम्पत्ति पैतृक भएको र अंशबन्डा हुन बाँकी रहेको बताएका थिए। यसले गुरुङको व्यक्तिगत सम्पत्तिको विषयलाई पनि उनको राजनीतिक भूमिकासँग जोडेर बहस गर्ने अवस्था बनायो।

सत्ता आएपछि नागरिकसँग भनेः ‘भोट फिर्ता लैजानुस्’
सरकारमा पुगेपछि गुरुङका अभिव्यक्तिमा अर्को परिवर्तन देखियो—अब उनी आन्दोलनकारीका रूपमा मात्र बोलिरहेका थिएनन्, सरकारमा रहेका जनप्रतिनिधिका रूपमा नागरिकका प्रश्नको सामना गरिरहेका थिए।

२०८३ साउन ३१ मा गोरखाका एक स्थानीयले चुनावका क्रममा गुरुङले स्थानीय प्रयोगशालाका लागि बजेट व्यवस्था गर्ने आश्वासन दिएको प्रसंग उठाए। उनले त्यसबेला स्वास्थ्य मन्त्रालयका सचिवलाई फोन गरेर आगामी बजेटमा ल्याबका लागि बजेट व्यवस्था गरिदिने बताएका थिए।

तर त्यसपटकको बजेटमा कार्यक्रम नदेखिएको भन्दै स्थानीयले प्रश्न गरे। गुरुङले साना–साना बजेट तथा कार्यक्रमसमेत बजेट किताबमा राख्दै जाने हो भने ‘महाभारतको जत्रो’ हुने जवाफ दिए। ‘चार महिनामा म कायापलट गर्न चाहिँ सक्दिनँ,’ उनले भने, ‘भोट लिएर जानुस् फिर्ता।’

एक वर्षअघि राजनीति देखेर ‘थुक्छु’ भन्ने व्यक्ति अब राजनीतिमै आएर मतदातालाई मत फिर्ता लैजान भन्नेसम्म पुगेको यो अभिव्यक्ति पनि उनको सार्वजनिक बोलीको परिवर्तनको अर्को उदाहरण बन्यो।

अब गुरुङ भन्छन—‘हामी राजनीति सिकाउन आएका हौँ’
२०८३ भदौ २३ मा भने गुरुङको राजनीतिक भाष्य अझ स्पष्ट रूपमा स्थापित भयो। अब उनी राजनीति बुझ्न खोजिरहेका आन्दोलनकारी थिएनन्। आफूहरू राजनीतिलाई नयाँ ढंगले परिभाषित गर्न आएको पुस्ताको सरकार भएको दाबी गर्दै उनले पुरानो पुस्तालाई नै राजनीति सिकाउने घोषणा गरे।

‘हाम्रो भविष्य हामी आफैँ कोर्ने वाला छौं, अरूलाई कोर्ने दिने वाला छैनौं,’ उनले भने। उनले अंग्रेजीमा समेत आफ्नो पुस्ताको राजनीतिक आत्मविश्वास प्रस्तुत गरे—‘We will write our history, we will write our future’।

त्यसपछि आएको उनको सबैभन्दा महत्वपूर्ण दाबी थियो—‘We are here to teach you politics। राजनीति हामी सिकाउन आएको, सिक्न आएको होइन।’ पुरानो राजनीतिक संस्कार परिवर्तन गर्ने उद्देश्यसहित आफूहरू सरकारमा आएको उनको भनाइ थियो। ‘तपाईंहरूको राजनीतिले हाम्रो जनतालाई राज गर्न सिकायो। यो युवाहरूको पुस्ताको सरकार हो, हामी सेवा गर्न सिकाउँछौं,’ उनले भने।

परम्परा र संस्कार परिवर्तन गर्ने दाबी गर्दै उनले आफूहरू चुनाव जितेर, दुई–तिहाइ बहुमतसहित सरकारमा आएको स्मरण गराए। ‘हामी त्यही संस्कार परिवर्तन गर्न आएको,’ उनले भने, ‘चुनाव लडेर, जितेर तपाईंहरूलाई दुई–तिहाइको बहुमत ल्याएर देखाएर आएको सरकार हो।’

भदौ २३ को त्यही कार्यक्रममा गुरुङले आफ्नो राजनीतिक पुस्ता र पुराना राजनीतिक दलबीचको दूरीलाई स्पष्ट शब्दमा व्याख्या गरे। उनले आफूहरू पुराना नेताहरूबाट राजनीतिक पाठ सिक्न नआएको बताए। ‘We are not here to learn from you, we are here to learn from your mistakes,’ उनको भनाइ थियो। पुराना नेताहरूको राजनीतिक संस्कार आफूहरूलाई स्वीकार्य नभएको उनले बताए पनि सुझाव लिन भने आफूहरू तयार रहेको स्पष्ट पारे।

‘कतिपय कुरा अपाच्य होला, कति शब्द नमिल्ला, हाम्रो तौर तरिका नमिल्ला,’ उनले भने, ‘सुझाव लिन तयार छौं।’ तर आफूहरूलाई पुरानै शैलीको नेता बनाउन खोज्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो। उनले आफ्नो अभिव्यक्तिका कारण आलोचना भए पनि त्यसलाई नयाँ पुस्ताको राजनीतिक शैलीसँग जोडेर प्रस्तुत गरे।

पत्रकारलाई पनि ‘सुध्रिन’ आग्रह
गुरुङको पछिल्लो भाषण राजनीतिक दल र नेतामै सीमित रहेन। उनले पत्रकारहरूलाई पनि सार्वजनिक मञ्चबाट सन्देश दिए। पत्रकारहरूको आन्दोलनमा रहेको भूमिकाको प्रशंसा गर्दै उनले सबै पत्रकारलाई दोष दिन नचाहेको बताए। उनका अनुसार आन्दोलनका क्रममा जोखिमपूर्ण स्थानमा क्यामरा बोकेर हिँडेका र गोली लागेर घाइते भएका पत्रकारहरूको भूमिका उनले प्रत्यक्ष देखेका थिए।

‘तपाईंहरूले धेरै काम गर्नुभएको छ, सहयोग गर्नुभएको छ, मैले देखेको छु। तपाईंहरू लड्नुभएको छ। तपाईंहरूलाई सम्मान छ,’ उनले भने। तर त्यसपछि उनले पत्रकारिताभित्रका केही व्यक्तिलाई लक्षित गर्दै भने—‘तपाईंहरूको पार्टीसँगै सुध्रिनुस्।’ आन्दोलनका क्रममा पत्रकारहरूले अन्यायका दृश्य संसारसामु पु¥याएको भन्दै उनले त्यसको सम्मानसमेत गरे।

‘जसरी हामीलाई अन्याय भएको कुरा संसारलाई देखाउनुभयो, त्यसको लागि सल्युट छ,’ उनले भने।

एक वर्षमा बदलिएको बोली, उस्तै देखिएको एउटा प्रश्न
सुधन गुरुङको पछिल्लो एक वर्षलाई उनका आफ्नै सार्वजनिक अभिव्यक्तिबाट हेर्दा एउटा रोचक राजनीतिक यात्रा देखिन्छ। २०८२ भदौमा उनी राजनीतिप्रति असन्तुष्ट आन्दोलनकारी थिए—‘थुक्छु यार यस्तो पोलिटिक्सलाई’ भन्ने अवस्थामा। त्यसको केही दिनमै राष्ट्रपतिलाई चेतावनी दिने तहमा पुगे।

असोजमा संविधान खारेज गर्ने कि नगर्ने निर्णयका क्रममा आफूले भोगेको दबाब र देशको सार्वभौमिकताप्रतिको चिन्ता सार्वजनिक गरे। माघमा निर्वाचन नै हुन नदिने अडान लिए। चैतमा आफ्नै सम्पत्तिमाथि उठेको प्रश्नको जवाफ दिए। २०८३ साउनमा सरकारका कामबारे नागरिकले प्रश्न गर्दा ‘भोट लिएर जानुस् फिर्ता’ भने।

र भदौमा आएर पुरानो राजनीतिक पुस्तालाई नै सम्बोधन गर्दै घोषणा गरे—‘राजनीति हामी सिकाउन आएको, सिक्न आएको होइन।’ अभिव्यक्तिका यी फरक–फरक चरणबीच गुरुङको राजनीतिक यात्रा आन्दोलनकारीदेखि सरकारको जिम्मेवार तहसम्म पुगेको छ। उनीसँगै जेनजी आन्दोलनबाट उठेको नयाँ राजनीतिक शक्तिले पनि राज्य सञ्चालनको जिम्मेवारी पाएको छ।

त्यसैले अब उनका शब्दहरू केवल आन्दोलनको नाराका रूपमा सीमित छैनन्। राष्ट्रपति, संविधान, निर्वाचन, सरकार, नागरिक, पत्रकारिता र राजनीतिक संस्कारबारे उनले व्यक्त गर्ने धारणा सार्वजनिक पदमा रहेको राजनीतिक नेतृत्वको अभिव्यक्तिका रूपमा सुनिन्छ।

एक वर्षअघि राजनीतिलाई ‘थुक्ने’ गुरुङ अहिले त्यही राजनीतिलाई ‘सिकाउने’ ठाउँमा छन्। बदलिएको भूमिकासँगै उनका बोलीको अर्थ र त्यसप्रतिको सार्वजनिक अपेक्षा पनि बदलिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट