चिलिमे सुरुङमा फसेका कर्मचारी जीवितै रहेको अनुमानः आवाज पठाउँदा त्यसको इको सुनियो
काठमाडौँ– रसुवा बाढीपछि चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको जीवित उद्वारको सम्भावना बढेको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा चिलिमे जलविद्युत कम्पनीका पूर्वप्रबन्ध–निर्देशक कुलमान घिसिङले यस्तो सम्भावना देखाएका हुन।
उद्वार टोली मुख्य पहुँच सुरुङमा जमेको लेदो, बालुवा र ढुंगा हटाउँदै विद्युतगृह नजिक पुगिरहेका बेला सुरुङभित्रबाट पठाइएको आवाजको इको सुनिनु र चिसो हावा बाहिर आउनुले फसेकाहरू जीवितै रहेको हुनसक्ने आशा बढाएको घिसिङको भनाइ छ।
घिसिङका अनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा थुप्रिएको लेदो हटाउने काम तीव्र पारिएको छ। उद्वार टोली लेदोको भाग छिचोल्दै सुरुङभित्र निरन्तर अघि बढिरहेको छ। उनले सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रतर्फ आवाज पठाउँदा त्यसको इको सुनिएको जानकारी दिएका छन्।
त्यही क्षेत्रबाट चिसो हावा समेत आइरहेकाले सुरुङभित्र रहेका व्यक्तिहरूको अवस्था जीवित हुनसक्ने अनुमानलाई थप बल पुगेको उनले बताएका छन्। घिसिङका अनुसार उद्वार टोली विद्युतगृह पुग्न अब करिब १०० मिटर दूरीमा छ। उनका अनुसार उद्वारमा भइरहेको प्रत्येक मिटरको प्रगति र सुरुङभित्रबाट प्राप्त संकेतलाई सकारात्मक रूपमा लिइएको छ।
स्याफ्रुवेसीतर्फबाट सुरुङसम्म एक्स्काभेटर पु¥याउन बाटो निर्माणको कामसमेत तीव्र पारिएको उनले जानकारी दिएका छन्। आजसम्ममा एक्स्काभेटर सुरुङसम्म पुग्ने सम्भावना रहेको र एक्स्काभेटर तथा लोडर पुगेपछि उद्वार कार्य थप तीव्र हुने उनको भनाइ छ।
उद्वार सफल बनाउने उद्देश्यले उद्वार टोली उच्च मनोबलका साथ अहोरात्र परिचालित रहेको घिसिङले बताएका छन्। उनले कठिन र संवेदनशील अवस्थामा उद्वारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्वार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत कम्पनीका कर्मचारी तथा प्रत्यक्ष–परोक्ष सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल बाहिर निकाल्न सकिने विश्वास व्यक्त गर्दै घिसिङले धैर्य कायम राख्न आग्रह गरेका छन्। चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभव भएका घिसिङलाई सरकारले केही दिनअघि उद्वार कार्यमा प्राविधिक विषयमा जानकारी तथा सुझाव लिन बोलाएको थियो। त्यसयता उनी उद्वार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय र सहजीकरणमा संलग्न छन्।
भदौ १० गते रसुवा क्षेत्रमा आएको बाढीका कारण जिल्लाका विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा विद्युतगृहमा प्राविधिकसहितका कर्मचारी फसेका छन्। उपलब्ध विवरणअनुसार अहिलेसम्म तीन जनाको जीवितै उद्वार भएको छ भने अन्य सुरुङमा फसेकाहरूको उद्वार कार्य जारी छ।

