पतिको हत्या आरोपमा आमा र छोरा पक्राउ, आत्महत्या देखाउन भिरबाट फालिएको थियो शव
विराटनगर— पाँचथरको मिक्लाजुङमा ४८ वर्षीय इन्द्रकुमार दमाईको हत्या गरी आत्महत्या गरेको देखाउन शव भीरबाट फ्यालेको आरोपमा उनकी ४३ वर्षीया श्रीमती र १७ वर्षीय छोरा पक्राउ परेका छन्।
प्रहरीले उनीहरूले घरमै बन्चरो र दाउ प्रहार गरी दमाईको हत्या गरेपछि शवलाई रुखमा झुन्ड्याएर अन्ततः घरबाट करिब ५ सय मिटर तल भिरपाखामा फालेको बयान दिएको जनाएको छ।
मिक्लाजुङ गाउँपालिका–३ आहालेका दमाई भदौ २० गते छिमेकी भिङ राईको पाखाबारीमा मृत अवस्थामा फेला परेका थिए। घटनास्थलको अवस्था र शवमा देखिएका चोटका कारण प्रहरीले सुरुदेखि नै घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिषकुमार कर्णका अनुसार दमाईको घाँटीमा कपडाको सलबाट बनाइएको पासो थियो। निधारलगायत शरीरका विभिन्न भागमा धारिलो वस्तुले प्रहार गरेजस्ता चोटसमेत देखिएका थिए। यही अवस्थाले मृत्यु आत्महत्याबाट भएको प्रारम्भिक अनुमानमाथि प्रश्न उठेपछि प्रहरीले घटनाको विस्तृत अनुसन्धान थालेको थियो।
‘प्रारम्भिक अनुसन्धानका क्रममा उनको मृत्यु आत्महत्याबाट नभई हत्या भएको देखिएपछि अनुसन्धान सुरु गरेका थियौं,’ कर्णले भने। अनुसन्धानका क्रममा प्रहरी मृतककै परिवारका सदस्यसम्म पुगेको थियो। त्यसपछि पक्राउ परेका श्रीमती र १७ वर्षीय छोराले इन्द्रकुमारलाई घरमै बन्चरो र दाउ प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हत्या गरेपछि घटनालाई आत्महत्याजस्तो देखाउन मृतकको शव घरनजिकैको आल्चाको रुखमा झुन्ड्याइएको थियो। त्यसपछि शव त्यहाँबाट निकालेर करिब ५ सय मिटर तल भिरपाखामा लगेर फालिएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।
घटनामा प्रयोग भएको बन्चरोसहित केही हतियारसमेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। घटना सार्वजनिक भएको केही दिनसम्म भने मृतकको मृत्यु आत्महत्या वा अन्य कारणले भएको भन्ने विषयमा स्पष्टता थिएन।
प्रहरीका अनुसार भदौ २३ गते मृतकको काजकिरिया सकिएको थियो। त्यसको भोलिपल्ट, भदौ २४ गते, अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित थप तथ्य खुलेपछि प्रहरीले मृतककी श्रीमती र छोरालाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरूलाई भदौ २५ गते पाँचथर जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट पाँच दिनको म्याद थप भएपछि उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा प्राप्त बयान, बरामद भएका हतियार तथा घटनास्थलमा देखिएका भौतिक प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ। हत्या गर्नुको कारण तथा घटनाको विस्तृत पृष्ठभूमिबारे भने प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुवै जनामाथिको अनुसन्धान र त्यसपछि हुने न्यायिक प्रक्रियाबाट मात्रै आरोपको कानुनी पुष्टि हुने प्रहरीले जनाएको छ।

