नेपाली सेनाको आईसीयूमा क्यामेरा लिएर छिरे सुरजसिंह ठकुरी, घाइतेको अन्तर्वार्तामाथि प्रश्न

काठमाडौँ— नेपाली सेनाको छाउनीस्थित अस्पतालको आईसीयूमा उपचाररत त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाका दुई गम्भीर घाइतेको सुरजसिंह ठकुरीले क्यामेरा, लाइट र माइकसहित करिब दुई घण्टा अन्तर्वार्ता लिएपछि अस्पतालको संवेदनशीलता, बिरामीको गोपनीयता र चिकित्सा आचारसंहितामाथि प्रश्न उठेको छ।

बाढीपहिरोबाट ज्यान जोगाएर उपचाररत सप्तरीको तिलाठी कोईलाडीका सञ्जय साह र काठमाडौँका कबिर महर्जनसँग आईसीयूभित्रै गरिएको उक्त अन्तर्वार्ताको दृश्य सार्वजनिक भएपछि चिकित्सकीय सुरक्षा र सञ्चार आचारसम्बन्धी बहस चर्किएको हो।

सार्वजनिक विवरणअनुसार ठकुरी नेतृत्वको टोलीले आईसीयूभित्रै ‘इन्साइड दि बङ्कर’ कार्यक्रमका लागि अन्तर्वार्ता रेकर्ड गरेको थियो। सार्वजनिक भिडियोमा ठकुरीले मास्क र पञ्जा नलगाएको तथा कपालसमेत खुला रहेको देखिएको छ। गम्भीर शारीरिक चोट र मानसिक आघातमा रहेका बिरामीलाई उपचारकै क्रममा क्यामेरासामु अन्तर्वार्ता लिइएको विषयलाई लिएर बिरामीका आफन्तले समेत आपत्ति जनाएका छन्।

एक घाइतेका आफन्तले परिवारका सदस्यलाई समेत संक्रमणको जोखिमका कारण चिकित्सकले छोटो समय मात्र भेट्न दिने गरेको अवस्थामा अन्तर्वार्ताका लागि टोली लामो समय आईसीयूभित्र बसेको भन्दै प्रश्न उठाएका छन्। उनका अनुसार उपचाररत बिरामीलाई अन्तर्वार्ताका क्रममा केही समस्या भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठेको छ।

स्वास्थ्य सचिव डा. विकास देवकोटा तथा त्रिवि शिक्षण अस्पतालका आईसीयू विज्ञहरूले घटनालाई गम्भीर चिकित्सकीय लापरबाहीका रूपमा व्याख्या गरेका छन्। नेपाल मेडिकल काउन्सिलले पनि आईसीयूभित्र बिरामीको उपचार प्रभावित हुने गरी यस्तो गतिविधि गर्नु चिकित्सा आचारसंहितासँग मेल नखाने उल्लेख गरेको छ।

आईसीयू सामान्य भेटघाट वा छायांकनका लागि प्रयोग गरिने स्थान नभई गम्भीर अवस्थाका बिरामीको निरन्तर निगरानी र उपचार हुने संवेदनशील क्षेत्र हो। बिरामीको संक्रमण नियन्त्रण, गोपनीयता र उपचारको वातावरण कायम राख्नु त्यहाँको प्राथमिक जिम्मेवारी मानिन्छ। यही कारण उपचाररत बिरामीसँग मिडिया अन्तर्वार्ता गर्दा अनुमति, चिकित्सकीय अवस्था, संक्रमण नियन्त्रण र बिरामीको सूचित सहमतिजस्ता विषय महत्वपूर्ण हुन्छन्।

तर, उक्त अन्तर्वार्ता सैनिक मुख्यालयबाट प्राप्त लिखित अनुमतिका आधारमा गरिएको दाबी गरिएको छ। त्यस्तो अनुमति भएपछि अस्पतालका चिकित्सकसमेत छायांकन रोक्न कठिन अवस्थामा परेको उल्लेख छ। यद्यपि, आईसीयूभित्र अन्तर्वार्ताका लागि अनुमति दिने क्रममा बिरामीको स्वास्थ्य अवस्था, संक्रमण नियन्त्रण र सूचित सहमतिसम्बन्धी कुन प्रक्रिया अपनाइएको थियो भन्ने विषय स्पष्ट हुन बाँकी छ।

यस विषयमा ठकुरीको धारणा लिन सम्पर्क गर्ने प्रयास सफल भएको छैन। त्यसैले आईसीयूभित्र गरिएको अन्तर्वार्ताबारे ठकुरीको प्रत्यक्ष भनाई सार्वजनिक गर्न सकिएको छैन।

टेलिभिजनमा पनि विज्ञापन विवाद
ठकुरीको कार्यशैलीमाथि प्रश्न उठेको यो पहिलो प्रसंग भने होईन। एक वर्षअघिसम्म कान्तिपुर टेलिभिजन नेटवर्कको प्रमुख सञ्चालन अधिकृत (सीओओ) रहेका ठकुरीको कार्यकालमा नेपालमा प्रतिबन्धित अनलाइन जुवा कम्पनीका विज्ञापन तथा सरोगेट ब्रान्ड प्रसारण भएको विषय यसअघि पनि विवादमा आएको थियो।

आईपीएल क्रिकेटको प्रत्यक्ष प्रसारणका क्रममा प्रतिबन्धित ‘मेलबेट’सँग सम्बन्धित ‘मेलब्याट’ नामको सरोगेट ब्रान्डको प्रचार गरिएको र त्यस विषयमा विज्ञापन बोर्डले स्पष्टीकरणसमेत सोधेको थियो। त्यसपछि पनि जुवा कम्पनीको प्रचार ठूलो आकारमा प्रसारण गरिएको आरोप उनिमाथि लाग्दै आएको छ।

त्यसैगरी अस्ट्रेलियामा गत वर्ष आयोजित ‘टप एन्ड टी–२०’ सिरिजको प्रसारणमा ‘बीजे८८’, ‘डाफाबेट’ र ‘३६५बेट’ जस्ता अनलाइन जुवा कम्पनीका प्रत्यक्ष विज्ञापन रिप्ले तथा स्कोरबोर्डमा देखाइएको थियो।

प्लेटफर्म फेरियो, विवादको प्रकृति फेरिएन?
टेलिभिजनबाट अलग भएपछि ठकुरी अहिले युट्युबमार्फत ‘इन्साइड दि बङ्कर’ कार्यक्रम सञ्चालन गरिरहेका छन्। संस्थागत सञ्चारमाध्यममा जिम्मेवार व्यवस्थापकीय भूमिकामा रहँदा विज्ञापनसम्बन्धी विवादमा परेका उनी अहिले डिजिटल माध्यममा आईसीयूभित्रै अन्तर्वार्ता लिएपछि फेरि प्रश्नको केन्द्रमा आएका हुन्।

यसपटकको विवाद भने विज्ञापनभन्दा फरक प्रकृतिको छ। यसले बिरामीको उपचारस्थलमा सञ्चारमाध्यमको पहुँच, अस्पतालको अनुमति प्रक्रिया, बिरामीको सहमति, गोपनीयता र संक्रमण नियन्त्रणको सीमाबारे प्रश्न उठाएको छ।

विशेषगरी गम्भीर अवस्थामा रहेका बिरामीलाई क्यामेरासामु अन्तर्वार्ता लिनुअघि उनीहरूको स्वास्थ्य अवस्था र मानसिक अवस्थालाई कति ध्यान दिइयो, चिकित्सकको स्वीकृति कसरी लिइयो र बिरामी तथा परिवारबाट सूचित सहमति प्राप्त भयो कि भएन भन्ने विषय स्पष्ट हुनुपर्ने देखिन्छ।

ठकुरीले आईसीयूभित्र अन्तर्वार्ता लिन पाएको लिखित अनुमति रहेको दाबी भए पनि त्यसले मात्र बिरामीको स्वास्थ्य सुरक्षा, गोपनीयता र सूचित सहमतिसम्बन्धी सबै प्रश्नको उत्तर दिन्छ कि दिँदैन भन्ने विषय भने छुट्टै हो।

सञ्चारकर्मी वा डिजिटल सामग्री निर्माता जुनसुकै माध्यममा काम गरे पनि बिरामीको संवेदनशील अवस्था, उपचारस्थलको मर्यादा र सार्वजनिक हितबीच सन्तुलन कायम गर्नुपर्ने हुन्छ। विशेषगरी मृत्युको मुखबाट फर्किएका र गम्भीर उपचारमा रहेका व्यक्तिको अनुभव प्रस्तुत गर्दा भ्युज र सामग्रीको आकर्षणभन्दा बिरामीको स्वास्थ्य तथा गरिमालाई प्राथमिकता दिनुपर्ने चिकित्सा तथा सञ्चार क्षेत्रका आधारभूत मान्यतासँग जोडिएको प्रश्न हो।

यसैले छाउनी अस्पतालको आईसीयूमा गरिएको उक्त अन्तर्वार्ताले एउटा व्यक्तिको सामग्री निर्माण शैली मात्र होइन, अति संवेदनशील चिकित्सकीय क्षेत्रमा मिडिया प्रवेश र अनुमति प्रणाली कति स्पष्ट, जिम्मेवार र जवाफदेही छ भन्ने प्रश्नसमेत उठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट