रास्वपा सांसदलाई श्रीनिवासको चेतावनीः आमाको कसम ‘विवादित’ भनिरहे भाषणमा होईन शासनमै आउँछु, अमरेश सिंहलाई भने–‘स्वाँठ’
काठमाडौँ— आफूलाई ‘विवादित धर्मगुरु’ भनेर निरन्तर चित्रित गरिएको भन्दै आचार्य श्रीनिवासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूतर्फ लक्षित गर्दै असामान्य राजनीतिक चेतावनी दिएका छन्। अदालतबाट आफूले सफाइ पाइसकेको विषयलाई बारम्बार उछालेर अपमानित गरिएको भन्दै उनले अब आफू भाषणमा मात्र सीमित नरहने संकेत गरे।
उनको चेतावनी थियो— ‘मलाई जन्म दिने आमाको कसम, मलाई विवादित भनिरहे म भाषण मात्रै हैन, शासनमा पनि आउने छु।’ जेनजी शहीदहरूको आत्माको शान्तिको कामना गर्दै आयोजित कार्यक्रममा बोल्दै श्रीनिवासले आफूलाई विवादित भन्नुको आधारबारे प्रश्न उठाए। आफूले कुन अपराध गरेको हो भन्ने प्रमाण देखाउन चुनौती दिएका उनले अदालतबाट सफाइ पाइसकेको विषयलाई लिएर आफूलाई निरन्तर विवादित बनाउने प्रयास स्वीकार्य नहुने बताए।
उनको आक्रोशको केन्द्रमा रास्वपाका सांसदहरू अमरेशकुमार सिंह र क्रान्तिशिखा धिताल पनि रहे। संसद् तथा सामाजिक सञ्जालमा आफूविरुद्ध उठाइएका प्रश्नको जवाफ दिँदै उनले राजनीतिक नेतृत्वलाई जनताप्रति जवाफदेही बन्न आग्रह गरे। ‘राजनीति गर्नेले भाग्न पाउने अवस्था रहने छैन, सुध्रनुस्,’ उनले भने।
‘जेनजीले बोलायो, सरकारले होइन’
श्रीनिवासले आफू जेनजी दिवसको कार्यक्रममा सरकारको निमन्त्रणामा नभई जेनजी परिवारकै आग्रहमा सहभागी भएको दाबी गरे। आन्दोलनमा ज्यान गुमाएका युवाहरूको आत्माको शान्तिको कामना गर्न धर्मगुरुहरूलाई सहभागी गराइएको उनको भनाइ थियो। आफूलाई धर्मको नाममा चन्दा वा सहयोग उठाएर हिँड्ने गुरुका रूपमा चित्रित गर्न खोजिएको भन्दै उनले त्यसको पनि प्रतिवाद गरे। ‘श्रीनिवास आजसम्म धर्मको नाममा दिने गुरु हो। मैले लिएको कुनै प्रमाण देखाउनुस्,’ उनले चुनौती दिए, ‘मैले आजसम्म कसैलाई ठगेको प्रमाण देखाउनुस्।’
आफूमाथि गोली प्रहार भएको, अन्यायमा परेको र त्यसपछि अदालतबाट सफाइ पाएको प्रसंग उल्लेख गर्दै उनले फेरि पनि आफूलाई ‘विवादित’ भनिरहनुको औचित्य खोजे। ‘ममाथि गोली प्रहार पनि हुने, म अन्यायमा पनि पर्ने, राज्यले मलाई अदालतबाट सफाइ पनि दिने, फेरि विवादित पनि भनिने ? मैले कसको के बिगारिदिएँ ?’ उनको प्रश्न थियो।
अमरेश सिंहमाथि आक्रोशः ‘रास्वपा फुटाउन आउनुभएको हो’
श्रीनिवासले रास्वपा सांसद अमरेशकुमार सिंहमाथि कडा शब्दमा प्रहार गरे। सिंहले संसदमा आफूमाथि प्रश्न उठाएको प्रसंग निकाल्दै उनले सिंह रास्वपालाई कमजोर बनाउन आएको आरोप लगाए। ‘तपाईं यो रास्वपालाई भाँड्न आउनुभएको हो, फुटाउन आउनुभएको हो,’ उनले भने, ‘तपाईं यो दुई तिहाइको सरकारलाई बिगार्न आउनुभएको हो।’
त्यसक्रममा उनले सिंहको राजनीतिक नैतिकतामाथि समेत प्रश्न उठाए। संसद् परिसरमा विगतमा सिंहले कपडा खोलेको विषयतर्फ संकेत गर्दै श्रीनिवासले धार्मिक गुरुहरूको संस्कारसँग त्यसलाई तुलना गरे। उनले सिंहलाई ‘स्वाँठ’ समेत भने। ‘अमरेशजी, तपाईंलाई मैले जनकपुरको मिथिला नगरीको धार्मिक नेता मान्थेँ, तर तपाईं स्वाँठ हुनुहुँदो रहेछ,’ उनले भने।
आगामी निर्वाचनमा तराईबाट हिन्दु मत पाउने विषयमा समेत सिंहलाई चुनौती दिँदै उनले आफू धार्मिक नेतृत्वलाई अगाडि राख्ने संस्कारबाट आएको बताए।
क्रान्तिशिखालाई ‘चाउचाउको कुपन’को कटाक्ष
रास्वपा सचेतक क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध टिप्पणी गरेको प्रसंगमा पनि श्रीनिवास आक्रामक बने। धिताललाई लक्षित गर्दै उनले रास्वपाको चुनावी लहर र बालेन साहको प्रभावका कारण नयाँ सांसदहरू निर्वाचित भएको टिप्पणी गरे।
‘तपाईं त चाउचाउको पोकामा चिट्ठा परेजस्तो, घण्टी छाप र बालेनजीको ह्विममा चुनाव जितेर आउनुभयो,’ उनले भने। आफूलाई ‘विवादित गुरु’ भन्नुअघि सांसदहरूले आफूहरूले समाजमा गरेको योगदान देखाउनुपर्ने उनको तर्क थियो।
विद्यालय, अस्पताल, एम्बुलेन्स, कलेज, खानेपानी तथा सामाजिक सेवाका काम आफूहरूले गरेको दाबी गर्दै उनले सांसदहरूलाई त्यस्तो कामको हिसाब देखाउन चुनौती दिए। उनले आफूले धर्म, भागवत वा यज्ञका नाममा कसैलाई ठगी नगरेको दाबी पनि गरे।
‘राजावादी गुरु हुँ, बोल्ने अधिकार मलाई पनि छ’
श्रीनिवासले आफू राजावादी भएको कुरा भने खुलेर स्वीकार गरे। आफ्नो धार्मिक पहिचान, पहिरन र राजसंस्थाप्रतिको समर्थनकै कारण आफूलाई आलोचना गर्ने गरिएको उनको दाबी थियो। ‘म असली एउटा राजालाई समर्थन गर्ने र राजालाई अभिभावक मान्ने गुरु हुँ,’ उनले भने, ‘म पनि यो देशको नागरिक हो, मैले पनि बोल्न पाउनुपर्छ, मेरो पनि अधिकार हो।’
नेपाललाई वैदिक भूमि भन्दै उनले हिन्दु, मुस्लिम, क्रिश्चियनलगायत सबै धर्मबीच सहअस्तित्वको पक्षमा आफू रहेको बताए। धार्मिक द्वन्द्व हुन नदिने र सबै धर्मका गुरुहरूलाई एकै ठाउँमा राखेर संवाद अघि बढाउनुपर्ने उनको भनाइ थियो।
हिजो विरोध गरेका सुधनका आज ‘फ्यान’
आफ्नै अभिव्यक्तिमा श्रीनिवासले गृहमन्त्री सुधन गुरुङप्रतिको धारणा भने पछिल्लो समय बदलिएको बताए। निर्वाचनअघि आफूहरूले गुरुङको विरोध गरेको स्वीकार गर्दै उनले सरकार बनेपछि गुरुङको काम गर्ने शैलीबाट प्रभावित भएको बताए।
विशेषगरी धार्मिक द्वन्द्वको सम्भावना देखिएका बेला हिन्दु, मुस्लिम, क्रिश्चियन, बौद्धलगायत विभिन्न धर्मका गुरुहरूलाई एउटै टेबलमा राखेर छलफल गरेको भन्दै उनले गुरुङको प्रशंसा गरे। ‘हामीले उहाँको विरोध ग¥यौँ हिजो चुनावभन्दा अगाडि,’ उनले भने, ‘तर चुनावपछि जनताले विश्वास गरेर पठाएको व्यक्ति गृहमन्त्री भएर प्रत्येक धर्मका गुरुहरूलाई एउटै टेबलमा राखेर कसरी यो देशमा शान्ति गर्न सकिन्छ भनेर वार्ता गर्नुभयो। त्यसैले म उहाँको फ्यान भएँ।’
गृह मन्त्रालयको परम्परागत १०–५ को प्रशासनिक शैलीभन्दा बाहिर गएर गुरुङ जनतामाझ पुगेको र सक्रिय देखिएको भन्दै उनले प्रशंसा गरे। ‘तपाईंलाई त हामीले विगतमा गाली गथ्र्यौँ गृहमन्त्रीजी, तर तपाईंको कार्य हेर्दाखेरि भनाइ र गराइमा धेरै फरक हुँदो रहेछ, हामी तपाईंको कामलाई स्यालुट गर्छौँ,’ आफूले गुरुङलाई यही कुरा भन्न गएको उनले बताए।
चेतावनी कि राजनीतिक प्रवेशको संकेत ?
श्रीनिवासको पछिल्लो अभिव्यक्तिको सबैभन्दा अर्थपूर्ण पक्ष भनेको उनको ‘भाषण मात्रै होइन, शासनमा पनि आउने’ घोषणा हो। अदालतबाट सफाइ पाइसकेको दाबी गर्दै आफूलाई निरन्तर ‘विवादित’ भनिएकोप्रति आक्रोश पोखेका उनले धार्मिक गतिविधि, सामाजिक सेवा र राजसंस्थाप्रतिको आफ्नो समर्थनलाई राजनीतिक हस्तक्षेपको सम्भावनासँग जोडिदिएका छन्।
उनको अभिव्यक्ति केवल रास्वपा सांसदहरूमाथिको आक्रोशमा सीमित छैन। धार्मिक मञ्चबाट उनले प्रत्यक्ष राजनीतिक चेतावनी दिएका छन— आफूलाई निरन्तर विवादितको ट्याग लगाइरहे त्यसको जवाफ भाषणबाट मात्रै नदिने। ‘मलाई विवादित भनिरहे म भाषण मात्रै हैन, शासनमा पनि आउने छु’—श्रीनिवासको यही वाक्यले उनको पछिल्लो अभिव्यक्तिको राजनीतिक अर्थ सबैभन्दा स्पष्टसँग बोकेको छ।

